३४ लाखको लागतमा प्रहरी चौकी भवन निर्माण



नेपाल समाचारपत्र, लमजुङ । लमजुङमा एक प्रहरी चौकी भवन ३४ लाखको लागतमा निर्माण गरिएको छ । मस्र्याङ्दी गाउँपालिका– ३ स्थित खुदी प्रहरी चौकी भवनको निर्माण गरिएको हो ।

उक्त भवन निर्माण गर्नका लागि नेपाल प्रहरीबाट १३ लाख रुपैयाँ, निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट १० लाख रुपैयाँ सहयोग प्राप्त भएको भवन निर्माण समितिका उपाध्यक्ष तथा सोही वडाका वडाध्यक्ष प्रेम बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार सोभवन निर्माण गर्न माथिल्लो मस्र्याङ्दी– ए सरोकार समितिबाट ५ लाख रुपैयाँ, साविकका गाविसहरूमध्ये खुदीबाट २ लाख ७० हजार रुपैयाँ, सिम्पानीबाट ९० हजार रुपैयाँ, भुलभुले् र घनपोखरा गाविसबाट ७०÷७० हजार रुपैयाँ, सोही क्षेत्रमा रहेको सिनो सगरमाथा हाइड्रोपावर कम्पनी लि.बाट ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । सो भवन निर्माणको लागि कुल ३३ लाख ७० हजार रुपैयाँमा खर्च भएको बस्नेतको जानकारी दिनु भयो । उक्त नवनिर्मित भवनमा ५ कोठा छन् ।

नवनिर्मित उक्त भवनको नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक वमबहादुर भण्डारीले एक समारोह विच उद्घाटन गर्नु भयो । उहाँले प्रहरीले जनताको मन जित्ने खालको काम गर्नुपर्ने बताउनु भयो । उहाँले स्थानीयबासीहरूले सुरक्षाको प्रत्याभूति दिन समानता र निपष्क्षताका साथ काम गरी समाजमा अपराध नियन्त्रण, अपराधको अनुसन्धान र कुरीति ल्याउन नदिने काममा प्रहरी सदैव चनाखो हुनुपर्ने उल्लेख गर्नु भयो ।

निवर्तमान सांसद् जमीन्द्रमान घलेले पछिल्ला दिनमा प्रहरीलाई सुरक्षा चुनौति थपिएको भन्दै नयाँ प्रविधिसँग अपडेट भई क्रियाशीलताका साथ अघि बढ्नुपर्ने बतायनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, अमर माविका प्रधानाध्यापक तीर्थ वस्नेतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

बसाई सहित कार्यालय सञ्चालनमा समस्या झेल्दै आएका उक्त चौकीमा कार्यरत प्रहरीले नयाँ भवन पाएसँगै खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्