दोरम्बालाई मदिरामुक्त बनाउने अभियान



नेपाल समाचारपत्र, रामेछाप ।
गाउँघरमा जाँड रक्सीको कारण सामाजिक विकृति बढ्दै गएको भन्दै दोरम्बा गाउँपालिका–२ दोरम्बा वडा कार्यालयले गाउँलाई मदिरामुक्त बनाउने अभियानको सुरु गरेको छ । समाजमा दिनहु जाँड रक्सी खाएर होहल्ला गर्ने, झगडाको घटना बढेपछि दोरम्बा वडा कार्यालयका वडा अध्यक्ष खड्क श्रेष्ठको नेतृत्वमा मदिरामुक्त अभियानको सुरु भएको हो ।

मदिरामुक्त गाउँ निर्माणको लागि दोरम्बा प्रहरी चौकी, स्थानीयवासीको सक्रियतामा मदिरा नियन्त्रण समुह नै गठन गरेर काम अगाडि बढाइएको दोरम्बा गाउँपालिका–२ का वडा अध्यक्ष खड्क श्रेष्ठले बताउनुभयो । वडाकोसाविक दोरम्बा–९ दहपातबाट अभियानको सुरु भएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय सरकार गठन भएपछि नयाँ र समाज सुधारको अपेक्षा गरेका स्थानीयले वडा कार्यालयको सक्रियामा मदिरामुक्त अभियान अगाडि बढेपछि खुसी भएका छन् । अभियानमा प्रहरी चौकी दोरम्बा र स्थानीय महिला समुहको साथै स्थानीयको सक्रियतामा अभियान बढाइएको उहाँले बताउनुभयो ।

‘यो सुरुवात हो वडाभित्र सबै क्षेत्रमा मदिरामुक्त बनानाउने अभियान हो’, अध्यक्ष श्रेष्ठले भन्नुभयो,सबैको साथ सहयोग लिएर वडालाई मरिदामुक्त बनाउने हो ।’ दोरम्बामा विगतमा पनि जाँड रक्सीको कारण ज्यान गएको घटना रहेकाले मदिराकै कारण ज्यान जाने अवस्थाको अन्त्य गर्ने अभियानमा सञ्चालन गरेको स्थानीय नारायण श्रेष्ठले बताउनुभयो ।

दोरम्बाको दहपातलमा वडा अध्यक्ष श्रेष्ठ, प्रहरी चौकीका इन्चार्ज रामदेव साह र स्थानीयवासीको सक्रियतामा करिब एक हजार लिटर रक्सी र जाड नष्ट गरिएको छ । यो अभियानलाई निरन्तता लक्ष्य वडा कार्यालयले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्