हिमपातका कारण कालिञ्चोकमा अत्यधिक पर्यटक



तस्विरः कालिञ्चोकले सेताम्य कुरीको होटलहरु र कालिञ्चोक मन्दिर रहेको पहाड

चिरञ्जीवी मास्के, दोलखा ।
गत बुधवार दोलखाको उच्च भेगमा हिमपात भएपछि धार्मिक पर्यटकीय केन्द्र कालिञ्चोकमा आउने पर्यटकको संख्यामा अत्यधिक बृद्धि भएको छ । शुक्रवार बेलुका कालिञ्चोकमा होटल नपाएपछि धेरै पर्यटक गोठ र गुम्बामा समेत बसेको र कतिपय पर्यटक हिउँ हेरेर सदरमुकाम चरिकोट नै फर्किएको स्थानिय होटल व्यवसायी सोनाम शेर्पाले बताए ।

कालिञ्चोकमा रहेका होटलहरुमा तीन हजारसम्म पर्यटक अट्न सक्ने भएपनि शुक्रवार पाँच हजार भन्दा बढी पर्यटक पुगेको शेर्पाको भनाई छ । सदरमुकाम चरिकोटमा रहेको होटलहरु समेत भरीएकोले कतिपय पर्यटक रातभरी सडकमै रमाईलो गरेर बसेको क्षेत्रिय होटल संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीले बताए ।

बुधवार हिमपात भएपछि विहिवार देखिनै कालिञ्चोक आउने पर्यटकको संख्या बढेको र शुक्रवार र शनिवारमात्र ५ हजार भन्दा बढी पर्यटक हिउँ खेल्नको लागि कालिञ्चोक आएको स्थानिय कालिञ्चोक रिर्सोटका सञ्चालक ग्याल्बु पाख्रिनले बताए । हिमपात पछि कालिञ्चोक आसपास ढेड फिटसम्म हिउँ जमेको थियो भने लस्करै देखिने हिमालले पर्यटकलाई थप आकर्षित गरेको थियो ।

धार्मिक एवं पर्यटकीय महत्वको कालिञ्चोकमा हरेक शुक्रवार, शनिवार र मंगलवार तीन हजारको हाराहारीमा पर्यटक पुग्ने गरेका छन् । बुधवार हिमपात भएपछि यो संख्यामा अत्यधिक बृद्धि भएकोले पर्यटकलाई राख्ने ठाँउको समस्या भएको पाख्रिनको भनाई छ । कालिञ्चोकको प्रस्थान विन्दु कुरीमा अहिले ४० ओटा होटलहरु रहेका छन् । कुरीबाट झण्डै एक घण्टाको पैदल यात्रामा कालिञ्चोक मन्दिरमा पुग्न सकिन्छ । हिमपात भएपछि कतिपय पर्यटक भने कुरी आसपास हिउँ खेलेर फर्कने गरेका छन् ।

कालिञ्चोकको लागि अहिले काठमाडौँ कोटेश्वरबाट सिधै सुमो पाउने भएकोले पनि पर्यटकलाई सजिलो हुने स्थानिय होटल व्यवसायीहरुको भनाई छ । काठमाडौँबाट थोरै सुमोमात्र कालिञ्चोक पुुग्ने भएकोले अधिकांश पर्यटकहरु भने चरिकोट आउने र चरिकोटबाट बोलेरोमा कालिञ्चोक पुग्ने गरेका छन् ।

कालिञ्चोकमा अहिले बस्न र एकछाक खाना तथा विहानको नास्ताको लागि प्रति व्यक्ति १२ सय देखि १५ सयसम्म लिने गरिएको स्थानिय व्यवसायी सोनाम शेर्पा बताउछन् ।

३८४२ मीटरको उँचाईमा रहेको कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुबै हिसाबले निक्कै महत्वपूर्ण मानिन्छ । कालिञ्चोक मन्दिर परिसरको जलकुण्ड नै यहाँको मुख्य विशेषता हो । किम्वदन्ति अनुसार जलकुण्डबाट दाहिने तिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको छ । कालिञ्चोक मन्दिर परिसरमा हिमालय पर्वतकी पुत्री पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको वासस्थान भएको जनविश्वास रहदै आएको छ ।

कालिञ्चोक क्षेत्रमा भेडागोठहरु रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडाहरु जम्मा भएर बस्ने तथा ढुङ्गा चाट्ने गरेर जलकुण्ड देखिएको किम्वदन्ति समेत प्रचलनमा रहेको छ । कालिञ्चोकको दर्शन ग¥यो भने मागेको कुरा पुरा हुने, रोग व्याधि नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्तिमा बृद्धि हुने जनविश्वास रहदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्