पार्टी एकतामा किन ढिलाइ ?



डा. डीआर उपाध्याय

वाम गठबन्धनले चुनावपछि लगत्तै पार्टी एकताको उद्घोष गरेको थियो। खै अहिलेसम्म पार्टी एकता हुन सकिरहेको छैन। असोज १० गतेका दिन नेपालका प्रमुख वामपन्थी शक्तिहरू मिलेर वाम गठबन्धन निर्माण गरी चुनाव लडेका हुन्। जसले गर्दा वाम गठबन्धन नै मुलुकको सबैभन्दा ठूलो शक्ति बनेको छ। चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेपछि स्वदेश तथा विदेशमा समेत चासो र चर्चाको विषय बनेको थियो।

के साँच्चै कम्युनिस्ट पार्टी एउटै हुन्छ त ? किन ढिलाइ भइरहेको छ पार्टी एकता हुन ? नेपालका कम्युनिस्टहरू फुट्ने र जुट्ने खासै नौलो कुरा होइन। विगतको इतिहासदेखि टुटफुट र जुटको शृङ्खला अगाडि बढ्दै आएको छ। सन् १८९८ मा सोभियत कम्युनिस्ट पार्टीको स्थापना भयो। स्थापनाको पाँच वर्षको अन्तरालमा कम्युनिस्ट पार्टी विभाजनको सिकार बन्यो। नेपालमा पनि त्यही विभाजनको सिकार विगतमा भएकै हो। नेपाल कम्युनिस्ट पार्टी मिल्न नसक्नु नै मुलुकको लागि दुर्भाग्य भएको छ।

एमाले र माओवादी केन्द्रबीच छिटो पार्टी एकता हुनुपर्छ। यो आमजनताको माग हो। एमाले र माओवादी केन्द्र वैचारिक, राजनीतिक, सांस्कृतिक, आर्थिक मुद्दामा व्यापक छलफल गरेर अघि बढ्नुपर्छ। नेपालका कम्युनिस्ट पार्टीहरू मिलेर एउटै पार्टी बननुपर्ने चाहना आमनेपाली जनताको रहेको छ। यसैले एमाले–माओवादी केन्द्रले स–साना वामघटकलाई पनि एकठाउँमा ल्याउन जुट्नुपर्छ।
नेपालमा एउटै कम्युनिस्ट केन्द्रको आवश्यकता छ। वाम गठबन्धनलाई बहुमत दिनुको कारण पनि पार्टी एकता होस् भन्ने नै हो। जनताको वाम एकताको चाहना, एकताको वस्तुगत आवश्यकता र नेताहरूको जिम्मेवार भूमिकाका कारण एमाले माओवादी केन्द्र एकठाउँमा आउन सम्भव भएको हो। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सैद्धान्तिक, वैचारिक र राजनीतिक मुद्दामा ठूलै मतभेद रहँदै आएको थियो तर अहिले त्यो स्थिति छैन। एमाले जनताको बहुदलीय जनवादको बाटोमा हिँडेको पार्टी हो भने माओवादी शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपछि एक्काइसौँ शताब्दीको जनवाद भन्दै हिँडेको पार्टी हो।

बुहदलीय प्रतिस्पर्धालाई स्वीकार गरेपछि यी दुवै पार्टीको बाटो एउटै खालको देखिएको छ। त्यसकारणले पार्टी एकतामा खासै समस्या देखिएको छैन। अहिले एमाले र माओवादी केन्द्र दुवै आफ्ना पुराना मान्यता र दृष्टिकोण पुनः विचार गर्ने ठाउँमा दह्रोसँग उभिनुपर्छ। त्यसो भयो भने मात्रै पार्टी एकताको सार्थकता रहने देखिन्छ। पार्टी एकताको गृहकार्यमा रहेका एमाले र माओवादी केन्द्रका नेताहरू शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाका आधारमा समाजवाद हुँदै साम्यवादसम्म पुग्ने तयारीमा लागेका छन्। तर के हुने हो, त्यो भने हेर्न बाँकी नै छ।

