आगो तापेर रात काट्छन् प्रहरी



२०७२ वैशाख १२ गतेको भुकम्पलेले प्रहरी चौकी रहेको भवन भत्किएपछि अस्थायी टहरामा बसेर सेवा दिइरहेका प्रहरी भन्छन, ‘ शीत चुहिने र चिसो हुने समस्या त हामीलाई सामान्य भएको थियो । तर, हाल हिउँ परेका कारण झन् कठिनाइ भइरहेको छ ।’

 

रोशन पराजुली, हेटौँडा ।
जनताको सुरक्षामा खटिएका प्रहरी नै खतरामा बसेर ड्युटी गर्न बाध्य छन् भने त्यस्ता प्रहरीबाट नागरिकको सुरक्षा कसरी हुन सक्ला ?

थाहानगरको दामन सीमभञ्ज्याङ चौकीका प्रहरीको अवस्था यस्तै देखिएको छ । कारण, २०७२ वैशाख १२ गतेको भुकम्पलेले प्रहरी चौकी रहेको भवन भत्किएपछि अस्थायी टहरामा बसेर सेवा दिइरहेका प्रहरीलाई आफ्नो ज्यान बचाउनसमेत मुस्किल भएको चौकीका असई प्रह्लाद चौधरीले बताउनुभयो ।

मकवानपुरको उच्च पहाडी थाहानगरका विभिन्न क्षेत्रमा हिमपात भएको छ । हिमपात हुँदा शान्तिसुरक्षाका लागि खटिएका प्रहरीलाई झन् समस्या उत्पन्न भएको छ । भुकम्प गएको यतिका समय भैसक्दा पनि प्रहरी चौकी पुनर्निर्माण हुन नसक्दाको पिडा भोग्नु परिहरहेको प्रहरीको गुनासो छ ।

‘चिसोमात्र थियो तर अहिले त हिउँ परेर जस्ता भरिएको, हिउँ पग्लेर कोठामै आउन थालेको छ’ चौधरीले बताउनुभयो । चौधरीले चौकी पुनर्निर्माण हुन नसक्दा २४ सै घण्टा चिसो टेन्टमा बसेर सुरक्षा दिनुपरेको पीडा पोख्नुभयो ।

चौकी रहेको भवन भत्किएपछि शान्तिसुरक्षाका लागि खटिनुपर्ने प्रहरी आफैं असुरक्षित छन् । उक्त चौकी इलाका प्रहरी कार्यालय पालुङमातहत छ । चौधरी भन्नुहुन्छ– शीत चुहिने र चिसो हुने समस्या त हामीलाई सामान्य भएको थियो । तर, हाल हिउँ परेका कारण झन् कठिनाइ भइरहेको छ ।

उहाँका अनुसार एउटा टेन्टमा ६ जना बस्नुपर्ने वाध्यता छ । यस्तो अवस्था भएपछि प्रहरीको काम गर्ने मनोवलमा नराम्रो असर परिरहेको भन्दै चौधरीले भन्नुभयो– आगो तापेर हाम्रो रात बित्छ । चौधरीले आफूहरुको व्यक्तिगत सामान राख्ने ठाउँसमेत नभएको र एउटै टेन्टमा कार्यालयदेखि सुत्नेसम्म गर्नु परिरहेको बताउनुभयो ।

दामनमा हाल हिउँ खेल्न जाने आन्तरिक तथा वाह्य पर्यटकको संख्या वृद्धि भएको छ । उक्त क्षेत्रको सुरक्षा व्यवस्थापनमा खटिएका प्रहरीलाई आफ्नै सुरक्षा गर्नसमेत कठिनाइ भइरहेको प्रहरीको भनाइ छ ।

चौकी पुनर्निर्माण गर्न १ लाख छुट्याइएको भनिए पनि हालसम्म उपलब्ध नभएको उनीहरुले बताए । निजामती सेवामा कार्यरत् कर्मचारीको तत्काल भवनदेखि हरेक माग पूरा भएको बताउँदै त्यहाँका प्रहरीले सुरक्षामा खटिएका प्रहरीको समस्यालाई बेवास्ता गरिएकोप्रति दुःख व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्