कामना फिल्म अवार्डस् २०७४, के भन्छन् मनोनयनमा परेका कलाकार?



विधाः निर्देशक


जस्तो निर्णय आए पनि खुसी
आकाश अधिकारी
मनोनयन विधाः फिल्म र निर्देशक (के म तिम्रो होइन र)
अवार्डको नोमिनेशनमा मेरै फिल्म परेको बेला मैले नै विजेता को बन्छ भनेर भन्नु गाह्रो कुरा हो। भन्न त जसले पनि मेरो फिल्मले पाउँछ भनिहाल्छन्, तर जुन फिल्मले पाए पनि त्यो जुरी र दर्शकको रोजाइको फिल्मले पाउँछ। निर्देशकको कुरा गर्नुपर्दा के म तिम्रो होइन र मा मैले राम्रोसँग एउटा डाइरेक्टरको प्वाइन्ट अफ भ्यु प्रयोग गरेको छु। अरू फिल्म पनि आफ्नो ठाउँमा राम्रो छन्, तर अरू फिल्म मेरोभन्दा राम्रो, मेरो फिल्म झुर छ भन्न सक्दिनँ। जुरी र दर्शकले जस्तो निर्णय गर्छन्, त्यसमा नै म खुसी छु।

मैले राम्रो काम गरेको छु
दीपेन्द्र के खनाल
फिल्मः चपली हाइट–२
अवार्ड कसले पाउँछ भन्ने बारेमा मैले सोचेको छैन। मलाई आफूले राम्रो काम गरेको जस्तो लाग्छ, अरूलाई पनि आफ्नो काम राम्रो नै लाग्छ। फेरि नोमिनेसनमा निश्चल बस्नेत, सुवर्ण थापा जस्ता राम्रो काम गर्ने व्यक्तिहरू नै पर्नुभएको छ। त्यसैले अवार्ड यसले जित्छ, उसले जित्छ भन्ने सकिँदैन। सबैले आ–आफ्नो ठाउँबाट राम्रो काम गरेका छन्।

 

जात्राले पाउँछ
हेमराज बीसी
मनोनयनः फिल्म, निर्देशक, कथा, पटकथा र संवाद (गाजलु)
मेरो विचारमा कामना फिल्म अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड जात्राले पाउँछ। जात्रा पब्लिकले मन पराएको र मलाई पनि निकै मन परेको फिल्म हो। यसको कथा निकै राम्रो छ। हुन त मैले मनोनयनमा पर्ने सबै फिल्म हेरेको छैन, त्यस कारण मैले भनेको फिल्मले नपाउन पनि सक्छ। स्क्रिन प्लेमा पनि जात्राले नै अवार्ड पाउँछ जस्तो लाग्छ। किनभने मैले हेरेका अन्य फिल्म भन्दा जात्राको स्क्रिन प्ले राम्रो पाएको छु। डाइलगमा जात्रा पनि परेकाले जात्राबाट प्रदीप भट्टराई वा गाजलुबाट मैले पाउँछु होला जस्तो लाग्छ।

डाइरेक्टरको अवार्ड हेमराजले पाउनुहुन्छ
निश्चल बस्नेत
फिल्मः लुट–२
मेरो विचारमा हेमराज बीसीले उत्कृष्ट डाइरेक्टरको अवार्ड पाउनुहुन्छ। डाइरेक्सनवाइज गाजलुमा उहाँको काम निकै राम्रो छ। मेरो लुट–२ ले व्यापार राम्रो गरे पनि यसमा मैले राम्रो काम गर्न सकेको छैन भन्ने फिल म आफैंले पनि गरेको छु। यो फिल्ममा जति डाइरेक्टरले काम देखाउन सक्नुपर्ने हो, त्यो मैले देखाउन सकेको छैन। स्टोरी र स्क्रिन प्ले लुट–२ को मेजर कमजोरी हो। अवार्ड भन्ने कुरा जो डिजर्भिङ छ, उसले पाउनुपर्ने हो। बेस्ट डाइरेक्टरको नोमिनेसनमा परेका हामी सबै साथीभाइ हौं, अवार्ड जसले पाउनुभए पनि खुसी नै हुन्छौं।

विधाः नवनिर्देशक


छक्का पञ्जाले पाओस्

दीपाश्री निरौला

फिल्मः छक्का पञ्जा
म दर्शक बनेर भन्ने हो भने छक्का पञ्जा सबैभन्दा बढी चलेको र ग्रस रेकर्ड राख्न सफल फिल्म भएकाले बेस्ट फिल्मको अवार्ड छक्का पञ्जाले नै पाओस् भन्छु। नवनिर्देशकको अवार्डचाहिँ म भन्न सक्दिनँ। अवार्ड पाउने लोभ त कसलाई हुँदैन र? तर पनि कसले पाउँछ भन्न सक्दिनँ। यस वर्षको अधिकांश अवार्ड मैले नै पाइरहेको छु, कामना फिल्म अवार्डमा चाहिँ जुरीले के निणर्य गर्नुहुन्छ हेरौं। मलाई जुरीको निर्णय स्वीकार्य छ।

