रुसी हस्तक्षेप प्रकरण, अमेरिकी महान्यायाधिवक्ता सेसन्ससँग सोधपुछ



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति चुनाव २०१६ मा कथित रुसको हस्तक्षेपलाई लिएर अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सलाई एक जाँचमा सोधपुछ गरिएको छ। महान्यायाधिवक्ता सेसन्ससँग राष्ट्रपति चुनावमा रुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सहयोग गरेको थियो, भन्ने प्रश्न सोधिएको जनाएको छ।

ससन्स ट्रम्प मन्त्रीमण्डलको पहिलो सदस्य हुन् जसलाई रुसको हस्तक्षेप प्रकरणमा सोधपुछ गरिएको हो। गत हप्ता अमेरिकी महान्यायधिवक्तासँग सोधपुछ गरिएका अमेरिकी न्याय विभागले पुष्टि गरेको हो।

सन् २०१६ को चुनावमा कथित रूपमा रुसको दस्तक्षेपको छानबिन एफबीआईका पूर्वनिर्देशक रोबर्ट मुलरको नेतृत्वमा चलिरहेको छ। मुलरले सन् २०१६ मेमा ट्रम्पले एफबीआईका निर्देशक जेम्स कोमीलाई हटाएर उक्त छानबिनमा बाधा पुर्याउन खोजेको त होइन? भने विषयमा पनि मुलरले जाँच गरिरहेका छन्।

अमेरिकी सञ्चारमाध्यमले सेसेन्ससँग कयौं घण्टासम्म सोधपुछ गरिएको जनाएको छ। यद्यपि ट्रम्पले मंगलबार उक्त सोधपुछलाई लिएर कुनै चिन्ता नभएको बताएका थिए। अमेरिकी गुप्तचर एजेन्सीहरूले अमेरिकी राष्ट्रपति चुनावको नतिजा ट्रम्पको पक्षमा ल्याउन रुसले प्रयास गरेको मानेका छन्। तर रुसले उक्त आरोपलाई लगातार अस्वीकार गर्दै आइरहेको छ।
मुलरको जाँच अब ट्रम्पको मन्त्रीमण्डलसम्म पुगेको छ। जेफ सेसेन्स ट्रम्पको चुनाव अभियानका वरिष्ठ सल्लाहकार रहँदा उनको सम्पर्कमा रुस थियो।

सेसन्ससँग एफबीआई निर्देशक जेम्स कोमीलाई किन हटाइएको थियो भन्ने विषयमा जानकारी हुन सक्ने अनुमान गरिएको छ। उपराष्ट्रपति माइक पेन्स, ट्रम्प आफै र उनकी छोरी इवान्कासहित ट्रम्प प्रशासन र उनको चुनावी अभियानसँग जोडिएका केही व्यक्तिहरू हुन्। पछिल्लो समयमा तीमध्ये एक स्टिव बेनन पनि मुलरसँग मिल्न सक्ने समाचार आइरहेको छ।

मुलरको जाँचमा अहिलेसम्म कोकोसँग सोधपुछ भइसकेको छ भन्ने विषयमा सार्वजनिक रुपमा जानकारी आएको छैन। तर केही नाम भने बाहिर आएका छन्। यसमा कोमीको नाम पनि परेको छ। एफबीआई प्रमुखको पदबाट हटाइएपछि कोमीसँग पनि सोधपुछ भइसकेको समाचारले जनाएको थियो।

मुलरको जाँचका क्रममा अहिलेसम्म ४ जनामाथि आपराधिक आरोप लगाइसकेको छ। राष्ट्रपतिका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फेनलाई रुसी राजदूतसँगको भेटघाटका विषयमा एफबीआईसँग झुठो बोलेकोमा दोषी ठहर्याइएको थियो।त्यसैगरी चुनावी अभियानका एक अन्य सल्लाहकार जर्ज पापाडोपलसलाई पनि एफबीआईलाई गलत जानकारी दिएकोमा दोषी पाइएको छ।

प्रतिक्रिया दिनुहोस्