ताङतिङ, करापुडाँडा र याङ्जाकोट होमस्टे ट्रेल अन्वेषण भ्रमण सम्पन्न



टंकराज अधिकारी, पोखरा ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं ४ को संयोजनमा कास्कीको ताङतिङ गाउँबाट करापुडाँडा हुँदै याङ्जाकोट जोड्ने पदमार्गको प्रवद्र्धन एवम् विकासका लागि चारदिने अन्वेषण भ्रमण सम्पन्न गरेको छ ।

कास्कीको मादी गाँउपालिका २ मा पर्ने ताङतिङ गाउँबाट करीव ३ हजार मिटर उचाईमा रहेको करापुडाँडा हुँदै मादी ३ को याङ्जाकोटका साथै लम्जुङको घले गाँउलाई जोड्दा घरबास (होम स्टे) कार्यक्रमका साथै त्यस क्षेत्रको पर्यटकीय बिकासमा टेवा पुग्ने सोच राखी सम्भावना अध्ययन भ्रमण गरेको हो ।

भिटोफको केन्द्र एवम् प्रदेशका कृयाशिल पदाधिकारी, ग्रामिण पर्यटनका क्षेत्रमा कलम चलाउने सञ्चारकर्मी एवम् पर्यटन व्यवसायीको प्रतिनिधित्व गराउँदै उक्त क्षेत्रको अन्वेषण भ्रमण सुरु गरेको हो ।
पदयात्रा र घरवास पर्यटन एक अर्कामा प्रत्यक्ष अन्तर सम्बन्धित भएका कारण यी दुबैलाई एक साथ अघि बढाउन भिटोफले ‘घरवास–पदयात्रा’ पर्यटनको अवधारणा अघि बढाएको भिटोफ प्रदेश नं ४ का अध्यक्ष रवीन्द्रराज पौडेलले बताऐ ।

पदमार्गहरू छोटिदै गएका अवस्थामा घरवास सञ्चालन भएको एक ठाउँबाट अर्को ठाउँमा पर्यटकलाई पदयात्रा सहित खाना तथा आवासको सुविधा उपलब्ध गराउन सकिने भएका कारण यो अभियानको सुरुवात गरिएको अध्यक्ष पौडेलको भनाइ छ ।

कास्कीको मादी गाउँपालिकामा पर्ने पर्यटकीय ताङतिङ गाउँ र याङ्जाकोटलाई करापुडाँडा हुँदै जोड्ने कार्यले यस क्षेत्रको पर्यटकीय सम्भाव्यतालाई थप उजागर गर्ने मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले बताउदै यस अभियानको सफलताका लागि गाउँपालिका कृयाशिल भएर लाग्ने उनले बताए ।

प्रचारप्रसार एवम् पूर्वाधार अभावका कारण नेपालका धेरै पर्यटकीय गाउँ विकासका दृष्टिले अझै ओझेलमा परेको भिटोफका सल्लाहकार डा.प्रेम शर्माले बताए ।“सुन्दर गाउँका वस्तीलाई व्यवस्थित गर्दै आयआर्जन गर्न सकिने कुरालाई स्थानीयवासीका साथै राज्यले पनि प्राथमिकतामा राख्नु आवश्यक छ,” – उनले भने ।

भिटोफ प्रदेश नं ४ का पूर्व अध्यक्ष तारानाथ पहारीले भिटोफकै पहलमा धेरै पर्यटकीय गाउँमा घरवास कार्यक्रम सञ्चालन भएको बताउँदै घरवास सञ्चालन भएका एक ठाउँबाट अर्को ठाउँलाई पदमार्ग मार्फत जोड्ने अभियानले गाउँमा आर्थिक समृद्धि ल्याउने विश्वास व्यक्त गरेका थिए ।

भिटोफका केन्द्रीय कोषाध्यक्ष एवं कार्यक्रमका संयोजक कृष्णबहादुर सुवेदीले नेपालका गाउँहरू पर्याप्त पर्यटकीय सम्भावना युक्त भए पनि तिनीहरूको सदुपयोग हुन नसकेको बताए । मादी गाउँपालिका वडा नं २ का अध्यक्ष एकजंग गुरुङले प्रकृति र संस्कृतिलाई जोड्न सके मात्र पनि यहाँका धेरै गाउँले विकासमा फड्को मार्ने दावी गरे ।

पोखराहुँदै ताङतिङबाट सुरु भएको पदमार्ग अन्वेषण भ्रमण करापुडाँडा हुँदै याङ्जाकोटमा गएर समापन गरएिको कार्यक्रममा ताङतिङ होमस्टेका अध्यक्ष पसकुमारी गुरुङ, याङ्जाकोट होमस्टे अध्यक्ष रोशन गुरुङ, संरक्षण ब्यवस्थापन समिति याङ्जाकोट (एकयाप)का अध्यक्ष नारायण गुरुङ, भिटोफ प्रदेश नं ४ का सचिव रमेश खत्री लगाएतले घरबास कार्यक्रमले समुदायमा ल्याएको परिवर्तनका बारेमा आ–आफनो अनुभव ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्