एपीएफ टोलीको बिदाइ



????????????????????????????????????

काठमाडौं, (नेस)
संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु) को रूपमा खटिएको सशस्त्र प्रहरी बल नेपालको १ सय ८१ सदस्यीय एपीएफ टोलीको बिदाइ गरिएको छ।

सोमबार आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सो टोलीलाई शुभकामनासहित बिदाइ गर्नुभयो।

बिदाइ समारोहलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बलको बर्दीमा नेपालको प्रतिनिधिका रूपमा शान्ति स्थापनार्थ परदेश सेवामा रहँदा संयुक्त राष्ट्रसंघको म्यान्डेट र प्राप्त कार्यादेशबमोजिमको जिम्मेवारीलाई पूरा गर्ने सिलसिलामा अनुशासित एवं बफादार भई व्यावसायिक कार्यकुशलताको उत्कृष्ट नमुना प्रदर्शन गर्न निर्देशन दिनुभयो।

उहाँले यूएन मिसनलाई अवसरका रूपमा लिएर अझै बढी संवेदनशील एवं निःस्वार्थ भावनाका साथ दायित्व निर्वाहमा क्रियाशील रहनुपर्ने बताउँँदै शान्ति मिसनमा सहभागी विभिन्न देशका सुरक्षा अधिकारी तथा अन्य सम्बन्धित पक्षसँग आवश्यक समन्वय एवं सहकार्य गर्दै आपसी सहयोग, सदभाव र सामूहिक एकताका साथ सधैं चेन अफ कमान्डमा रहेर कार्य गर्न निर्देशनसमेत दिनुभयो। श्रेष्ठले भन्नुभयो– ‘संगठनले तपाईंहरूलाई शान्ति मिसनमा जाने वातावरण बनाएको छ, आगामी दिनमा तपाईंहरू अहिलेको भन्दा पनि बढी जिम्मेवार, कर्तव्यनिष्ठ, बफादार एवं संगठनप्रति कृतज्ञ रहनुपर्छ।’

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हरिशंकर बुढाथोकीको कमान्डमा एकवर्षे कार्यकालका लागि अनमिस मिसन साउथ सुडानमा खटिएको सो टोलीमा अधिकृत, बिल्लादार तथा जवान गरी कुल १ सय ८१ जना रहेका छन्। कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल, नारायणबाबु थापा र रामशरण पौडेललगायत सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्