रेनल्टको बिग्रेको कार बजारमा, अत्यधिक मूल्यमा बिक्री



रोविन पौडेल, काठमाडौं

भारतमा पटक–पटक विवादमा पर्दै आएको रेनल्ट कम्पनीको क्विड कार नेपालमा भने आधिकारिक विक्रेताले अधिक नाफा राखेर मूल्य निर्धारण गरी बिक्री–वितरण गरेको पाइएको छ। आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा रेनल्ट कार बजार मूल्यभन्दा अधिक नाफा राखेर बिक्री गर्दै आएको पाइएको हो।

नेपालका लागि रेनल्टको आधिकारिक विक्रेता एड्भान्स्ड अटोमोबाइल्सले अनावश्यक विषयमा खर्च भएको बिलबिजक देखाई उपभोक्तालाई ठगी गर्दै आएको भेटिएको हो। लागतभन्दा अधिक मूल्यमा सवारी बिक्री गरेको सूचनाको आधारमा विभागका महानिर्देशक कुमारप्रसाद दाहालको निर्देशनमा विभागले थापाथलीस्थित ‘एड्भान्स्ड अटोमोबाइल्स’ मा छापा मारेको थियो।

अधिक मूल्यका सूचनाका आधारमा उपभोक्ता हित संरक्षण विभागले शाखा अधिकृत रामकृष्ण श्रेष्ठको नेतृत्व तथा सञ्चारकर्मीको उपस्थितिमा विभागका टोलीले अनुगमन गरेको हो। अनुगमनमा आएका विभागका अधिकारीलाई कम्पनीको कर्मचारीले असहयोग गुर्नका साथै माग गरिएको कागजपत्र उपलब्ध गराउन आनाकानी गर्दै ३ घण्टा कुराएका थिए।

विभागको अनुगमनमा कम्पनी खर्चको अधिक विवरण भएको बिजक देखाइएको विभागका निर्देशक दाहालले बताउनुभयो। कम्पनीले गरेको ठगीको विषयमा अध्ययन भइरहेको र बिजक पेस गरेपछि मात्र उसको वास्तविक कर्तुतका बारेमा जानकारी हुने दाहालले बताउनुभयो।

अनुगमनका क्रममा आवश्यक कागजात तथा बिलबिजक नखुलेपछि विभागले कम्पनीका कागजात जफत गरी तीन दिनभित्र विभागमा स्पष्टीकरणका लागि उपस्थित हुन निर्देशन दिएको थियो। तर, विभागको निर्देशन अटेर गर्दै कम्पनीका कोही प्रतिनिधि पनि विभागमा उपस्थित नभएको अनुगमनमा संलग्न शाखा अधिकृत श्रेष्ठले बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘हाम्रो टोलीलाई कम्पनीका कर्मचारीले सवारीसाधन आयात गर्दा लागेको वास्तविक लागत खर्चको स्पष्ट विवरणसमेत देखाएनन्। आयातदेखि विभिन्न अवस्थामा लागेको खर्च बारेमा प्रष्ट पार्दै विभागलाई सूचना गर्न निर्देशन दिए पनि कम्पनीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।’ कम्पनीले सम्पूर्ण लागत विवरण बुझाएपछि मात्र कत्तिको मूल्य बढाइएको हो थाहा हुने उहाँको भनाइ छ।

क्विड कारको स्टेरिङ प्रणालीमा खराबी देखिएको भन्दै रेनल्टले ग्राहकलाई नजिकको डिलरमा सम्पर्क गर्न अनुरोध गरेको छ। भारतमा रेनल्टको कारमा खराबी देखिएको यो दोस्रोपटक हो। यसअघि पनि ५० हजारभन्दा बढी क्विड कारमा खराबी देखिएपछि फिर्ता मागिएको थियो।

यस विषयमा एड्भान्स्ड अटोमोबाइल्सका कार्यकारी निर्देशक निकुञ्ज अग्रवालसँग टेलिफोन र एसएमएसका माध्यमबाट पटकपटक सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन। नेपालमा लागतभन्दा अधिक मूल्यमा बिक्री हुने गरेको कम्पनीको क्विड मोडलको कार भने भारतमा खराब देखिएको भन्दै कम्पनीले बिक्री भएका कार फिर्ता मागेको छ। दुईवटा इन्जिन भएको सो कारको स्टेरिङ प्रणालीमा खराबी देखिएको भन्दै उत्पादक कम्पनीले भारतमा ग्राहकलाई नजिकको डिलरमा सम्पर्क गर्न अनुरोध गरिरहेको छ। पत्राचार गर्दै कम्पनीले ग्राहकलाई बिक्री भइसकेका कारको निःशुल्क मर्मत गरिदिने जानकारी गराएको छ।

भारतमा रेनल्टको क्विड कारमा खराबी देखिएपछि फिर्ता मागिएको यो दोस्रोपटक हो। यसअघि पनि ५० हजारभन्दा बढी क्विड कारमा खराबी देखिएपछि फिर्ता मागिएको थियो।यता नेपालको कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ मा सामान्य अवस्थामा २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने उल्लेख छ। अनुगमनका क्रममा ऐनले निर्दिष्ट गरेका प्रावधानको अपव्याख्या गरेर व्यापारीले अधिक मूल्य तोकेको भेटिएको हो। अनुगमनका क्रममा कम्पनीले भारतबाट ३ लाख १९ हजार ८ सय ९७ भारतीय रुपियाँमा खरिद गरेको क्विड आरएक्सटी जिरो एएमटी गाडी २३ लाख ५४ हजार २ सय ९० रुपियाँमा बेचेको पाइएको छ। त्यस्तै, डस्टर आरएक्सई पेट्रोल गाडी ५ लाख १ हजार ४७ भारतीय रुपियाँमा खरिद गरी ३५ लाख ५८ हजार ७ सय रुपियाँमा बिक्री वितरण गर्दै आएको फेला परेको विभागले जनाएको छ।एड्भान्स्डले कालोबजारी गरेको पुष्टि भए कालोबजारी ऐनअन्तर्गत कारबारहीका लागि सिफारिस गरिने विभागले जनाएको छ। कम्पनीले कागजपत्र अध्ययनमा ऐनअनुसार दोषी देखिए टेकुस्थित महानगरीय प्रहरी अपराध महाशाखा पठाउने विभागको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्