ब्याक स्टेप लिएमा नेपाली क्रिकेट बच्ने



नेपाल समाचारपत्र
काठमाडौं
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको पनि झन्डै डेढ वर्ष नाघिसकेको छ। २०७३ साल वैशाखमा क्यानको विवादपछि आईसीसीले प्रतिबन्ध गरेको थियो। यसलाई फुकुवा गर्न पटकपटक आईसीसीका प्रतिनिधि नेपाल आएका छन्। यसै क्रममा शनिबार आईसीसीका उपाध्यक्ष इमरान ख्वाजासहितको दुई सदस्यीय टोली नेपाल आएर सल्लाहकार समिति, निर्वाचित क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग छुट्टाछुट्टै छलफल गरेर फर्कियो।

आइतबार र सोमबार भएको छलफल सकारात्मक भएको भन्दै मंगलबार यी तीनै पक्षले संयुक्त पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन्। पत्रकार सम्मेलनमा राखेपका सदस्यसचिव केशवकुमार विष्टले बताए– ‘नेपाली क्रिकेटको विवाद अब समाधान हुनेतिर अगाडि बढेको छ। आगामी जुनसम्ममा निलम्बन फुकुवा हुने विश्वास गरेका छौं। आ–आफ्नो ठाउँमा इमानदार बनेमा निलम्बित नेपाली क्रिकेट फुकुवा हुनेमा कुनै शंका हुँदैन।’

विष्टले विगतमा सबै पक्षले केही न केही गल्ती गरेका नै भएकोले क्यान निलम्बन परेको पनि स्वीकार गरेका छन्। उनले भने– ‘गल्ती सबैबाट भयो। हामीले पनि गल्ती गर्यौं । यो घटनाले हामीले पाठ सिक्यौं पनि। हामी कुनै हस्तक्षेप गर्दैनौं अब।’ पहिले पनि हस्तक्षेप नगरेको दाबी गरेका राखेप सदस्य–सचिव विष्टले यसअघि आफ्ना सात जना पदाधिकारीलाई विनामताधिकार साधारणसभामा सहभागी हुन पाउने व्यवस्था संशोधित विधानमा राखेका थिए। यो नयाँ विधान आईसीसीद्वारा नियुक्त गरिएको सल्लाहकार समितिले तयार पारेको हो। निर्वाचित क्यानले संशोधनसहित आईसीसीलाई पठाएकामा नै विवाद बढ्दै गएको थियो। यो संशोधन विधानलाई आईसीसीले ठाडै अस्वीकार गरिदियो।

यो विधानमा निर्वाचित क्यानका १७ जना सदस्यले आगामी साधारणसभामा स्वतः सहभागी हुन पाउने व्यवस्था हुनुपर्ने भनेर संशोधन गरेको थियो। निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले यसबारे बताए– ‘निलम्बन फुकुवा हुन्छ भने हामी कुनै अडान लिने छैनौं। तर जसरी निलम्बन हुनुमा निर्वाचित कमिटीलाई कारण देखायो, त्यो होइन। सबै जना कानुनी र प्राविधिक रूपमा जानुपर्छ।’ त्यस्तै सल्लाहकार समितिका संयोजकमध्ये एक विनयराज पाण्डेले आईसीसीलाई पछ्याउने हो भने निलम्बन फुकुवा हुने बताए। उनले भने– ‘आईसीसीले भनेजस्तो गरेमा क्यान निलम्बन फुकुवा हुनेछ। नत्र भने नेपाली क्रिकेटको भविष्य के हुन्छ भन्न सकिँदैन। आईसीसीले उठाएका विषयलाई पनि निर्वाचित क्यानले मान्न सहमत छ।’

यो आईसीसीको प्रतिनिधि नेपाल आउने क्रम अन्तिम पटक भएको बुझिएको छ। दुईदिने छलफलको प्रतिवेदन आगामी फेबु्रअरीमा हुने आईसीसीको बोर्ड बैठकमा बुझाइनेछ। आगामी जुनसम्म विवाद समाधान नभएमा नेपाली क्रिकेटको भलो हुनेछैन। त्यसैले आ–आफ्ना अडानबाट ब्याक स्टेप लिएमा नेपाली क्रिकेट बच्नेछ।

प्रतिक्रिया दिनुहोस्