बिमल मोहन बगानबाट खेल्दै



काठमाडौं, (नेस)
नेपाली खेलाडीहरूले छिमेकी राष्ट्र भारतको भूमिमा खेल्ने मौका पाएको क्रम केही दिन यता बढ्दो छ। नेपालका नम्बर एक गोलकिपर किरण चेम्जोङ गत साता आई लिगको क्लब मिनर्भा पन्जाबमा आबद्ध भएका थिए। आइतबार मात्रै पनि नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिगको दिल्ली डेयरडेभिल्सले अनुबन्धित गरेको छ।

यही क्रममा नेपालका अर्का चर्चित स्ट्राइकर बिमल घर्ती मगरले कोलकाताको मोहन बगानबाट खेल्ने अवसर जुरेको छ। उनलाई सोनी नोर्डे चोट भएपछि क्लबले रिप्लेस गरेको हो। मोहन बगान भारतको आई लिगको चर्चितमध्ये एक क्लब हो।

सोमबार मोहन बगानद्वारा आयोजित पत्रकार सम्मेलनमा बिमलले भने– ‘मलाई मोहन बगानमा आबद्ध हुन पाएकोमा खुसी भएको छु। मैले क्लबका बारेमा धेरै सुनेको छु। यो क्लब खेलाडीहरूका लागि धेरै राम्रो छ। मैले यसका लागि शत प्रतिशत दिनेछु। म क्लबलाई आई लिगमा राम्रो गर्न सहयोग गर्नेछु। मलाई भारतीय फुटबलरमा सुनील क्षत्री मनपर्छ।’

कसरी मोहन बगानमा पुगेको भन्ने प्रश्नमा उनले बताए– ‘मलाई मोहन बगानबाट फोन आएको थियो। त्यतिबेला म इटहरी गोल्डकपमा खेल्दै थिएँ।’

बिमलको क्लबसँग तीन महिनाको सम्झौता भएको छ। यो सम्झौता अवधि बढ्न सक्ने पनि क्लबले जनाएको छ। बिमलको विदेशी क्लबबाट खेल्ने अवसर यो पहिलोपटक भने होइन। यसअघि सन् २०१४ मा बेल्जियमको ठूलो क्लब एन्डरलेक्ट एफसीबाट उनले ३ वटा १६ वर्षमुनिको प्रतियोगिता खेलेका थिए।

सोही वर्ष बिमललाई एन्डरलेक्टको यु १९ टोलीमा आबद्ध गराएको थियो। उनको एन्डरलेक्टबाट कोपा डेल अगाथा पहिलो प्रतियोगिता थियो। जसमा उनले दुई गोल पनि गरे र टोलीलाई रनर अपसम्म बनाउन उनले महवपूर्ण भूमिका खेलेका थिए। हाल उनी नेपालको ए डिभिजन क्लब थ्रीस्टारमा आबद्ध छन्।

प्रतिक्रिया दिनुहोस्