निर्देशन दीपाजीको राम्रो, स्क्रिनप्ले मेरो
प्रदीप भट्टराई
विधाः नवनिर्देशक, पटकथा र संवाद (जात्रा)
नेपालमा वर्षमा सयको हाराहारीमा फिल्म बन्छन्। तीमध्येबाट जुरीले जात्रालाई उत्कृष्ट ५ मा राख्नु नै एक हिसाबले अवार्ड जितेसरह हो। मनोनयनमा परेका सबै फिल्म दर्शकको माया पाएका फिल्म हुन्। यस कारण पनि यही फिल्मले अवार्ड पाउँछ भनेर भन्न सक्ने अवस्था छैन। डेब्यु डाइरेक्टरमा परेकामध्ये छक्का पञ्जामा दीपाजीले निकै राम्रो काम गर्नुभएको छ। उहाँको निर्देशनमा पहिलोपटक बनेको छक्का पञ्जाले ऐतिहासिक रेकर्ड नै बनायो। उत्कृष्ट ५ मा परेका अन्य डेब्यु निर्देशकको फिल्महरू पनि राम्रा छन्। तर, अवार्ड त सकेसम्म आफैंले पाएको राम्रो, हा..हा..हा…। तर, जसले पाए पनि खुसी लाग्नेछ। स्क्रिन प्लेमा जात्रा उत्कृष्ट छ जस्तो लाग्छ, अवार्डको दाबेदारी हो। डाइलगमा भने छक्का पञ्जाले नै बाजी मार्छ जस्तो लाग्छ। छक्का पञ्जाको प्रत्येक डाइलगले दर्शकलाई हसाएको छ। छक्का पञ्जाको डाइलगले नै यो फिल्मलाई कभर गरेकाले यसले नै अवार्ड पाउला जस्तो लाग्छ।

दीपाश्रीले जित्नुपर्ने हो
रोज राणा
फिल्मः जय पशुराम
म आफैं रेसमा भएपछि त आफ्नै नाम लिनुपर्यो नि हैन र? व्यावसायिक हिसाबले कुरा गर्ने हो भने छक्का पञ्जा बढी चलेको फिल्म हो। त्यस कारण यो अवार्ड दीपाश्री निरौलाले जित्नुपर्ने हो। तर, मेकिङको हिसाबले भने जय पशुरामबाट मैले अवार्ड पाउनुपर्छ भन्ने लाग्छ। जय पशुरामले छक्का पञ्जाले जति व्यापार गर्न सकेन अर्को कुरा, तर मेकिङ र टेक्नोलोजीमा अन्य भन्दा जय पशुराम उत्कृष्ट छ।

 

क्राइट एरिया के छ?
नरेशकुमार केसी
मनोनयनः नवनिर्देशक, कथा र पटकथा (डाइङ क्यान्डल)
अवार्ड कसले पाउने भन्ने कुरा त जुरीले निर्णय गर्ने कुरा हो। फिल्मलाई कुन आधारमा अवार्ड दिने भन्ने कुरामा पनि भर पर्छ। बक्स अफिसको आधारमा, धैरै मासमा पुगेको आधारमा अथवा फिल्म कति आट्रिस्टिक छ भन्ने जस्ता कुनचाहिँ आधारमा अवार्ड दिन लागिएको हो भन्ने क्राइटएरियामा भर पर्छ। यस वर्ष नवनिर्देशकको म्यासिभ अवार्ड दीपाश्री निरौलाले नै पाइरहनुभएको छ। यदि ओमन इम्पावरमेन्टलाई हेरेर अवार्ड दिने हो भने पक्कै पनि दीपाश्री निरौलाले नवनिर्देशकको अवार्ड पाउनुहोला। तर, महिला पुरुष केही नहेर्ने विशुद्ध फिल्म निर्देशनलाई हेर्ने हो भने जात्राबाट प्रदीप भट्टराईले अवार्ड पाउनुहोला। म नवनिर्देशकसहित कथा र पटकथाको विधामा परेकोमा खुसी लाग्यो। अन्य विधामा पनि त्यही हो, अवार्ड केको आधारमा दिने भन्ने कुरामा भर पर्छ।

 

सोचेको छैन
सन्तोष शिवाकोटी
फिल्मः शब्द
अवार्ड केको आधारमा दिने भन्ने कुरामा भर पर्छ। बक्स अफिसको आधारमा हो कि अन्य आधारमा हो भन्नेमा भर पर्छ। तर, अवार्ड कसले पाउँछ भन्ने सोचेको छैन।

प्रतिक्रिया दिनुहोस्