सुन पसलमा राजस्वको छापा



वीरगन्ज, (नेस)
राजस्व अनुसन्धान मध्यक्षेत्रीय इकाई कार्यालय पथलैया बाराले सोमबार वीरगन्जमा रहेको दुईवटा सुनचाँदी पसलमा छापा मारेको छ। जसका कारण व्यापारीहरू पसल बन्द गरेर कुलेलाम ठोकेका छन् । अनुसन्धान अधिकृत भीम देवकोटा र तेजमणि काफ्लेको नेतृत्वको टोलीले वीरगन्जको माईस्थानमा रहेको ओम ज्वेलर्स र लिंकरोडमा रहेको बालाजी ज्वेलर्समा छापा मारेपछि वीरगन्जका सुनचाँदी व्यवसायीहरू पसल बन्द गरेर भागेका हुन्।

राजस्व अनुसन्धान मध्यक्षेत्रीय इकाई कार्यालयबाट खटिएको दुई छुट्टाछुट्टै टोलीले एकैपटक दुवै पसलमा छापा मारको थियो। ओम ज्वलेर्समा दर्जनौंको संख्यामा सशस्त्र प्रहरीसहित पुगेको राजस्व अनुसन्धान अधिकृत काफ्ले नेतृत्वको टोली पसलभित्र छिर्ने बित्तिकै छेउछाउमा रहेका अन्य सुनचाँदी पसलेले होहल्ला गर्दै अवरोध पुर्याएपछि उक्त टोली फर्किएको थियो।

ओम र बालाजी ज्वेलर्सले राजस्व छली गरेको गोप्य सूचना आएपछि छापा मारेर कारोबार गरिएको आवश्यक कागजपत्र नियन्त्रणमा लिएको अनुसन्धान अधिकृत देवकोटाले बताउनुभयो।नेपाल सुनचाँदी व्यवसायी महासंघ पर्साका महासचिव परवेज सर्राफले महासंघलाई जानकारी नै नदिइ गुण्डागर्दी शैलीमा आएर राजस्व र सशस्त्र प्रहरीको टोलीले पसलमा छापा मारेको आरोप लगाउनुभयो।

प्रतिक्रिया दिनुहोस्