राजधानीको माग गर्दै वीरगन्जमा जनप्रदर्शन



नेपाल समाचारपत्र
वीरगन्ज
सरकारले २ नम्बर प्रदेशको अस्थायी मुकाम जनकपुर तोकेको बिरोधमा वीरगन्जमा जारी राखिएको आन्दोलनका क्रममा शनिबार प्रदर्शन गरिएको छ। वीरगन्जलाई राजधानी बनाउन गठन गरिएको संघर्ष समितिको आह्वानमा शनिबार वीरगन्जमा प्रदर्शन गरिएको हो। वीरगन्जलाई राजधानीको माग गर्दै बिगत २५ दिनदेखि आन्दोलन जारी राखिएको छ। शनिबार पनि वीरगन्जको घण्टाघरमा रिले अनसन कायम राखिएको छ। अनसनमा आन्दोलनकारीहरुले स्कुले विद्यार्थीहरुलाई समेत सहभागी गराएका छन्।

सरकारले आफूहरुको माग नसुनेका कारण आन्दोलन झनै कडाइ गर्नुपरेको संघर्ष समितिका सदस्य एवम् तरुण दल बाराका अध्यक्ष लुकेश सिंहले बताए। उनले वीरगन्जमा आन्दोलन जारी रहेकै अवस्थामा सरकारले जनकपुर राजधानी घोषणा गरेर आफूहरुलाई अन्याय गरेको बताएका छन्। आन्दोलनमा पूर्वसांसद राजकुमार गुप्तालगायतको सहभागिता रहेको छ। वीरगन्ज राजधानी माग गर्दै गठित संघर्ष समितिले माघ २१ गते वीरगन्ज बन्दको समेत आह्वान गरेको छ। आन्दोलनमा नेपाली कांग्रेस, एमाले र माओवादीलगायतका दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ।

यद्यपि मधेसवादी दलका नेता कार्यकर्ताहरुको भने खासै उपस्थिति रहेको छैन। केही दिनअघि मात्रै काठमाडौंमा राजपाका नेता एवम् पर्सा क्षेत्र नम्बर ४ का सांसद लक्ष्मणलाल कर्णले वीरगन्ज राजधानी हुन नसक्ने कुरा बताएपछि यहाँको वातावरण झनै बिग्रिएको केही आन्दोलनकारीहरुले टिप्पणी गरेका छन्। कर्णले चुनावमा हारेकाहरुले मात्रै वीरगन्जमा नाटक गरेको भन्दै जनकपुर नै २ नम्बर प्रदेशको स्थायी राजधानीसमेत हुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्