मनपरी शुल्क बन्द गर



चर्को शुल्क असुलेर एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको ढाड सेक्ने क्रम रोकिएको छैन। निजी मेडिकल कलेजहरूले एमबीबीएसका विद्यार्थीसँग तोकिएभन्दा बढी रकम असुलेर मनपरी गर्दै आएका छन्। सरकारले उपत्यकाभित्रका मेडिकल कलेजका लागि ३८ लाख ५० हजार र उपत्यकाभन्दा बाहिरका मेडिकल कलेजहरूका लागि ४२ लाख ५० हजार रुपियाँ शुल्क लिन पाउने व्यवस्था गरेको छ। मेडिकल कलेजहरूले सरकारले तोकेको शुल्कका अतिरिक्त ५ देखि १२ लाखसम्म बढी शुल्क असुल गरेको पाइएको छ। चितवन मेडिकल कलेज (सीएमसी) भरतपुरले एमबीबीएसका विद्यार्थीसँग चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले तोकेकोभन्दा १२ लाख रुपियाँ बढी असुलेको छ।

मेडिकल कलेजहरूले आफूहरूलाई आएको शुल्क निर्धारण पत्रमा ट्युसन, लाइब्रेरी बा अन्य विभिन्न शीर्षकमा कलेजले केही रकम लिन पाउने भन्ने परिपत्र भएकाले कलेजको नियमअनुसार नै नयाँ भर्ना हुन आउने विद्यार्थीसँग भर्ना हुने क्रममा ६ लाख र कक्षा सञ्चालन अवधिमा ६ लाख लिएको स्वीकार गरेका छन्। सम्बन्धन प्राप्त कलेजहरूको भर्ना चिकित्साशास्त्र अध्ययन संस्थानबाटै अनलाइनमार्फत गरिने व्यवस्था छ । भर्ना भएका विद्यार्थीको नामावलीसहितको विवरण पनि आईओएमले सम्बन्धित कलेजमा पठाउने व्यवस्था छ । सरकारले तोकेभन्दा बढी शुल्क असुल गरेपछि योग्यता सूचीका एमबीबीएस विद्यार्थीले त्रिविमा ज्ञापनपत्र बुझाएर छानविनका लागि माग गरेका छन्। त्रिविले अस्वाभाविकरूपमा लिँदै आएको शुल्कबारे मेडिकल कलेजहरूमा स्थलगत अनुगमन गरी मनोमानी शुल्क असुल्ने मेडिकल कलेजहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। सरकारले चिकित्सा शिक्षा आयोग गठन भई आयोगले शुल्क नतोकेको अवस्थाबाहेक शैक्षिक वर्ष २०७४⁄०७५ का लागि अधिकतम ४२ लाख ५० हजार शुल्क निर्धारण गरेको थियो।

मेडिकल शिक्षामा देखिएको विकृति र विसंगतिबारे धेरै बहस भए। विभिन्न शुल्कका नाममा मेडिकल कलेजहरूले लुटतन्त्र जारी नै राखेका छन्। सरकारले मनोमानी शुल्क लिने कलेजमाथि छानविन गरेर कडा कारबाही गर्ने हो भने अनियमित ढंगबाट चर्को शुल्क असुली गर्ने प्रवृत्ति अन्त्य गर्न सकिन्छ। मेडिकल शिक्षाका नाममा भइरहेको लुटतन्त्र नियन्त्रण गर्न त्रिविले कडाइका साथ अनुगमन गर्नुपर्छ। एकातिर छानविन गरेजस्तो गर्ने र अर्कोतिर विभिन्न शीर्षकमा रकम असुली गर्न छुट दिँदै जाने हो भने मेडिकल कलेजहरूको मनोमानी नियन्त्रण हुने छैन। तसर्थ, मेडिकल शिक्षालाई व्यवस्थित र कलेजहरूलाई मर्यादित बनाउन अतिरिक्त शुल्क असुलीको शृंखला हटाउनै पर्छ। सरकारले तोकेभन्दा बढी रकम असुल्ने कलेजहरूलाई भर्ना कोटामै कटौती गर्नुपर्छ। मेडिकल शिक्षाका नाममा कमाउने उद्योग बनाइरहेका मेडिकल कलेजहरूका अनियमित गतिविधिबारे गम्भीररूपमा छानविन गरी आवश्यक कारबाही गर्न ढिलाइ गर्नुहुँदैन। नेपाल सरकारले यो विषयमा छिट्टै केही एक्सल लिने काम गरोस्।

– पार्वता केसी, चितवन

पाइल्सबारे जानकारीः के गर्ने, के नगर्ने ?

