सुध्रेर सुधार्न लम्केका अभिराज



बाँके । लागु औषधविरुद्धको जनचेतनामूलक कार्यक्रम या कार्यशाला गोष्ठीहरुमा नेपालगञ्जका अभिराज क्षेत्रीलाई अगाडि सार्ने गरिन्छ । सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले गर्ने लागु औषधविरुद्धको हरेक गतिविधिमा क्षेत्रीको सहभागिता अनिवार्यजस्तै भएको छ ।

सेना, प्रहरीको कार्यशाला या कारबाही अभियानहरु, स्कूलहरुमा लागु औषधबारेको क्लासमा ‘आइडल’ को रुपमा प्रस्तुत गराइने क्षेत्री पूर्व लागु औषध प्रयोगकर्ता हुन् । १४ वर्ष लागु औषधको दलदलमा फसेका क्षेत्री अहिले आफू सुध्रिएर समाज सुधार्ने अभियानमा लम्केका छन् । लागु औषधविरुद्धको बाहिरी गतिविधिका साथै आफैले साहरा हाउस (पुनस्र्थापना केन्द्र) खोलेर क्षेत्रीले लागु औषधको कुलतमा फसेकालाई सुधार्न लागि परेका छन् ।

२०७० सालमा उपचार पुनस्र्थापना केन्द्र साहरा हाउस खोलेर क्षेत्रीले कुलतमा फसेका युवालाई सत्मार्ग देखाउने प्रयास गरिरहेका छन् । यो अवधिमा साढे तीन सय जनालाई उपचार गरिसकिएको छ । बीचैमा उपचार छोड्ने प्रवृत्तिले अधिकांश भने सुध्रिएनन् । ‘हाम्रो केन्द्रमा बसेका ४० प्रतिशत सुध्रिएका छन्, क्षेत्रीले गौरवका साथ भन्नुभयो, ‘दुई वर्ष नै बसे भने शतप्रतिशत सुधार्न सक्छौं ।’ साहरा हाउसले ६ महिनादेखि दुई वर्षसम्म प्रयोगकर्तालाई उपचार गर्ने गर्दछ ।

कडा पहाराका बीच बिहान साढे ६ बजेदेखि राती दश बजेसम्म प्रयोगकर्ताहरुलाई विविध विषयमा कक्षा दिइन्छ । लागु औषध खाना नपाएर तलतलमा फस्नेहरुलाई त्यो बारेमा सोच्ने मौका नै हुँदैन । ‘उपचारसँगै प्रयोगकर्ताको हविगतलाई बदल्नु पर्छ, क्षेत्री भन्नुहुन्छ, लागु औषध एकप्रकारको रोग हो ।’ उहाँले रोकथाम, न्यूनिकरणलाई प्राथमिकता दिएर शिक्षा, परामर्श, पुनस्र्थापना सहयोगसँगै उपचारमा ध्यान दिनुर्ने बताउनुभयो ।

लागु औषधले समाजलाई नराम्ररी गाँजेको छ । बाँके जिल्लामै आठ हजार बढी लागु औषध प्रयोगकर्ता रहेको क्षेत्रीको आकलन छ ।

लागु औषध प्रयोग गर्ने युवतीको संख्या बढ्दो छ । दिन प्रति दिन बढिरहेको कुलतलाई कम गर्न राज्य र गैसससँग हातहातमा मिलाएर क्षेत्री अगाडि बढिरहेका छन् । लामो समयसम्म लागु औषधको दलदलमा फसेको, त्यसबेलाको अवस्था र सुध्रिएपछि घरपरिवार, इष्टमित्र, छरछिमेकले हेर्ने दृष्टिकोणलगायतका बारेमा बोल्न क्षेत्रीलाई अगाडि सारिन्छ । यस्तो हरेक कार्यक्रममा बोलाउने बित्तिकै क्षेत्री पुग्छन् ।

खुल्ला सीमा भएकाले बाँकेमा भारतबाट सहजै लागु औषध भित्रिने गरेको पाइन्छ । लागु औषध भित्रिन नदिन क्षेत्रीले सीमावर्ती गाउँगाउँमा गएर लागु औषधविरुद्ध जनचेतनामूलक कार्यक्रमहरु गरेका छन् । स्कूले विद्यार्थीलाई कुलतबाट बचाउनु पर्छ भनेर क्षेत्री स्कूल–स्कूलमा कक्षा लिन पुग्नुहुन्छ । बाँके प्रहरीले लागु औषधविरुद्ध ‘सिधा कारबाही’ अभियान चलाइरहदा क्षेत्रीको त्यसमा पनि सहभागिता हुने गरेको छ ।

यो अभियानमा घरघरमा गएर चेतना जगाउने, स्कूलहरुमा गएर कक्षा लिनेदेखि लागु औषध प्रयोगकर्ता या लागु औषध भेटिएमा कारबाही गर्ने रहेको छ । सिधा कारवाहीमा आपूर्ति नियन्त्रण, सुधारात्मक कुरा र पकेट क्षेत्रमा अनुगमन र जाँच गर्ने कार्यक्रम छन् ।

लागु औषध प्रयोगकर्ता हुँदा विगतमा आफूले भोगेको पीडा अरुले भोग्न नपरोस् भनेर लागि परेका क्षेत्रीलाई राज्यले लागु औषधको बिगबिगी हुँदा पनि रोकथामका कुनै साँझा एजेन्डा नबनाउदा मन पोल्ने गरेको छ । नेपालमा अहिले कडाखालका लागु औषध प्रयोगकर्ता २ लाख बढी छन् । यस्तो बिगबिगी हुँदा पनि राज्यले महत्व दिएर रोकथामका साँझा उपाय अवलम्बन गरेको छैन, क्षेत्रीलाई लागेको छ ।

क्षेत्रीले एसएलसी पढ्दै गर्दा चुरोट र मदिरा खाना शुरु गरेका थिए । +२ पढ्दा प्रेम बसेपछि र विछोड हुने भएपछि निराशा र पीडाले ट्याब्लेट, कोरेक्स हुँदै ब्राउनसुगर र सुईसम्म लगाउन भ्याए । २०५३ देखि २०६७ सम्म १४ वर्ष कुलतमा फसेका क्षेत्री यो बीचमा भएको ठूलो दुर्घटनापछि सुध्रिदै आए ।

‘मैले यो बीचमा घरपरिवार, आफन्त, छिमेकी, साथीभाईलाइ साह्रै दुःख दिएको थिए । त्यसबावजुद दुर्घटना भएर अस्पतालमा बस्दा सबैले स्नेह देखाए, त्यसले मलाई कुलत छोड्न मद्दत ग¥यो, क्षेत्रीले भन्नुभयो ।

सुध्रिएपछि अहिले घरपरिवार, आफन्ती सबैसँग राम्रो सम्बन्ध बनेको छ । पहिलो घरमा जादा चोर आयो भनेर लखेट्न तम्सिनेहरु अहिले कुनै पनि साना घटनाहरु हुँदा क्षेत्रीलाई फोन गरेर मिलाइदिन आग्रह गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्