हालेप अस्ट्रेलियन ओपनको फाइनलमा



मेल्बर्न, (एजेन्सी)
विश्व नम्बर एक सिमोना हालेपले रोमाञ्चक खेलको नतिजा उल्ट्याएर अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाएकी छन्। बिहीबार रड लेभर एरेनामा हालेप निर्णायक सेटमा ५–६ र १५–४० ले पछि परेर सेमीफाइनलबाट बाहिरिन नजिक थिइन्। तर लगातार चार अंक बटुलेर रोमानियाकी खेलाडीले २०१६ की च्याम्पियन एन्जेलीक केर्बरलाई ६–३, ४–६, ९–७ ले हराएकी थिइन्।

हालेपले पहिलो सेट जितेर दोस्रो सेटमा ५–४ को स्थितिमा दुई म्याच प्वाइन्ट गुमाइन्। सेट बराबर भएपछि खेल निर्णायक सेटमा पुगेको थियो। उनले पहिलो सेटमा ५–० र दोस्रो सेटमा ४–१ को अग्रता बनाएर एकोहारो जित हात पार्ने संकेत गरेकी थिइन्। तर जर्मन खेलाडी लयमा फर्केपछि हालेपलाई जित हात पार्न कडा संघर्ष गर्नुपरेको थियो।

शनिबार हालेपले डेनमार्ककी कारोलिन वजनियाकीसँग पहिलो ग्रान्डस्लाम उपाधिका लागि खेल्नेछिन्। वजनियाकी पनि पहिलो ग्रान्डस्लामकै खोजीमा रहेकी छिन्। उनले यसअघिको सेमिफाइनल खेलमा बेल्जियमकी एलीस मर्टेन्सलाई सीधा सेटमा पराजित गरेकी थिइन्। प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फ क्रोएसियाका मारिन चिलीच फाइनलमा पुगेका छन्। चिलीचले ब्रिटेनका काएल एडमन्डलाई ६–२, ७–६, ६–२ ले हराएका थिए। चिलीच पहिलो पटक मेलबर्नमा फाइनल पुगेका हुन्। उनको सामना रोजर फेडेरर वा हेओन चुंगसँग हुनेछ।

प्रतिक्रिया दिनुहोस्