थ्री स्टार फाइनलमा विश्वासको ह्याट्रिक



धन बस्नेत, पोखरा
निरसपूर्ण खेल जित्दै रुस्लान थ्री स्टार आहा रारा गोल्डकपको १६औं संस्करणको फाइनलमा प्रवेश गरेको छ। बुधबार पहिलो सेमिफाइनल खेलमा थ्री स्टारले पाहुना टोली उत्तर बरिन्धरा क्लबलाई ५–० ले हराएर बंगलादेशतिर फर्कायो। फराकिलो जित निकाले पनि दर्शकलाई सन्तुष्ट पार्न सकेन। थ्री स्टारको जितमा विश्वास श्रेष्ठले ह्याट्रिक गरे। उनी प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने खेलाडीसमेत बनेका थिए। त्यस्तै उनी सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा छन्। पहिलो हाफ हुनु ५ मिनेट अगाडिदेखि थ्री स्टारले बरिन्धराको पोस्टमा गोल वर्षाउन शुरू गर्यो। ४१औं मिनेटमा घरेलु मैदानमा पोखरेली खेलाडी विष्णु गुरुङको गोलबाट थ्री स्टारले गोलको खडेरी तोड्यो। बुद्ध चेम्जोङले करिब ६ यार्डबाट दिएको पासलाई गुरुङले गोलमा परिणत गरी टोलीलाई अग्रता दिलाए। यद्यपि त्यसभन्दा अघिसम्म बरिन्धराले गोल रोक्ने प्रयासमा मात्रै जुटिरह्यो।

यसै गरी विश्वासको पासमा निराजन खड्काले ४५औं मिनेटमा थ्री स्टारको लागि दोस्रो गोल गरे। अर्को गोल भने पहिलो हाफको इन्जुरी समयमा निराजन खड्काको पासमा विश्वासले गरे। पहिलो हाफ ३—० ले अगाडि रहेको थ्रीस्टारले थप २ गोल गर्न केही समय खर्चियो। निराजन श्रेष्ठले मिलाइदिएको पासलाई विश्वासले ६६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे। टोली ४–० ले अगाडि बढ्यो।

त्यस्तै निराजनकै पासमा तेस्रो
गोल गर्दै विश्वासले ह्याट्रिक पूरा गरे। ७५औं मिनेटमा म्यान अफ दि म्याच विश्वास खड्काले दिएको वान टच ‘वाल पास’ मा गोल गरेका थिए। पोखराको मैदानमा आयोजित गोल्डकपको पहिलो अनुभव सगाँल्ने अवसरका रूपमा लिँदै बरिन्धरा टोली गोलको भारी बोकेर फर्कियो। बरिन्धराले थ्री स्टारको पोस्टमा गतिलो मुभ बनाउने अवसर नै खासै पाएन।

प्रतिक्रिया दिनुहोस्