समाजमा वर्गहरूको अस्तित्व कायम रहेसम्म भिन्नरूपमा वर्गसंघर्ष चलिरहन्छ। त्यस्तो अवस्थामा शान्तिपूर्ण प्रतिस्पर्धाकै आधारमा समाजवाद हुँदै साम्यवादसम्म पुग्न सजिलो पक्कै छैन। समाजवादको पूर्वसर्त भनेको उत्पादन पूर्वाधार, विकास र आर्थिक समृद्धि नै हो। समृद्धि र विकास समाजवादका आधारस्तम्भ हुन्। शान्तिपूर्ण चुनावको माध्यमबाट आफ्नो लक्ष्यसम्म पुग्न खोजेका यी दुई पार्टी एमाले र माओवादी केन्द्र पार्टी एकतापछि कस्तो रणनीति बनाउँछन्, त्यो नै जनताको चासो र जिज्ञासाको विषय बनेको छ। क्युबा, चीन, उत्तर कोरियाजस्ता थुप्रै मुलुकहरूले समाजवादको अभ्यास गरिरहेका छन्। विकास र समृद्धिका लागि वामएकता आवश्यकता हो। वामएकतालाई धेरै तत्वहरूले रोक्न र छेक्न खोजिरहेका छन्। विगत ७० वर्षदेखि नेपाली जनताले वामपन्थीको सरकार चाहेका छन्। सबै कम्युनिस्टहरूको एउटै कम्युनिस्ट पार्टी चाहेका छन्। विभिन्न कारणले वामपन्थीहरूमा एकता र विभाजन भइरहे, यो दुःखद पक्ष हो। नेपालका कम्युनिस्टहरू कहिल्यै मिल्न सकेनन्। व्यक्तिगत स्वार्थ र सत्तास्वार्थमा चुर्लुम्मै डुबे। त्यसरी देश र जनताको मुक्ति हुँदैन। नेपाली जनताले कम्युनिस्टहरूको भरविश्वास गरेकै कारण नेपालमा कम्युनिस्ट कार्यकर्ता धेरै छन्। नेपालमा कम्युनिस्टहरूको संख्या अरू पार्टीभन्दा बढी छ। तर कम्युनिस्टहरू मिल्न नसक्नु राष्ट्रको लागि ठूलो घाटा हो। अब पार्टी एकतालाई तीव्र बनाएर अघि बढ्नुपर्छ। यो नै अहिलेको आवश्यकता हो। वामपन्थीका बीचमा कैयौं अवस्थामा वैचारिक र सैद्धान्तिक मतभिन्नता रहे। ती मतभिन्नतालाई छलफलबाट निष्कर्षमा पुर्याउने काममा लाग्नुपर्छ। नेपालको कम्युनिस्ट आन्दोलन शान्तिपूर्ण प्रतिस्पर्धामार्फत जनताको मत प्राप्त गरेर बहुमत पाए सत्तामा पुग्ने र अल्पमतमा भए प्रतिपक्षको भूमिका निभाउने अवस्थामा पुगेको छ। अब नेपालका कम्युनिस्टहरू इमानदार बन्न जरुरी छ। चुनावमा जनतासामु जे प्रतिबद्धता जाहेर गरेर भोट मागेका थिए त्यही अनुसार काम गर्नुपर्छ। त्यसो गरिएन भने अर्को चुनावमा समस्या आउन सक्छ।

विगतको अनुभवलाई हेर्ने हो भने, २०५१ सालमा बनेको कम्युनिस्टको ९ महिने सरकार धेरै नै लोकप्रिय थियो। त्यसपछि बनेका कम्युनिस्ट सरकार र तिनले नेतृत्व गरेका सरकारको कुनै लोकप्रियता देखिएनन्। पहिलो पटक बनेको कम्युनिस्ट पार्टीको सरकार जसको नेतृत्व मनमोहन अधिकारीले गरेका थिए, त्यो नै कम्युनिस्ट सरकार थियो। अब बन्ने वामपन्थी सरकारले त्यही मार्गमा गएर जनताको काम अगाडि बढाउनुपर्छ। अहिले दुवै कम्युनिस्ट पार्टीले अपनाएको संसदीय प्रणाली एकैखालको छ, कुनै भिन्नता छैन। त्यस कारण यी दुवै पार्टीका बीचमा एकता हुनु अनिवार्य छ। नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकताका आधारहरू बलियो बनाउनुपर्छ। अहिले पनि यी दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रसामु धेरै ठूला समस्या र चुनौती छन्। ती सबै खाले चुनौतीलाई सामना गरेर यी दुई दल एउटै पार्टी बनेर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको छ। नेपाली जनताको भरोसा र आशा नै अहिले कम्युनिस्ट पार्टी र तिनका नेताहरूसँग छ। त्यही आशा र भरोसाका कारण जनताले नेपालका वामपन्थीहरूलाई सत्तामा बसेर देश र जनताको भाग्य एवं भविष्य निर्माण गर्न म्यान्डेट दिएका हुन्। देशको भाग्य र भविष्य निर्माण गर्ने सवालमा कम्युनिस्ट पार्टीका नेताहरूले यी कुरामा विशेष धयन दिनुपर्छ। जनताका चाहना र भरोसाअनुसार लोकप्रिय काम गर्नुपर्छ।

