सुदूर पश्चिमका सक्रिय युवास्रष्टा



मोहन दुवाल
बैतडीमा २०३२ असार ४ मा जन्मिएका पुष्करराज पछि धनगढी नपा–५, हसनपुरमा पुगेदेखि त्यहीँ साहित्य साधना र सिर्जनामा सेवारत छन्। थोरै वर्षको निरन्तर प्रयास र प्रयत्नबाट यिनले आफ्नो नाम धनगढीको माटोबाट उठाएर राष्ट्रमा चिनाउन प्रयत्नरत रहे र चिनाउन सफल पनि रहे। पिता गोपालदत्त भट्ट र माता राधिकादेवी भट्टका छोरा भई जन्मेका यिनले नेपाली विषयअन्तर्गत लघुकथामा विद्यावारिधी गरेका छन्। धनगढीमा छँदा यिनले व्यापार व्यवसाय गरे र फुर्सदमा साहित्य सिर्जना एवं सङ्गठनमा लागेर आफूलाई सक्रिय तुल्याइरहे। आफूले केही गरेर देखाउन पाउँदा यिनी खुशी हुन्छन्। यिनै युवा–स्रष्टा धनगढीबाट सिर्जनाका डोबहरू नियाल्दै राष्ट्रमा देखा पर्न सफल छन्।

धनगढीमा म दुईपल्ट पुग्न पाएँ। दुवैपल्ट यिनीसँग मेरो भेट भयो। नेपाल–भारत लेखक सम्मेलन हुँदाताका यिनले मलाई आवासमा भेट्न आएको र सम्पर्कको क्रम बढ्दै गएको हो । अर्कोपल्ट नेपाल बालसाहित्य समाजको एउटा साहित्यिक कार्यक्रममा जाँदा सम्बन्ध गाढा पार्न पाएको मलाई सम्झना छ। जनमत साहित्यिक मासिक र जनमत प्रकाशनका पुस्तकहरू धनगढी सम्प्रेषित गर्ने आन्दोलनमा यिनले सघाइदिएका हुन्। यिनीमार्फत नै मैले कैलालीका धेरै स्रष्टाहरूका कृतिहरू रसास्वादन गर्न पाएको हुँ। कैलालीको माटोमा साहित्यिक उत्सर्गहरू थप्ने आन्दोलनका अभियन्ता यिनी नयाँ पुस्ताका सक्रिय युवा साहित्यकार हुन्। सामाजिक सेवा, पत्रकारिता, साहित्यिक कार्यशीलतामा रमाइरहेका एकज सचेत युवालेखक पुष्करराज समाजमा व्याप्त भ्रष्टाचार, शोषण, कुकृत्यको विरोधमा कथा, निबन्ध र कवितामार्फत कलम चलाएर दृष्टि फुकाउन क्रियाशील छन्।

कला समूह संस्थापन गरेर, कैलाली जन पुस्तकालयका सञ्चालक रहेर, सुदूर पश्चिमाञ्चल साहित्य समाजमा आजीवन सम्पर्क जोडेर साहित्य कलाक्षेत्रमा रहँदै आएका यिनी सुदूर पश्चिमाञ्चल संवद्र्धन समिति, विद्यार्थी साहित्य प्रतिष्ठापन, जनमत साहित्यिक मासिकलगायत अन्य थुप्रै संघसंस्थामा सहभागिता जनाएर पनि सिर्जना र साहित्यिक क्रियाशीलताबाट आफूलाई चिनाउन सक्रिय छन्। आफ्नै अन्तर्मनभित्रको उद्बोधबाट डो¥याएर अनि साहित्यिक परिवेश पाएर साहित्य लेख्दै आएका यिनी एकलव्य र प्रकाश क्षितिज उपनामबाट पनि लेख–रचना लेख्ने गर्छन्।

साहित्य मानवीय अनुभूतिहरूका कलात्मक, सौन्दर्यपूर्ण विवेकसम्मत बौद्धिक अभिव्यक्तिका रूपमा स्वीकारेर लेखनक्षेत्रमा लागेका यिनी जीवनलाई सङ्घर्षको प्रतिविम्ब मान्छन् र सङ्घर्ष नै जीवन हो भन्छन्। प्रगतिचेत बोकेर जीवनपथमा कुदिरहन रुचाउने यिनी साहित्यमार्फत जनता र राष्ट्रको पक्षमा लेख्न रुचाउँछन्। साहित्य अध्ययन यिनको जीवनक्रम बने। संगीत श्रवण यिनको रुचिको विषय बने। खेलकुद कार्यक्रम हेर्नु यिनको दैनिकी बन्यो। हाल यिनको जीविकाको आधार प्राध्यापन, सम्पादन, अध्यापन र अन्वेषण भयो। यिनले कथामा मन राखे, कविता लेख्ने इच्छा गरे, निबन्धका हरफहरू कोरे।

