कामना अवार्डको आकर्षण



आर्मी अफिसर्स क्लबको भरिभराउ सभा मण्डपको मञ्च अकस्मात् अँध्यारोमा परिणत हुन्छ। जब प्रकाश छाउँछ, स्वरसम्राट नारायण गोपालको स्वर्णिम सन्ध्याको झल्को दिँदै गायक रामकृष्ण ढकाल गुञ्जन्छन् स्वरसम्राटकै रूप र स्वरमा। नारायण गोपालले स्वर्णिम सन्ध्यामा गाएको तिम्रो जस्तो मुटु मेरो पनि बाट शुरू भएको उनको गायन प्रस्तुति फिल्मी युगल गीतबाट अन्त्य हुन्छ गायिका जुना प्रसाईंको साथमा।



श्रद्धासुमनको भिन्न रूपबाट शुरू भएको लक्स कामना फिल्म अवार्डस् २०७४ को आरम्भ सम्मानको शृंखलाबाट शुरू हुन्छ। मंगलबार सम्मान अवार्ड समारोहको शुरूमै हरिहर शर्मा र शकुन्तला शर्माको अभिनेता तथा रंगकर्मी दम्पतीलाई कलातर्फको कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड) प्रदान गरिएको समारोहमा प्रविधितर्फको यो सम्मान छायाँकार मञ्जुकुमार श्रेष्ठलाई प्रदान गरिएको थियो।

कार्यक्रम जितु नेपाल नाटकीयरूपमा दर्शकदीर्घाबाट मञ्चमा प्रवेश गर्दै हस्यौली र कार्यक्रम प्रस्तोतका रूपमा प्रस्तुत भए भने केदार घिमिरे र सीता घिमिरेको जोडीले प्रहसन प्रस्तुत गरी मनोरञ्जन दिलाए।

नायिका केकी अधिकारीले विनोद न्यौपाने र राजाराम पौडेलका साथ समूह बनाएर आकर्षक नृत्यमा प्रस्तुत भइन् भने दीपाशा बीसीले रमेश थापाका साथ आइटम डान्स गरेर माहोल तताइन्। त्यसै गरी पल शाह, आँचल शर्मा, प्रियंका कार्की, सुमन गिरी र दीपाश्री निरौलाले अर्को समूहमा बाँधिएर दर्शक तताए। यो प्रस्तुतिको अन्त्यमा नायिका प्रियंका कार्की पुरुष भेषमा प्रस्तुत भएकी थिइन्।

कार्यक्रको अर्को आकर्षण बनेको थियो मेडली। जसमा कृष्ण काफ्ले, दीपाश्री निरौला, ताराप्रकाश लिम्बु, मीना निरौला, युवराज चौलागाईं, एम बराल, आनन्द कार्की, शम्भुजित बासकोटा, तारा थापा, प्रेमध्वज प्रधान र मदनकृष्ण श्रेष्ठले पालैपालो आ–आफ्ना गीत गाउँदा दर्शक रमाएका थिए।

प्रतिक्रिया दिनुहोस्