पाइल्स भएकाले तारे–भुटेको, अमिलोपिरो, माछामासु, अण्डा, घ्यू, पनिर, मख्खन र मैदाबाट बनेका वस्तुहरूको परहेज गर्नुपर्दछ। नुन, खुर्सानी ज्यादा हालेको, बोटल तथा बट्टाबद्ध खाद्यान्नहरू जंकफुड तथा कार्बोनेटेड ड्रिंक्स (पेप्सी, कोक, मिरिन्डा) आदि अजिनामोटो र अन्य हानीकारक रसायनहरू हालेको खानेकुरा खानुहुँदैन। चिया, कफी, इनर्जी ड्रिंक्स जस्ता उत्तेजक पेयको पनि परहेज गर्नुपर्दछ।

बिहानको नास्तामा फलफूल लिने बानी बसाल्नुपर्छ। रातिको खानामा अन्नको सहभागिता नगराएको राम्रो हो। पाइल्स एक्टिभ र रक्तस्रावी छ भने सकभर अन्न नखाएर फलफूल र तरकारी मात्र सेवन गर्नुपर्छ। सकिन्छ भने केही दिन उपवास गरौं। मौसमअनुसारका फलफूलहरू जस्तैः मौसम, सुन्तला, नासपाती, खरबुजा, काँक्रो, आँप, सरिफा, बेल, बेलौती, मेवा, अंकुरित मुङ–चना–मेथी र भिजाएको छोकडालाई ताजा दहीसँग मिसाएर खानाले कब्जियत कम हुन गई पाइल्समा पनि फाइदा पुर्याउँछ।

ठोस भोजन दिनको एकपटक मात्र भएको राम्रो हो। बिहानको भोजनमा रातो चामल, सामा, मकै, बजराको भात अथवा गहुँको दलिया, गहुँ, मकै, फापरको रोटी, काउली, बन्दा, लौका, तोरइको सब्जी विशेष समायोजन होस्। मास र खेसरीबाहेक बोक्रैसमेत पकाएको दालले पनि कब्जियत तथा पाइल्सलाई राम्रो गर्दछ। बेलुकाको भोजनमा अन्नको सहभागिता नभएको राम्रो हो। सब्जी तथा तरकारीको सुप वा २ सय ५० ग्राम उमालेको सब्जीसँग ताजा मोही मात्र खाँदा पाइल्समा राम्रो हुन्छ।

गाई, बाख्रा, उँट वा घोडाको दूध बिहान नास्तापछि र सुत्नुभन्दा अगाडि सेवन गर्नु फाइदाकारक छ। भैंसीको दूध तथा दुग्ध परिकार पाइल्सका लागि राम्रो होइन। चिकु (सपोटा), केरा, स्याउ, अंगुर, लिची जस्ता फलहरूले कब्जियत तथा पाइल्समा राम्रो गर्दैन। आलु, पिँडालु, तरुल, सुठोनी, भन्टा, चुकन्दर, ओल, सिमलतरुल, राजमा, सेतो चना, मास, भटमास जस्ता कन्दमूल तथा दहलनको प्रयोग नितान्त वर्जित छ।
पाइल्सबाट बच्न मलत्यागको क्रमलाई नियमित तथा सामान्य गर्नु कब्जियत तथा पाइल्स निवारणको पहिलो आयाम हो। तसर्थ, यस कारण बिहान–बेलुका नियमितरूपमा निश्चित समयमा शौच जाने गरौं। दिनमा कमसे कम ३–४ लिटर पानी पिउने गरौं खानामा मसिनो–मीठोभन्दा खस्रो–मोटो वस्तुहरूको समायोजन पाइल्सका लागि फाइदादायक छ। अतः रेसा र चोकरयुक्त खाद्यपदार्थ, सागसब्जी, फलफूल, सलाद खाने बानी बसालौं।

लामो समयसम्म कुर्सीमा बसिरहने नगरौं। बस्नै पर्ने भए पनि ३०–३० मिनेटको अन्तरमा आसन परिवर्तन गर्ने गरौं। ज्यादा भारी वस्तु उठाउँदा सावधानी अपनाऔं। विशेषतः भारी वस्तु उठाउँदा पेटमा बल पार्नुहुँदैन। गसै गरी गर्भावस्था, कलेजोको रोग, आन्द्राको रोग, पारकिन्सन रोग, थाइराइडिजम जस्ता विशेष रोगावस्था भएकाहरूले सावधानी अपनाऔं। श्रम तथा व्यायामलाई दिनचर्याको अभिन्न अंग बनाऔं। मानसिक तनावलाई बेलैमा व्यवस्थित गरौं। गरिष्ठ भोजनको सेवन नगरौं। मद्यपान, धूमपान र अन्य नशालु पदार्थहरूको सेवन नगरौं। मानसिक तथा स्नायुका समस्या हुँदा र अन्तःस्रावी ग्रन्थीका रोगको दबाइ खाँदा सावधानी अपनाऔं।

– शिव शर्मा, पाल्पा (प्राकृतिक चिकित्सालयमा अध्ययनरत)

प्रतिक्रिया दिनुहोस्