अनाथलयमा जन्मदिन



नेपाल समाचारपत्र, काठमाडौं । जन्मदिनको दिन ठूलो होटल, पव वा पार्टी प्यालेसमा भोजको आयोजना गर्नु सबैका लागि सामान्य हो। तर जन्मदिनका दिन कसैले अनाथालयमा गएर अनाथ बालबालिकासँग उनीहरूसँग खुसी साट्छ भने त्यो उदाहरण बन्दछ।

उमेरले २१ पूरा गरेर २२ टेक्दा कसैले पनि अनाथका बीचमा गएर जन्मदिन मनाउने सोचेको पक्कै हुँदैन। अझै प्रेमिका र साथीभाइका बीच रिसोर्टमा गएर वियरको बोतल फोड्ने सबैको चाहना हुन्छ। तर, यस्ता सोच भएका युवाहरूका अपवाद हुन्– नयाँ बानेश्वरका शाश्वत सुनुवार। धुम्बाराहीस्थित नेसनल कजेजमा अध्ययनरत तथा भीमसेनगोलास्थित किङकम क्लबका सदस्य सुनुवारले आफ्नो जन्मदिन विशेषरूपमा मनाउने निर्णय गरे।

शाश्वतले नयाँ बानेश्वरको ६० जना अनाथ बालबालिका रहेको नयाँ नेपाल अनाथालयमा सम्पूर्ण खानेकुराको व्यवस्था गरे र आफ्ना १०–१२ जना साथी बटुलेर अनाथ बालबालिकाका लागि आफैं खाना तयार पारे अनि आफ्नै हातले बाँडे पनि। अनाथ बालबालिकाको साथमा आफूले नयाँ तरिकाले जन्मदिन मनाएका सुनुवार अत्यन्तै खुसी देखिन्थे। जन्मदिनको दिन समाजसेवामा विशेषरूपले आफूलाई समर्पित गर्न पाएकोमा उनले खुसी व्यक्त गरे।

उनले भने– ‘भएको अलि–अलि पैसा जन्मदिनका लागि मदिरा खरिद गर्नुभन्दा मैले यो उत्तम उपाय सोचें। यति गर्दा बालबालिका प्रफुल्ल छन्, मेरो मन झनै दंग छ।’

प्रतिक्रिया दिनुहोस्