साथै समीक्षामा र अन्वेषणमा आफू सक्दो गर्दै आएको देखिन्छ। यस्तै खोजी र सिर्जनामा मन दिन पाउँदा खुशी हुन रुचाउने यिनी अग्रज पुस्ताका साहित्यकारहरूमा पारिजात, हृदयचन्द्र, भूपि शेरचन, रमेश विकल, युद्धप्रसाद मिश्र, विमल निभा, मोहन दुवाल मन पराउँछन्। विदेशी साहित्यकारहरूमा गोर्की र लुस्युन पढ्दै आएका यिनी भारतीय लेखकहरूमा प्रेमचन्द, शरतचन्द्र, राहुल सांकृत्यायन, शिवानी, तसलिमा नसरिनका कृतिहरूबाट प्रभावित छन्। यिनका प्रकाशित कृतिहरूमा कर्मयोद्धा (लघुकथा, २०५९), युगधारा (निबन्ध, २०५९), आस्थानायकको अवसान (कथा, २०६१), मुक्तिदूत (लघुकथा, २०६२), सुनौलो बिहानी (गजल, २०६३), एकथोपा सागरको (लघुकथा, २०६४), सुदूर पश्चिममा मातृभाषा साहित्य (अनुसन्धान, २०६५), सिर्जनाको सौन्दर्य (समालोचना, २०६९), सुदूर पश्चिमाञ्चलका थारु लोकगीतको अध्ययन (अनुसन्धान, २०६७) का साथै थुप्रै संयुक्त लेखनका प्रकाशोन्मुख कृतिहरू छन्।

सम्पादन कार्यमा पनि आफ्नै गन्तव्य र सक्रियता देखाउँदै आएका यिनले मालिका, सुरभि, साहित्यसुधा, आयाम, आफन्त, सुदूर पश्चिमाञ्चलका साहित्यकार ः परिचय र अभिव्यक्ति, गजल प्रवाह आदिको सम्पादनमा आफ्नो बर्कत देखाएकै हुन्। यस्तै कार्य गरेर आफूलाई साहित्यिक कर्ममा जुटाउँदै आएका यिनलाई कर्मको सम्मानस्वरूप हाम्रो मझेरी प्रतिभा सम्मान (२०६१), स्व. देवकान्त स्मृति युवा साहित्यकार सम्मान (२०६२) प्रदान गरिसकिएको छ।

र, यस्तै हाम्रो परेली साहित्यिक पत्रिकाको २०६४ को एउटा अङ्कमा यिनको सम्मानमा एउटा विशेष अङ्क प्रकाशित भएको छ। भर्खरैको युवावस्थाको छँदा नै कैलालीमा यिनले रोप्दै आएका सिर्जनाका डोबहरू नियालेर जनमतले पुष्करराज भट्ट विशेष निकाल्ने सोच बनाएको हो। यो विशेष अङ्क युवावस्थामा नै थुप्रै खालका साहित्यिक सिर्जना र साधना गरेबापतको सम्मानस्वरूप प्रदान गरिएको सम्मानभित्रको जनमत सद्भाव हो।

परिवेश नै दुर्गन्धित भए स्वस्थ विचार फुल्छ कहाँ ?

मस्तिष्कमा कुविचार भए मानिस भुल्छ कहाँ ?

विषको वृक्ष रोपेर अमृत कहाँ फल्ला र ?

घृणा रोपेर प्रेमको नाटक कहाँ चल्ला र ?

देशमा सुनौलो बिहानी ल्याउने चाहना बोकेर आफूभित्रको दृष्टि–विम्ब दह्रो पार्दै आएका यिनी गजलमा पनि यस्तै खालका सुन्दर विचार फुलाउन चाहन्छन्। साहित्य मनको सन्तुष्टिको लागि लेख्छु भन्नु भ्रम र दृष्टिदोष हो। साहित्य लेख्नु भनेको जनता, समाज, देशकै हितका लागि, प्रगतिका लागि लेख्नु पो हो, यिनी यस खालका विचार साहित्यमा सम्प्रेषण गर्न संघर्षरत छन्। प्रगतिशील साहित्यको प्रचारप्रसारका लागि आफू सक्दो मन दिँदै आएका यिनी हाल प्रलेस कैलाली, प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य भएर हाल प्रदेश नंं. ७ का इन्चार्ज छन्। यसै गरी यिनी जनसांस्कृतिक मञ्च, जनमत प्रकाशन, जनमत मासिक, जनमत वाङ्मय प्रतिष्ठानलगायत लघुकथा समाज, नेपाल वाङ्मय परिषद्मा सक्रिय छन्।

