ट्राफिक प्रहरीको आतंक: विभिन्न बाहानामा दुःख दिने गरेको गुनासो



 

हेमन्त पौडेल, कैलाली ।

सवारी चेकजाँचका नाममा ट्राफिक प्रहरीले आतंक मच्चाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नाममा ठाउँ ठाउँमा चेकिङ राखेर दुःख दिने गरेको सवारी चालकहरुले बताउने गरेका छन् । सार्वजनिक यातायात क्षेत्रको बेथिति र मनोमानी रोक्न नसक्ने ट्राफिक प्रहरीले जरिवाना काट्ने र पैसा असुल्ने नियतले मात्र सडकमा चेकिङ गरिरहेको उनीहरूको आरोप छ ।

ट्राफिक अस्तव्यस्ततालाई सुधार गरेर आवगमनमा सहजता ल्याउन भन्दा पनि ट्राफिक प्रहरील सर्वसाधरणलाई दुःख दिएर पैसा असुल्नमा मात्र व्यस्त भएको कैलालीको सहजपुरका स्थानीय मदन चपाईले बताउनुभयो ।

ट्राफिक प्रहरीले चेकिङको नाममा असुल्ने धन्दा मात्र चलाएकोले ट्राफिक व्यवस्थापनको दिगो समस्याको सामधान हुन नसकेको उहाँले आराप लगाउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा प्रहरी निरीक्षक दिपक पातली आए पछि जिल्लाको ट्राफिक व्यवस्थामा झनै विग्रीएको स्थानियहरुको गुनासो छ । प्रहरी निरीक्षक पातलीको निर्देशमा अहिले कमाउधन्दाको लागी जथाभावी चेकिङ गरेर साना–सानो कुरामा सवारी चालकहरुलाई दुःख दिने काम भैरहेको एक जना ट्याक्टर चालकले नाम उल्लेख नगर्ने शत्रमा बताए ।

धनगढीमा सबै भन्दा बढी सर्वसाधारणहरु तथा सवारी साधानहरुको भिड हुने क्षेत्रहरुमा ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले ध्यान नदिएको पाईएको छ । धनगढीको ट्राफिक चौराह, नेपाल आयल निगमको कार्यालय रहेको चटकपुरमा क्षेत्र, बस पार्क, एलएन चौक क्षेत्रको ट्राफिक व्यवस्थापन हुन नसक्दा सर्वसाधारणहरुले सास्ती भोग्दै आएको धनगढी बस पार्कका अमित कलेलले बताउनुभयो ।

बस पार्क क्षेत्रमा छतामा धेरै लोड हाल्ने, क्षमता भन्दा बढी यात्रुहरु बोक्ने, भाडा धेरै लिने, नजिकका यात्रुहरु नहाल्ने जस्ता घटना प्रसस्त हुने गरेको भएता पनि ट्राफिक प्रहरीले त्यता तर्फ ध्यान नदिएको उहाँले बताउनुभयो । बस पार्क क्षेत्रमा ट्राफिक प्रहरीलाई आफुले देख्ने समेत नगरेको उहाँले बताउनुभयो । बढी ट्राफिक जाम हुने क्षेत्रमा सहजताको लागि काम गर्नु भन्दा पनि जुन क्षेत्रमा कम सवारी चल्छ र साँघुरो सडक छ, उही ठाउँमा रोकेर सावरी साधन चेकजाँग गर्ने गरिएको पाईएको छ । साँघुरो सडकमा सवारी रोकेर पैसा असुल्न ट्राफिक प्रहरीलाई सजिलो हुने भएकाले यस्तो गर्ने गरिएको जनगुनासो छ ।

यस्तै धनगढीमा ट्राफिक प्रहरीले भारतीय नम्बर प्लेटका सवारी साधनहरुलाई बढी दुःख दिने गरेको भारतीय सवारी चालकहरुले बताएका छन् । छिमेकी भारतीय बजार पलिया, बनगाउँ, सुडा लगाएतका स्थानबाट नेपाली बजार धनगढीमा किनमेल गर्न तथा घुम्न आएकाहरुलाई ट्राफिक प्रहरीले सताउने गरेको उनीहरुले बताएका छन् ।

आफुहरुले भन्सारमा सबै प्रक्रिया पुरा गरेर धनगढी बजारमा गाडीमा घुम्न तथा नेपाली कपडा किन्न आएको समयमा नेपाली ट्राफिक प्रहरीले पैसा मागेको भारतको पलियाका मनिष खाँनले बताउनुभयो । सपिङ्ग गरेर फर्किने क्रममा धनगढी चौराहामा नजिकै ट्राफिक प्रहरीले गाडी रोकेर पैसा मागेको उहाँले बताउनुभयो । सबै कागज पत्र देखाएर पैसा किन दिने भन्दा दुरव्यवहार गरेको उहाँले बताउनुभयो । भारतीय गाडीहरुसंग नेपाल प्रवेश गर्ने नाका देखिनै बजारका विभिन्न स्थानमा समेत पैसा मागेर हैरानी गर्ने गरिएको भारतीय नागरिकहरुको गुनासो छ ।

यस्तै ट्याक्टर व्यवसायीहरुले ट्राफिक प्रहरीले आफुहरुलाई दुःख दिने गरेको गुनासो पोखेका छन् । व्यवसायीहरुले आफुहरु ट्राफिक प्रहरीबाट सदैव प्रताडित हुँदै आएको बताएका छन् ।

ट्याक्टर व्यवसायी दानसिंह चौधरीले पछिल्लो करिब एक वर्ष यता आफुहरुले सामान ढुवानीको समयमा ट्राफिक प्रहरीबाट निक्कै समस्या भोग्नु परेको बताउनुभयो । ट्राफिकको रवैयाले कमाई धन्दा दुःख हुने स्थिती सृर्जना भएको उहाँले बताउनुभयो ।

उता जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक दिपक पातलीले ट्राफिक प्रहरीले कसैलाई दुःख नदिएको बताउनुभएको छ । नियम संगत रुपमा नियमित चेकजाँच गर्ने गरिएको भएता पनि दुःख दिने प्रवृतीले चेकजाँच गरिएको भन्नु गलत रहेको उहाँको भनाई छ । साथै फिल्डमा ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने र पैसा असुल्ने गरेको भन्ने बारेमा बुझेर सुधार गर्ने लगाउने समेत उहाँले बताउनुभयो ।

यस्तै प्रदेश नम्बर ७ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव नेपालले ट्राफिक प्रहरीका सबै काम कारबाहीहरु सुधान गर्न लगाउने बताउनुभएको छ । कैलालीका ट्राफिक प्रहरी प्रमुख पातलीलाई सर्वसाधारणसंग बोल्ने बोली र गर्ने व्यवहार सुधार गर्न निर्देशन समेत दिई सकेको उहाँले बताउनुभयो । जनतालाई अनावश्यक दुःख दिने र दुरव्यवहार गर्ने जुनसुकै प्रहरी जवानेदखि अधिकृत आफै कारबाहीको भागेदार रहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्