विश्वको तुलनामा हामी धेरै पछाडि छौं। नेपाल अहिले पनि विपन्न देशहरूको सूचीमा छ। यो नेपाल र नेपालीका लागि दुःखको कुरा हो। त्यसैले अबको ५ वर्ष सरकार चलाउने जिम्मा नेपाली जनताले वामपन्थीहरूलाई दिएका छन्। यो ५ वर्षमा विश्वको मानचित्रमा नेपाल सम्पन्न देश हो भनेर चिनाउने सुनौलो मौका पनि हो वामपन्थीहरूका लागि। हाम्रो देश स्रोत–साधनले सम्पन्न देश हो, तर गरिब छ। यो देशलाई बनाउन इच्छाशक्ति चाहिन्छ, अनि मात्र देश बन्नेछ। सगरमाथा अवस्थित भएको मुलुक हो भनी संसारले चिनेको छ। प्रशस्त मात्रामा स्रोत–साधन हुँदाहुँदै पनि शासकहरूले यो देश बनाउन नसकेकै हुन्। अब देश चिनाउने गरी वाम गठबन्धन सरकारले काम गर्नुपर्छ।

योजना र लक्ष्यसहित काम गरेर देखाउने बाटोतर्फ वाम गठबन्धन सरकार लाग्नुपर्छ। अब ५ वर्षसम्म स्थिर सरकार चलाएर मुलुकको विकास गर्न कम्युनिस्ट सरकारले सकेन भने जनताले विकल्पको रूपमा अर्को पार्टी रोज्न बाध्य हुनेछन् जनता। अबको नेपाली वाम आन्दोलन एकदलीय कम्युनिस्ट शासनबाट मात्र अघि बढ्न सक्दैन। त्यो कुरा पुष्पकमल दाहालले पनि राम्रोसँग बुझिसक्नुभएको छ। त्यसैले अब वामएकताको विकल्प छैन। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि बहुदलीय जनवादलाई पूर्णरूपमा स्वीकार गरेको अवस्था हो कि होइन ? त्यो कुरा प्रस्ट हुनुपर्छ। माओवादी केन्द्रले एकाइसौं शताब्दीको जनवाद मान्दछ। वास्तवमा जनताको बहुदलीय जनवाद र एकाइसौं शताब्दीको जनवाद एउटै हो।

कोही भ्रममा नपरे हुन्छ। पार्टी एकतापछि सबै प्रकारका व्यक्ति विचार र प्रवृत्तिहरूलाई समेट्ने काम गर्नुपर्छ। पार्टीका नेता–कार्यकर्ताको योग्यता, क्षमताका आधारमा काम दिने वातावरण निर्माण गर्नुपर्छ। पार्टी एकतापछि हुने महाधिवेशनसम्म पुग्दा दुवै पार्टीका नेतृत्वपंक्तिले आफ्ना कार्यकर्तालाई विगत र वर्तमानका कैयौं विषयमा प्रस्ट पार्नुपर्छ। दुवै पार्टीले विगतका कमी–कमजोरी सच्याउने बाटोतर्फ अघि बढ्नुपर्छ। दुवै पार्टी एकता हुँदा भावनात्मक एकता हुनुपर्छ। गुट–उपगुटको अन्त्य गर्दै सिंगो कम्युनिस्ट पार्टीलाई एउटै कम्युनिस्ट पार्टी बनाउने अभियानमा पुष्पकमल दाहाल, केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, मोहनविक्रम सिंह, मोहन वैद्यलगायतका शीर्षनेताहरू लाग्नुपर्छ। अनि मात्र कम्युनिस्ट शासन लामो समयसम्म टिक्न सक्छ र कम्युनिस्ट शासनले गर्न खोजेको लक्ष्य प्राप्त हुन्छ। लक्ष्य प्राप्तिका लागि पनि पार्टी एकतामा ढिलाइ गर्नुहुँदैन।

प्रतिक्रिया दिनुहोस्