यिनको योगदान गोरखापत्र, जनमत मासिक, शब्द–संयोजन, भानु, लघुकथा मुखपृष्ठमा संलग्न भएर सम्पादन सहयोगीका रूपमा आफ्नो सक्रियता देखाउँदै आएका छन्। यिनले पाएको सम्मान र पुरस्कारहरूमा हाम्रो मझेरी प्रतिभा सम्मान लगायत लघुकथा सम्मान, युवा–वर्ष मोती पुरस्कार, प्रश्रित प्रतिभा सम्मान, भानुभक्त सम्मान, भानु सम्मान (भारत)। यिनी गजलमञ्च, महाकाली साहित्य संगममा र कैलाली जनपुस्तकालयमा पनि सहयोगी भई आफ्नो क्रियाशीलता देखाएका छन्। राजनीतिमा पनि कहिलेकाहीँ आफ्नो सक्रियता देखाउन इच्छा राख्दै आएका यिनी राजनीतिमा देखा पर्दै आएका काला धब्बाहरू देखेर भयभित छन्।

राजनीतिक क्षेत्र चोखो र स्वच्छ नरहेसम्म सबै क्षेत्रमा राम्रा खालका सम्भावनाहरू देखिँदैनन्। राजनीति त्यसैले कञ्चन हुनुपर्ने हो तर भइराखेको छैन, यस सन्दर्भमा कुरा हुँदा उनी चिन्ता जाहेर गर्छन्। शहीदको सपना हराइराखेकोमा यिनी निबन्ध लेख्छन्। जीवनलाई नशाजस्तै सम्झन्छन्। दास मानसिकता देखेर र भोगेर यिनी सशङ्कित छन्। यस्तै–उस्तै विम्बहरूभित्र लुकिरहेको एउटा सुन्दर आकृतिजस्तै भइदिएका छन् पुष्करराज भट्ट।

किशोरावस्थादेखि साहित्यप्रतिको मोहले साहित्यिक लेखनमा लागिरहेका यिनी आस्थानायकको अवसान कथासङ्ग्रहमा जीवनप्रतिको आफ्नो धारणा यसरी व्यक्त गर्छन्– जीवनमा कहिल्यै पनि पूर्ण प्राप्ति हुँदैन। जीजिविषाले मानिसका इच्छा अनि आकांक्षाहरूलाई जीवन्त राख्छ। मानिस बाँच्नका निमित्त, आफ्नो अस्तित्वबोध गर्नका निमित्त पनि केही गर्न चाहन्छ। मानिसका कर्महरू मेरो जीवन भोगाइका अनुभव, ज्ञान अनि क्रियाशीलताका जगमा उभिएका छन्। यस्तै सोच जीवनमा बोकेर साहित्यमा युगीन जागरणका शब्द विचार व्यक्त गर्न रुचाउने यिनी सुदूर पश्चिमेली समाजका कथाव्यथाहरूलाई नै आफ्ना कथाहरूमा व्यक्त गर्न खोज्छन्।

आस्थानायकको अवसान पुस्तक पढेर प्रगतिशील समालोचक आनन्ददेव भट्टले पुष्करराजका कथाहरूबारे यसरी मूल्याङ्कन गरेका छन्– आस्थानायकको नायक प्रस्तुत कथासङ्ग्रहले एकातिर विषयवस्तुका दृष्टिले विशेष गरी कुनै पनि गाउँ–ठाउँदेखि शहर–बजारसम्म बस्ने आमनेपालीको अत्यन्त कष्टमय जीवनलाई देखाउँछ भने अर्कोतिर यसले वर्तमान समसामयिक नेपाली समाजको सत्यता, यथार्थता, वास्तविकता र कारुणिकतालाई हार्दिक किसिमले प्रस्तुत गर्न अत्यन्त उत्साहपूर्वक सौन्दर्य चेतनाका साथ अग्रसर भएको पनि दर्शाउँछ। कथा लेखनमा भएको यिनको समर्पणप्रतिको यो दृष्टि वरिष्ठ समालोचक आनन्ददेव भट्टको मूल्याङ्कन हो।

धनगढी, भारतसँगै दुःख–सुख साटफेर गर्दै आफ्नै हैसियत देखाएर रम्दै–झुम्दै गरेको एउटा नगर। साहित्य सिर्जना ओझेलमा परेको परिवेशमा स्रष्टाहरू बाँच्न गाह्रो बनाइदिएको यो देशको यस अवस्थामा सुदूर पश्चिमाञ्चलको माटोमा साहित्य सिर्जनामा भुल्दै, मन दिँदै क्रियाशील हुनु भनेको चानचुने विषय र कर्म होइन। त्यही कर्ममा व्याप्त हुन खोज्दै, सिर्जनाका डोबहरूभित्र आफूलाई समाहित तुल्याउँदै बाँच्न सकेकै कारणले पुष्करराजहरू धन्य छन्। त्यही धनगढी हेरेर त्यहाँ फुलेका पुष्कररूपी फूल मेरा मनमझेरीमा सम्प्रेषित भएकै कारणले म अक्षर–विम्बमा राखेर उनलाई नियालिरहेछु। उनले लेखेका गजल शब्दहरूलाई मन परेर म पनि यहाँ उल्लेख गरिरहेछु ः

मान्छे मान्छेका पीडामा बोल्छ यो कलम
बेथितिका अनेक रहस्य खोल्छ यो कलम।

प्रतिक्रिया दिनुहोस्