नमुना प्राविधिक शिक्षालय स्थापना गर्ने सीटीईभीटीको तयारी 



पुष्कर बुढाथोकी, भक्तपुर
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले ७ वटै प्रदेशमा अधिकार सम्पन्न प्रादेशिक कार्यालय स्थापना गरी कम्तीमा एउटा नमुना प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ।
सीटीईभीटीले आयोजना गरेको संघीय संरचनामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् विषयक अन्तक्र्रिया कार्यक्रममा सदस्य सचिव पुष्परमण वाग्लेले सीटीईभीटीले प्रत्येक प्रदेशमा एउटा नमुना बहुप्राविधिक शिक्षालय स्थापना गरी परिषद्ले प्रदान गर्ने सम्पूर्ण कार्यक्रम त्यहींबाट सञ्चालन गर्ने जानकारी दिनुभयो।
सीटीईभीटीले सञ्चालन गर्ने कार्यक्रमहरूको गुणस्तर अभिवृद्धि गर्ने बताउँदै अनुगमन तथा मूल्यांकन प्रणालीलाई व्यवहारिक र पारदर्शी बनाउनेमा जोड दिनुभयो।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.गीताभक्त जोशीले परिवर्तित अवस्थामा सीटीईभीटीलाई कसरी समायोजन गर्ने भन्ने चुनौती रहेको बताउनुभयो।उहाँले वार्षिक ५ लाख युवा श्रम बजारमा आउने गरे पनि अहिले १ लाख १४ हजारमात्र तालिम दिन सकिएको बताउँदै विशेष गरी आधारभूत र मध्यम जनशक्ति हाम्रो आवश्यकता भएकोे बताउनुभयो।
 अब ७ प्रदेशमा ७ वटा मोडेल पोलिटेक्निक बनाउने नीति र बजेटमा  व्यवस्था रहेको बताउँदै उहाँले सातै प्रदेशमा नयाँ संस्था बनाउनेभन्दा पनि भएकालाई छनोट गरी सुधार गर्नुपर्ने बताउनुभयो। ‘सीप दिनको लागि योजना निर्माण हुनुपर्ने बताउँदै उहाँले यसका लागि शिक्षा मन्त्रालय, योजना आयोग र अर्थलगायत अरू मन्त्रालयसँग सीटीईभीको नेतृत्वले लबिङ गर्नुपर्छ’ –उहाँले भन्नुभयो।
सीटीईभीटीले जनमानसमा छवि सुधार्नुपर्ने बताउँदै उहाँले भन्नुभयो– ‘सीटीईभीटीमा विकृति छन्, सीटीईभीटी पछाडि फर्किनुमा कारण छ, सीटीईभीटीको इमेज बिग्रीनुमा सम्बन्धन विकृति हो, जनमानसमा इमेज राम्रो छैन, कसले, कसरी गर्ने हो सुधार्ने दायित्व हाम्रो हो, अहिलेको सीटीईभीटी व्यवस्थापनले गर्नैपर्छ। नत्र सीटीईभीटी अगाडि बढ्न सक्दैन। कसैलाई आरोप लगाएको होइन, यो सबैको सम्पत्ति हो।’
प्राडा सुरेशराज शर्माले अबको समय युवा सशक्तीकरणको समय भएको बताउँदै सीटीईभीटीले क्षमता विकास र रोजगारीलाई जोड दिनुपर्ने बताउनुभयो।अहिले सीटीईभीटीसँग दाता त्यति खुसी नरहेको बताउँदै सेवा प्रवाह र परिणाममा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। नेपाललाई प्राविधिक जनशक्ति कति छ? पाँच वर्षमा कति चाहिन्छ? दश वर्षमा कति चाहिन्छ? त्यसको तथ्यांक खोज्नु जरुरी रहेको बताउनुभयो।
विज्ञ देवीप्रसाद दाहालले सीटीईभीटीको सीप परीक्षण एसियामै पहिलो भएको बताउँदै गुणस्तरलाई कायम गरेर छाता ऐन बनाई सीटीईभीटीले गरेको काम थप राम्रो बनाउनु पर्ने र सीटीईभीटीले प्राविधिक शिक्षाको नेतृत्व लिनुपर्ने बताउनुभयो।
कार्यक्रममा प्रा.सरोज देवकोटाले पछिल्लो समय सीटीईभीटीलाई कमजोर बनाउने काम भइरहेको बताउँदै युवालाई स्वदेशमै सीप र तालिम दिनु र रोजगारी सिर्जना गर्न जरुरी रहेको बताउनुभयो।
विज्ञ गोविन्द गजुरेलले सीटीईभीटी राजनीतिक नेतामुखी हुन नहुने बताउँदै यसकोे ऐन परिमार्जन गरी सुधार गर्नुपर्ने र केन्द्रले गुणस्तर नियन्त्रण गर्न जरुरी रहेको औल्याउनुभयो।
प्राडा टंकनाथ शर्मालेकाम गरेर रोजगारी पाउनुपर्ने वर्गलाई सीटीईभीटीको महत्व रहेको बताउँदै यसको विस्तार गर्दा विपन्न वर्गलाई सोच्नुपर्ने उल्लेख गर्नुपर्ने र हुनेखाने वर्गलाई मात्र लक्षित गर्न नहुनेमा जोड दिनुभयो।
डा.दिनेशचन्द्र देवकोटाले २०४६–७४ यता उद्योग घटेका र ३५ प्रतिशत रेमिटेन्स बढेको बताउँदै सीटीईभीटी ऐन, २०४५ लाई समीक्षा गर्ने बेला आएको बताउनुभयो।अब भौतिक निर्माणमा अल्झिन नहुने र त्यो खर्चले जनशक्ति उत्पादनका कार्यक्रम चलाउन पर्ने बताउनुभयो।छरिएर रहेका संस्थामा काममा दोहोरोपन छ भन्दै आधारभूत, मध्यम र उच्चस्तरका जनशक्ति उत्पादनमा सीटीईभीटीमात्र होइन राज्य नै कमजोर भएको उल्लेख गर्नुभयो। सीपलाई उत्पादनसँग जोड्न सक्नुपर्ने बताउँदै सीटीईभीटी क्षेत्रको रिइन्जिनियरिङ गर्न जरुरी भएको बताउनुभयो।
डा.हरि प्रधान सीटीईभीटीले प्रविधिका क्षेत्रमा विदेशी मान्छे ल्याउनुपर्ने अवस्था निस्तेज पारेको बताउँदै टीआईटीआईचाहिँ सीटीईभीटीभन्दा बाहिर राख्नुपर्ने  र  कृषि, वन, फिसरी र जडिबुटी क्षेत्रमा जोड दिनुपर्ने बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्