खोजौं पृष्ठभूमि



सामाजिक सुरक्षाभत्ता पाउने ज्येष्ठ नागरिकहरूको उमेर ६५ वर्षमा झारेसँगै प्रधानमन्त्री देउवा निकै चर्चामा आएका छन्। एकल महिला र दलितहरूका सवालमा भने उमेर हद घटाउँदै ५५ वर्षमा झारिएको छ। प्रदेश र केन्द्रको निर्वाचनमा कांग्रेस नराम्रोसँग हारेको विषय पनि उनको पछिल्लो कदमले पूरै ओझेल परेको छ।

भत्ता पाउने उमेर समूहकाहरू भित्रभित्रै दंग मख्ख परेर होला उमेर चुइक्क छन्, अर्थात् विरोधको एक शब्द पनि बोलेको सुनिन्न। तर अर्थविद्हरूले देउवाको कदमबारे आपत्ति जनाएका छन्। राज्यलाई वर्षेनी अर्बाै रुपियाँको आर्थिक बोझ थपिने उनीहरूको तर्क र चिन्ता छ।

चिन्ता स्वभाविक नै होला तर जे होस चुनावी पराजयको घाउ मेट्न देउवा निकै उदार देखिएका छन्। राज्यको ढुकुटी सम्हाल्ने डाडु पन्यू आफ्नै हातमा भएपछि केको टेन्सन हैन त ? भन्नेहरूले यो कदम सस्तो लोकप्रियता कमाउने मेला पनि भन्न थालेको छन्। तर धरहराले भने देउवालाई उनको थर सुहाउँदो काम गरेको पो देख्न थाल्यो त। उनको थर ‘देउन बा’ बाट अपभ्रंश हुँदै ‘देउवा’ कायम भएको हो कि भन्ने धरहराको ठहर छ।
कसैले देउन बा भन्यो भने उनी दिइहाल्छन्। कतै उनका पुर्खा पनि निकै उदार पो थिए कि ? इतिहासकारहरूले यो थरको पृष्ठभूमि खोज अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउनुपर्यो।

प्रतिक्रिया दिनुहोस्