गोरखाको लाप्राकमा पहिलो पटक बस पुग्दाको उल्लास



सन्तोष अधिकारी, गोरखा ।

गोरखाको दुर्गमगाउँहरु लाप्राक र गुुम्दामा पहिलो पटक बस पुगेको छ । लाप्राकमा शनिबार साँझ ना ४ ख २१३ नंबरको बस पुगेको हो भने सोही बस आइतबार दिउँसो गुम्दा पुगेको हो । पहिलो पटक गाउँमा पुगेको बस, बसका चालक र सहचालकलाई गाउँलेहरुले फुलमालाले सम्मान गरेको लाप्राकका धनप्रसाद गुरुङले जानकारी दिए ।

जिल्लाको ग्रामिण भेगमा यातायात सञ्चालन गर्दै आइरहेको यातायात ब्यवसायि समिती गोरखाद्धारा बारपाक सम्म सञ्चालन भइरहेको बस लाप्राक हुँदै गुम्दा पुगेको हो ।

पहिलो पटक गाउँमा बस पुगेपछि स्थानीयबासी खुशी भएका छन् । यसअघि त्यहाँका बासिन्दाहरु बस चढ्न बारपाकसम्म पुग्नु पथ्र्यो । ‘बारपाकबाट बिहान पौने सातबजे बस छुट्थ्यो । बस भेट्टाउन घरबाट बिहान तीनबजे नै जानुपथ्र्यो’ गुरुङले भने ‘अब भने गाउँबाटै बस चढ्न पाइने भयो ।’

उता गुम्दामा पहिलो पटक बस पुगेपछि गाउँलेहरुले नाचगान सहित बस चालक र सहचालकलाई सम्मान गरेको गुम्दाका धने गुरुङले जानकारी दिए । यस अघि गुम्दाबा पनि बस चढ्नको लागि सात घण्टा भन्दा धेरै पैदल हिँडेर बारपाक आउनुपर्ने बाध्यता थियो ।

गाउँमा बस पुगेपछि बसका मजदुरलाई खादा, माला लगाएर सम्मान गरेका छन् ।

बस पुगेपछि लाप्राकका करिब पाँचसय घरधुरी, गुम्दाका करिब पाँचसय, गुम्दाकै लप्सीबोट, यमगाउँ र सिङ्लाका बासिन्दाले यातायात सेवा पाउने भएका छन् । गुरुङले अब नियमित सेवा दिनका लागि यातायाय ब्यवसायि समिती सँग छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्