६ महिनामै ९ बैंकको नाफा अर्बमाथि



नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमै नौ बैंक अर्बपति क्लबमा परेका छन्। विभिन्न बैंकले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरणका अनुसार ६ महिनाकै अवधिमा ती बैंकले एक अर्बभन्दा बढी नाफा गरेका छन्।
बैंकहरूको वित्तीय प्रतिवेदनअनुसार चालू आवमा १ अर्ब रुपियाँभन्दा बढी नाफ गर्नेमा नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंक रहेका छन्। तीमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको हो।

बैंकको प्रतिवेदनअनुसार नबिल बैंकले चालू आवको पहिलो ६ पहिनामा १ अर्ब ८३ करोड ७७ लाख रुपियाँ मुनाफा आर्जन गरेका छ। बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ दशमलव १४ प्रतिशत बढी नाफा कमाएको हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नबिलले १ अर्ब ७४ करोड ७९ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको थियो।

८ अर्ब ४ करोड ३२ लाख रुपियाँ चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा ७ अर्ब ८५ करोड ५३ लाख रुपियाँ राखेको छ। निक्षेपमा शून्य दशमलव ३९ प्रतिशत वृद्धि गरी १ अर्ब २१ अर्ब २८ करोड ९२ लाख ७२ हजार रुपियँँ संकलन गरेको बैंकले कर्जातर्फ ११ दशमलव ६९ प्रतिशत वृद्धि गरी १ खर्ब ८५ करोड १९ लाख रुपियाँ लगानी गरेकोे छ।

त्यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ८३ करोड ४ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ।
बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ४९ प्रतिशत बढी नाफा कमाएको हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ५८ करोड ४९ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको थियो।
बैंकको चुक्ता पुँजी १० अर्ब ६२ करोड ६४ लाख रुपियाँ रहेको छ। यस अवधिमा बैंकले निक्षेपमा ११ दशमलव ३५ प्रतिशतले वृद्धि गरी १ खर्ब २९ अर्ब ८४ करोड ५३ लाख रुपियाँ संकलन गरेको छ भने १ खर्ब १३ अर्ब ६७ करोड ११ लाख रुपियाँ कर्जामा लगानी गरेको छ।

एक अर्ब क्लकमा पर्ने अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंक पनि रहेका छन्। त्यसमा राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ७५ करोड ५९ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ दशमलव ६५ प्रतिशत कम नाफा कमाएको हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २१ करोड ७७ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको थियो। त्यस्तै नेपाल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६३ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ५४ प्रतिशत कम हो।

त्यस्तै एभरेस्ट बैंकले यस अवधिमा १ अर्ब १४ करोड ८१ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको छ। यो गत वर्षको तुलनामा १७ दशमलव ३४ प्रतिशत बढी हो। एक अर्ब क्लबमा पर्ने हिमालयन बैंक अर्को बैंक हो। चालू आर्थिक वर्षको ६ महिनामा १ अर्ब १० करोड ५८ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको बैंकको नाफा गत आवको सो अवधिको तुलनामा ७ दशमलव ५८ प्रतिशतले बढी हो।
त्यसैगरी ६ महिनाको अवधिमा कृषि विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंकको नाफा क्रमशः १ अर्ब दुई करोड ९१ लाख, १ अर्ब १ करोड ३४ लाख र एक अर्ब ७२ लाख ५९ हजार रुपियाँ रहेको छ। यी बैंकको नाफा अघिल्लो वर्षको तुलनामा क्रमशः १२ दशमलव ५, ३६ दशमलव ५ र ४२ दशमलव ८५ प्रतिशत बढी हो।

मुनाफा वृद्धिदरको हिसाबमा चालू आवको दोस्रो त्रैमासिक अवधिमा सबैभन्दा अगाडि रहेको छ। बैंकले गत वर्षको तुलनामा ३ सय ५७ प्रतिशत बढी नाफा गरेको छ।

गत आवको दुई महिनामा बैंकले ७ करोड ७६ लाख रुपियाँ खुद मुनाफ गरेकामा यस वर्ष ३५ करोड ४५ करोड रुपियाँ नाफा गरेको हो। त्यस्तै कुमारी बैंकको नाफा पनि अघिल्लो वर्षको भन्दा ७१ दशमलव ९ प्रतिशत बढी रहेको छ।

यसैबीच अधिकांश बैंकको नाफा बढीरहँदा ७ वटा बैंकको नाफा भने घटेको छ। अघिल्लो वर्षको तुलनामा कम नाफा गर्नेमा नेपाल बैंक, प्रभु बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, बैंक अफ काठमाण्डु रहेका छन्। त्यस्तै माछापुच्छ्रे« र नेपाल बंगलादेश बैंकले पनि यस अवधिमा नाफा घटाएका छन्।

प्रतिक्रिया दिनुहोस्