बजेट अभावका कारण कार्यालय व्यवस्थापन गर्न कठिनाइ



शेररबहादुर थापा, सुर्खेत ।

प्रदेश सरकार गठन गर्ने दिन नजिकिदैं जाँदा कर्मचारीमा भने अन्यौल बढेको छ । नयाँ संरचना भएको र संसदीय फाँटका सहसचिवलगायतका अन्य कर्मचारी अझै सुर्खेत आइनपुग्दा यस्तो हुन गएको बताइएको छ ।

कार्यालय तथा मन्त्रालयहरुमा चाहिने आवश्यक सामानहरु खरिद गर्न तथा मर्मत सम्भार गर्न माग गरेको बजेट नआउँदा काम गर्न गाह्रो भएको प्रदेश सचिव भरत ढुगांनाले बताए । उनका अनुसार अहिले प्रदेश सचिव बस्ने कोठा समेत नभएकोले काम गर्न गाह्रो भएको छ ।

उनले प्रदेश प्रमुख र प्रदेश कार्यालयका लागि गाडीको समेत व्यवस्थापन नहुँदा अहिले भाडामा गाडी लिएर चलाउनु परेको बताए । उनले भने, ‘सरकारले क्षेत्रीय कार्यालयहरु खारेज गर्ने आदेश अहिलेसम्म नदिएकाले यस्तो समस्या झेल्नुपरेको हो ।’ यस्तै सचिव ढुंगानाका अनुसार आफू शुक्रबार मात्रै आएको र अन्य कर्मचारी अहिलेसम्म नआइसकेकाले काम गर्न अन्यौलता बढेको जनाए ।

उनले भने, ‘हामी सबै संसदीय फाँटका लागि नयाँ छौं, अनुभवि कर्मचारी नआउँदा हामीलाई व्यवस्थापन गर्न गाह्रो भएको छ ।’ उनले अहिलेसम्म उपसचिवहरु नआइसकेको हुँदा काममा केहि चाप बढेको बताए । उनले आएका कर्मचारीले पनि कसरी काम गर्ने भन्नेबारेमा अन्यौलता बढेको प्रष्ट्याए ।

यसैबीच आज आइतबार प्रदेश प्रमुखले वैठकको मिति, समय र स्थानबारे दलहरुसँग छलफल गरी तोक्ने भएका छन् । सचिव ढुंगानाका अनुसार आफूहरुले जिल्ला समन्वय समितिको हल र सिंचाई डिभिजन कार्यालयको हल पहिलो बैठकका लागि निरीक्षण गरिएको छ । यी दुइ हलमध्ये आजै कुन हलमा पहिलो बैठक राख्ने भन्ने समेत निक्र्यौल हुनेछ ।

शैक्षिक तालिम केन्द्रमा संसद भवन बनाईने भएतापनि अहिलेसम्म कुनैपनि काम हुन सकेको छैन । प्रदेससभाको वैठक कम्तिमा पनि ३ महिना अन्यत्र गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्