रुकुम पुर्वको सदरमुकाम सार्ने निर्णयले रुकुमकोटमा आन्दोलन चर्कियो



धनवीर दाहाल, रुकुमकोट । बर्षाैंको आन्दोलनले सदरमुकाम पाएका रुकुमकोबासीे फेरी सदरमुकामकै लागी आन्दोलनमा उत्रिएका छन् । देशको कान्छो जिल्लाको मान्यता पाएको रुकुम पूर्वको सदरमुकाम अन्यत्रै सार्ने मन्त्रिपरिषद्को निर्णय गलत भएको भन्दै रुकुम पूर्वको सदरमुकाम रुकुमकोट र त्यस आसपासका सर्वसाधारण आन्दोलीत भएका छन् । बिहीबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले सिस्ने गाउँपालिका–५ र ६, रुकुमकोटमा रहेको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, को गोलखाडामा सार्ने निर्णय गरेको छ ।

उक्त निर्णयको विरोधमा रुकुमकोटबासीले बिहीबार रातिदेखि जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् भने राति मसाल जुलुस पनि निकालेका थिए । रुकुमकोटबाट जिल्ला सदरमुकाम गोलखाडा सार्न नदिन सडक अवरुद्ध गरेको स्थानीय केशवचन्द्र समालले बताउनुभयो । आन्दोलनकारीले रुकुमकोट प्रवेश र रुकुमकोटबाट बाहिरीने सबै सडक बन्द गरेका छन् । रुकुमकोटस्थित जिल्ला अदालत बाहेक सम्पूर्ण सरकारी कार्यालयमा बिहानै तालाबन्दी गरिएको छ ।

आन्दोलनकारीले प्रधामन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले आफू सर्वसाधारणको घेराबन्दीमा परेको बताउनुभयो । २०७२ साल असोज ३ गते जारी भएको संविधानमा साविकको रुकुम जिल्लालाई दुई छुट्टाछुट्टै प्रदेशमा राखिएको थियो । गत असोज २० गतेदेखि रुकुम पूर्वले छुट्टै जिल्लाको रुपमा कामकाज गर्न थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्