भँगरावासी व्यावसायिक कफी खेतीतर्फ आकर्षित



दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. ९ भँगाराका कृषकहरु विगत चार वर्षदेखि व्यावसायिक रुपमा कफी खेतीमा लागेका छन् ।

खेतवारीमा अन्नवाली लगाउने जनशक्तिको अभाव र लगाएको अन्नवाली पनि बाँदरले खाईदिने समस्याले हैरान परेपछि यहाँका अधिकांस कृषकहरु व्यावसायिक कफी खेती शुरुवात गरेका हुन् । गाउँका १ सय १६ जना कृषकले खेतवारीमा अन्नवाली लगाउन छाडेर कफि रोपेका छन् । कफि खेतीका लागि प्रसस्त जमिन र उपयुक्त बातावरण भएकाले यसतर्फ कृषकहरुको मोह बढेर गएकमो स्थानिय चन्द्रबहादुर थापाले बताए ।

उनले भने मकै, गहुँ, धान जस्ता बालीनाली लगाएदेखि बाँदरले हैरानै पार्छ, गाउँमा जनशक्ति पनि पाईदैन बरु कफी लगाए बर्षको एकपटक टिप्न सहज हुन्छ उनले भने । उनले आफुले मात्रै झण्डै १५ रोपनी क्षेत्रफलमा कफी रोपेको र यस वर्षदेखि केहि बोटमा फल समेत लागेको बताए ।

कफी खेतनीको विस्तार र प्रवद्र्धनका लागि कृषकहरुले भँगरा कफी सहकारी संस्था समेत गठन गरेका छन् । यो सहकारीमा स्थानिय १ सय १६ जना कृषक आवद्ध छन् । उनिहरु मध्ये अधिकांसल एक सय भन्दा बढिको सख्ंयामा कफी रोपेका छन् भने केहिले थोरै मात्रामा लगाएको कृषक थापाले जानकारी दिए ।

कफीको मुल्य बजारमा समेत राम्रो पाईन र विक्रिको समस्या पनि नभएकाले कृषकहरुले अन्य पेशा छाडेर यसतर्फ लागेको उनले बताए । गाउँबाट बढ्दो युवा पलायनदरलाई कम गर्नका लागि पनि सहकारीले विभिन्न काम गर्दै आएको छ । स्थानियले सहकारी मार्फत कफीमात्र हैन कुखुरापालन, बाख्रापालन र मौरीपालन जस्ता व्यावसाय समेत शुरु गरेका छन् ।

कफि खेतीको शुरुवातसँगै कफि संकलन केन्द्र समेत निर्माण गर्न लागिएको छ । स्थानिय गैरसरकारी संस्था सोर्डेक नेपालद्धारा संचालित गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कफी संकलनका लागि दुई कोठे भवन निर्माण शुरु गरिएको हो ।

करिब १५ लाख रुपैयाको लागतका भुकम्प प्रतिरोधी संकलन केन्द्रको गत महिनादेखि निर्माण कार्य शुरु भएको सोर्डेक नेपालका कार्यक्रम अधिकृत रमेशप्रसाद रिजालले जानकारी दिए । कृषकहरुले उत्पादन गरेको कफी, अलैची, तरकारी, मह, खसीबोका संकलन गर्ने र एकीकृत रुपमा बजारमा पठाउने उद्धेश्यले संकलन केन्द्र निर्माण गर्न लागिएको उनले बताए ।

संकलन केन्द्र बनेपछि कृषकहरुलाई बजारको समस्या हुँदैन । उनिहरुले उत्पादन गरेका सवै बस्तुहरु संकलन गरेर सहकारीमार्फत विक्रि गर्नका लागि बजार पठाईने उनले बताए । सवै कृषकले लगाएको कफी खेतीले पुर्ण रुपमा उत्पादन हुन थालेपछि बार्षिक एक करोड भन्दा बढि आम्दानी लिन सकिने रिजालले जानकारी दिए ।

कृषकहरुको सुविधालाई मध्यनजर गर्दै संस्थाले रु ६ लाख रुपैया सहयोग गरेको छ भने बाँकी रकम सहकारी र स्थानिय कृषकहरुको सहयोगमा जग्गा व्यवस्थापन गरेर पक्की भवन निर्माण गर्न लागिएको बताइएको छ

प्रतिक्रिया दिनुहोस्