उत्तर कोरिया एक महिनाभित्र अमेरिकामा आक्रमण गर्न सक्षम छः सीआईए निर्देशक



वासिङ्टन, (एजेन्सी)
अमेरिकी गुप्तचर एजेन्सी सीआईएका निर्देशकले उत्तर कोरिया एक महिनाभित्र अमेरिकामा आक्रमण गर्न सक्षम रहेको बताएका छन्। उत्तर कोरियाले ऊसँग रहेको आणविक क्षेप्यास्त्रबाट एक महिनाभित्रै अमेरिकामा हमला गर्न सक्नेमा उनले चिन्ता व्यक्त गरेका थिए।

सीआईका निर्देशक माइक पम्पिओले एक अन्तरवार्तामा उनको गुप्तचर एजेन्सीले नियमित प्योङयाङ र उसका नेता किम जोङ उनको सम्भावित खतरालाई लिएर चर्चा गर्ने गरेको बताए।

सीआईए मुख्यालयमा दिएको उक्त अन्तरवार्तामा पम्पिआले भने– ‘हामी उसको एक महिनाभित्र अमेरिका विरुद्ध परमाणु हतियारद्वारा आक्रमण गर्न सक्ने क्षमताका बारेमा छलफल गरिरहेका छौं। हाम्रो काम अमेरिकाका राष्ट्रपतिसम्म यस विषयमा गोप्य जानकारी पुर्याउनु हो। ऊसँग यो जोखिमलाई गैरकूटनीतिक तरिकाबाट कम गर्ने विकल्प होस् भन्ने अपेक्षा हुन्छ।’

उत्तर कोरियालाई दबाब दिनुले यस क्षेत्रको जीवनलाई भयानक नोक्सान हुन सक्ने नतिजा आउने कुरालाई पनि पम्पिओले स्वीकारे। यस क्षेत्रमा अमेरिकाका दुई महत्त्वपूण सहयोगी देश जापान र दक्षिण कोरिया पनि रहेको छ। यदि किमलाई हटाउने प्रयास भएमा वा अमेरिकामाथि परमाणु आक्रमण गर्ने उसको क्षमतालाई सीमित गर्ने प्रयास भएमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने सम्भावना रहेको पनि उनले बताए।
राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकालको पहिलो वर्षमै प्योङयाङसँग तनाव बढाएको हो। यसमा दुवै देशका नेताहरु एक–अर्काबीच निजी स्तरमा टीक्काटिप्पणीमा उत्रेका छन्। ट्रम्पले यदि उत्तर कोरियाले उसको परमाणु कार्यक्रममाथि लगाम लगाउँदैन भने उसले त्यसको परिणाम भोग्नुपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। किमले पनि ट्रम्पलाई ‘दुष्ट’ र ‘पागल’ जस्ता शब्दको प्रयोग गरेका थिए।

उत्तर कोरियाका लागि राष्ट्रपति ट्रम्पले जुन भाषाको प्रयोग गरिरहेका छन्, त्यो प्योङयाङले सुनिरहेको पम्पिओले बताए। पम्पिओले भने– ‘जब एक राष्ट्रपतिले यस प्रकारको भाषाको प्रयोग गरिरहेका हुन्छन् भने यसलाई सुन्ने कयौं हुन्छन्, म के आश्वस्त गर्न चाहन्छु भने किम जोङ उनले यो सन्देशलाई लिएर के बुझेको छन् भने अमेरिका गम्भीर छ।
दुवै देशका नेताबीच वाक युद्ध बढेपछि उत्तर कोरियाले कयौं क्षेप्यास्त्र परीक्षण पनि गरे। यसले पश्चिममा चिन्ता बढाएको छ भने तनाव पनि उत्पन्न गराएको छ। उत्तर कोरियाले सन् २०१७ मा कम्तीमा २० ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। जसमा ३ वटा अन्तर महाद्विपीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण थिए।

अन्तर्राष्ट्रिय समुदायले लगातार क्षेप्यास्त्र परीक्षण जारी राखेपछि उत्तर कोरियामाथि कयौं आर्थिक प्रतिबन्ध लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्