गुणस्तरीय शिक्षाका लागि स्थानीय तहमै शैक्षिक नीति



कालीवहादुर मल्ल, कालिकोट ।

जिल्लाको शैक्षिक गुणस्तर बृद्धि गर्न स्थानीय तहहरुले शैक्षिक नीति बनाउन थालेका छन । पचालझरना गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

गाउँपालिकाले शैक्षिक नीति सार्वजनिक गर्दै अभिभावकले आफ्नो आम्दानीको २० प्रतिशत र गाउँपालिका ३० प्रतिशत लगानी गर्ने शिक्षा नीति सार्वजनिक गरेको छ ।

गाउँपालिका भित्रका सबै बिद्यालयमा दरबन्दी पूर्ण गर्ने, बिद्यालयमा अनिवार्य बालमैत्री खानेपानी, छात्र÷छात्रा शौचालयको ब्यवस्था, कक्षा ८ सम्मको परीक्षा गाउँपालिका स्थरीय गर्ने, हरेक बिद्यालयमा शैक्षिक क्रियाकलाप र शुक्रबारिय कार्यक्रम अनिवार्य गर्ने शिक्षा नीति सार्वजनिक गरेको छ ।

त्यस्तै, कम्प्युटर र अंग्रेजी भाषा शिक्षा अनिवार्य बनाउने, बिद्यालयमा प्रधानाध्यापकबाहेक अन्य शिक्षक शिक्षिकाहरुलाई बिद्यालय अवधिमा मोवाइल निषेध गर्ने नीति पनि सार्वजनिक गरेको गरेको छ ।

बिद्यालयमा ट्युसन बन्दगरि कोचिङ्ग कक्षा संचालन गर्ने त्यसका लागि गाउँपालिकाले बिद्यालय बार्षिक ५० हजार रुपैयाँ उपलब्ध गराउने नीति लिएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए । ‘बिद्यार्थी मासिक हाजिरीका आधारमा बिद्यालयले बिद्यार्थी घरमा पत्रचार गर्नुपर्ने छ ।’ उनले भने,‘गाउँपालिकाको शैक्षिक गुणस्तर बढाउन शिक्षा नीति नयाँ बनाउनु परेको हो ।’

बिद्यालय परीक्षामा राम्रो नतिजा ल्याएमा शिक्षकलाई पुरुस्कृत गर्ने नीति समेत लिएको गाउँपालिका अध्यक्ष सेजुवालले बताए । ‘शैक्षिक सुधार नगरी गाउँपालिकाको अन्य विकास संम्भव नै छैन् ।’ उनले भने,‘शैक्षिक गुणस्तर बृद्धिका लागि सबै प्रकारका नयाँ कानुन बनाइएको छ ।’

गाउँपालिका भित्रका सबै बिद्यालयका प्रधानाध्यापक, शिक्षक, राजनीतिक दल, जनप्रतिनीधि, अभिभावक, गाउँपालिकाका पदाधिकारी र शिक्षासँग सराकोरवालाहरुको गोष्ठीको आयोजना गरेर शिक्षा नीतिलाई गाउँपालिकाले पारित गरेको गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले बताइन् । ‘गाउँपालिका सबै सरोकारवालाहरुको गोष्ठीले यो निर्णय गरेको हो ।’ उनले भनिन्,‘यसले गाउँपालिका भित्रको शिक्षा नीतिमा एकरुपता कायम गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्