माथिल्लो त्रिशूली–१ को डलरमा पीपीए



काठमाडौं, (नेस)
नेपाल विद्युत प्राधिकरणले नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसँग २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ।

आइतबार सम्पन्न सम्झौतामा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट सीईओ बो सुइक यीले हस्ताक्षर गर्नुभयो। सम्झौता समारोहमा नेपालका लागि कोरियाली राजदूत र ऊर्जासचिव अनुपकुमार उपाध्यायको उपस्थिति रहेको थियो। प्राधिकरणको सञ्चालक समिति बैठकले गत बुधबार उक्त आयोजनाको अमेरिकी डलरमा तिर्ने गरी पीपीए गर्ने निर्णय गरेको थियो। आइतबार कम्पनीले पर्फमेन्स ग्यारेन्टीमार्फत्को २१ करोड ६० लाख रुपियाँ बुझाएपछि पीपीए सम्झौता गरिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताउनुभयो।

प्राधिकरणले आयोजनाको विद्युत् सुक्खायाम र वर्षायामको क्रमशः ८ रुपियाँ ४० पैसा र ४ रुपियाँ ८० पैसा प्रतियुनिट दरमा किन्ने छ। तर, आयोजना सम्पन्न हुँदा रिटर्न अन इक्विटी १७ प्रतिशतभन्दा बढी रहेको पाइएमा उक्त विद्युत खरिद दर सोही अनुसार कम गरिने छ। आयोजना निर्माण अवधिको ५ वर्षसमेत गरी १३ वर्षका लागि अमेरिकी डलरमा भुक्तानी गरिनेछ भने उक्त अवधिपछि नेपाली रुपियाँमा नै भुक्तानी गरिने प्राधिकरणले जनाएको छ।

आयोजनाको अनुमानित लागत ६० अर्ब रुपियाँ छ। आयोजनाले आगामी सेप्टेम्बरभित्र वित्तीय व्यवस्थापन गर्ने जनाएको छ। आयोजनामा कोरियाली कम्पनीहरू, विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाली लगानीकर्ताको लगानी रहनेछ। ऊर्जा मन्त्रालय र कम्पनीबीच २०७३ पुस १४ मा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो। सरकारले २०७२ को माघमा राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणापत्र–२०७२ मार्फत विदेशी परिवत्र्य मुद्रामा गरिने आयोजनाका लागि गरेको व्यवस्थाका आधारमा प्राधिकरणले कार्यान्वयनमा ल्याएको निर्देशिकाअनुसार माथिल्लो त्रिशूली–१ को पीपीए गरिएको हो।

प्राधिकरणले विदेशी लगानीमा निर्माण हुने एक सय मेगावाटभन्दा ठूला आयोजनासँग विदेशी ऋणको अंशका लागि मात्रै अमेरिकी डलरमा भुत्तानी गर्ने गरी नेपाली मुद्रामा पीपीए गर्ने नीति लिएको छ। माथिल्लो त्रिशूली–१ सँग अधितकम १० वर्ष वा व्यावसायिक विद्युत् उत्पादन शुरु दिन (सीओडी) देखि ऋण चुक्ता अवधि (पे–व्याक पिरियड) अवधिसम्मका लागि मात्रै अमेरिकी डलरमा पीपीए भएको हो।

प्रतिक्रिया दिनुहोस्