वजनियाकी ग्रान्डस्लाम च्याम्पियन बनिन्



मेलबर्न, (एजेन्सी)
डेनिस खेलाडी कारोलिन वजनियाकी अन्ततः ग्रान्डस्लाम च्याम्पियन बन्न सफल भएकी छन्। शनिबार अस्ट्रेलियन ओपनको फाइनलमा सिमोना हालेपलाई हराएर वजनियाकीले ग्रान्डस्लाम उपाधि जितेकी हुन्। यो उनको करिअरको पहिलो ग्रान्डस्लाम उपाधि हो। योसँगै उनको ग्रान्डस्लाम जित्ने धोको लामोसमयपश्चात पूरा भएको छ।

यसका साथै वजनियाकी विश्व नम्बर एकमा फेरि एकपटक रहनेछिन्। उनी ६ वर्षको ग्यापमा शीर्ष स्थानमा उक्लिन लागेकी हुन्। सोमबार हुने डब्ल्यूटीए वरीयतामा हालेपलाई विस्थापित गर्दै उनी विश्व नम्बर एक हुनेछिन्।

२७ वर्षीया वजनियाकी र एक वर्ष कान्छी रोमानियन खेलाडीले पहिलो ग्रान्डस्लाम उपाधि जित्न रड लेभर एरेनामा प्रतिस्पर्धा गरे। २ घण्टा ४९ मिनेट समय लागेको रोमाञ्चक फाइनलको बाजी वजनियाकीले मारिन्। उनले तेस्रो ग्रान्डस्लाम फाइनल ७–६, ३–६, ६–४ ले जित्दै पहिलेझैं खेर जान दिइनन्। यसअघि उनले दुईपटक यूएस ओपन फाइनलमा निरास हुनुपरेको थियो।

कोर्टमा च्याम्पियन बनेपछि भावुक बनेकी वजनियाकीले बताइन्– ‘यो क्षणको सपना धेरै वर्ष हेरें। यो सपना साँचो भयो। यो अद्भूत खेल थियो। सिमोनालाई सरी भन्न चाहन्छु।’

तर हालेपले भने तेस्रो पटक ग्रान्डस्लाम फाइनलमा हार बेहोरेकी छिन्। गत वर्ष फ्रेन्च ओपनमा नयाँ खेलाडी यलेना ओस्टापेन्कोसँग फाइनलमा पराजित भएर हालेप निरास बन्नुपरेको थियो। पहिलो सेटमा ३–० ले पछि परेर पनि उनले टाइब्रेकरमा पुर्याइन्। तर ७–२ ले वजनियाकीले पहिलो सेट हात पारिन्। दोस्रो सेटमा भने एक सर्भिस ब्रेकसँगै ६–३ ले हालेपले जितिन्। निर्णायक सेटमा भने दुवै जना एक अर्काको सर्भिस तोड्दै अगाडि बढेका थिए। वजनियाकी ४–३ ले पछि परेको स्थितिमा हालेपलाई यो सेट जित्ने मौका थियो। तर वजनियाकीले लगातार ३ गेम जितेर हालेपलाई पहिलो ग्रान्डस्लामका लागि पर्खाइमा राखिन्।

प्रतिक्रिया दिनुहोस्