नक्कली चिकित्सकमाथि कारबाही गर



हरेक मानिसले बिरामी हुँदा डाक्टरलाई भगवान् मान्ने गरेका छन् । भगवान्सरह विश्वास गरेका डाक्टर नै नक्कली भएको घटनाले आममानिसलाई सशंकित बनाएको छ । आमजनताको स्वास्थ्यमाथि खेलबाड गर्दैै नक्कली डाक्टरहरूको बिगबिगी रहेको घटना सार्वजनिक भएपछि डाक्टरमाथि नागरिकले गर्ने गरेको विश्वासमाथि संकट पैदा भएको छ । राजधानी उपत्यकाका विभिन्न स्वास्थ्य संस्थामा नक्कली डाक्टर पक्राउ परेको समाचार छ । पछिल्लो समय डाक्टरको लापरबाहीका घटनाले बेलाबखत अस्पताल तनावग्रस्त बन्ने गरेको पनि छ । राजधानीमा सञ्चालित अस्पताल र क्लिनिकहरूमा डाक्टर भनेर विदेशी नागरिकले काम गरिरहेको तथ्य सार्वजनिक हुनुले आमनागरिकमा डाक्टरप्रति हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ ।

नक्कली डाक्टरबाट बिरामीको उपचार हुनु स्वास्थ्यप्रति नै खेलबाड हो । प्रहरीले यसअघि पनि नक्कली डाक्डरलाई प्रक्राउ गरेको थियो । विदेशी चिकित्सकले नेपालमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलको नियमअनुसारको अनुमतिपत्र लिनुपर्छ । तर पक्राउ परेका नक्कली विदेशी डाक्टरहरूबाट सो प्रमाणपत्र नलिइएको पाइएको छ । सरकारले पर्याप्त ध्यान नदिँदा दैनिकरूपमा अवैध काम गर्नेहरूको संख्या बढेको छ । सरकारले हरेक क्षेत्रमा बेलाबखत मात्र अनुगमन गर्ने गरेको छ । नागरिकको स्वास्थ्यसँग जोडिएको अस्पताल, क्लिनिक र औषधि पसलहरूमा नियमितरूपमा अनुगमन हुनुपर्ने हो । अनुगमन गर्नको लागि सरकारले आफ्नो संरचना पनि बनाएको छ । तर अनुगमन गर्ने निकाय बेखर बन्दा गलत काम गर्नेहरूको संख्या बढेको छ ।
औषधि पसलहरूमा तोकिएको मूल्यभन्दा बढी मूल्य लिएर औषधि बिक्री वितरण हुँदै आएको पनि नौलो छैन । स्वास्थ्यसँग सम्बन्धित निकायबाट नै नागरिकहरू दैनिक ठगिँदै आएका छन् । औषधि पसलहरूमा वर्षको एक–दुईपटक मात्र अनुगमन गरेर सरकारले झारा टार्ने काम गर्दै आएको छ । जुन अनुगमन निरन्तर भइरहनुपर्ने काम हो । नियमितरूपमा अनुगमन गर्ने हो भने गलत काम गर्न रोकिने र नागरिकहरू पनि गठिनबाट जोगिने थिए ।

औषधि पसलहरूमा मात्र होइन राजधानीको गल्ली–गल्लीमा सञ्चालित क्लिनिकहरूमा पनि चर्को मूल्य लिनाले सर्वसाधारण स्वास्थ्य उपचार गराउन नसक्ने भएका छन् । क्लिनिकहरूभित्र हुने कामकाजको बारेमा पनि सरकारले पर्याप्त ध्यान दिन सकेको छैन । नियमित अनुगमन नहुँदा त्यसको फाइदा क्लिनिक सञ्चालकहरूले लिएका छन् । राजधानी उपत्यकामा सञ्चालित अस्पतालहरूमा पनि लुटतन्त्र मच्चिएको छ । अस्पतालले आफूखुशी रकम असुल गर्दै आएका छन् । सरकारको नीति नियमभित्र भन्दा पनि अस्पतालले ठगी प्रवृत्तिलाई नै प्राथमिकतामा राखेर काम गरिहरेका छन् । अतः सरकारले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि नियमितरूपमा अनुगमन गर्ने र दोषीमाथि कडा कारबाही गर्न ढिलाइ गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्