कान्ति लोकपथ निर्माण, ६० वर्षमा ६० प्रतिशत काम



सुरेश तामाङ, काठमाडौं

रकारले विशेष प्राथमिकतामा राखेर काठमाडौं–हेटाँडा पुग्ने वैकल्पिक मार्गको रूपमा निर्माण कार्य शुरू गरेको कान्ति लोकपथ निर्माणको कार्य सुस्त गतिमा अगाडि बढेको छ। ६० वर्षअघि ट्र्याक खोलिए पनि सडकको अहिलेसम्म ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ।

७९ किलोमिटर सडक खण्ड रहेको यस लोकपथमा ललितपुरको टिकाभैरव पुलदेखि मकवानपुरको बुद्धचोकसम्म जोडिएको छ। हालसम्म ललितपुर खण्डमा डेढ किमि र मकवानपुर खण्डमा १० किमि गरी साढे ११ किमि सडक खण्ड कालोपत्रे भइसकेको कान्ति लोकपथ सडक योजनाका इन्जिनियर नरेन्द्रप्रसाद भट्टले बताउनुभयो।

योजनाले यस आर्थिक वर्षभित्र ललितपुर खण्डमा १४ किमि र मकवानपुर खण्डमा १५ गरी २९ किमि सडक कालोपत्र लक्ष्य लिएको छ। योजनाले कान्ति लोकपथको सबै सडक खण्डमा कालो पत्र गर्न ठेक्कासमेत लगाइसकेको छ।

अहिले सडक कालोपत्रे गर्ने, चौडा गर्ने, सडकको संरचना तयार पार्ने, ग्राबेलिङ गर्नेलगायतका काम योजनाले एक साथ गर्दै आइरहेको छ। योजनाका इन्जिनियर भट्टले भन्नुभयो– ‘निश्चित समयमै काम सम्पन्न गर्न सडकमा एकसाथ काम भइरहेको छ। निर्माण पक्षले पनि निश्चित समयभित्र काम सक्ने गरी अहोरात्र खटिरहेको छ।’

ललितपुर र मकवानपुर खण्ड गरी योजनाले समय मै काम सम्पन्न गर्न १४ वटा ठेक्का लगाएर काम धमाधम भइरहेको जनाएको छ। सडक चौडा पार्ने र सडक संरचना बनाउने कार्य अन्तिम चरणमा पुगेको छ।

माघ महिनाभित्र सडक चौडाको काम सम्पन्न गरेर ग्राबेलिङ गर्ने लक्ष्य योजनाको छ। तर डेढ किमि जति ट्र्याकलाई चौडा गर्न विष्फोटक पदार्थ चाहिएकाले त्यो पूरा हुन सकेको छैन। यस सडक खण्डको ललितपुर खण्डमा रानीबास, काल्चे, मौरीभिरलगायतका सडक खण्डमा ट्र्याक मात्रै रहेको र चौडा गर्न विष्फोटक पदार्थको आवश्यकता परेकाले सेनासँग माग गरेको भट्टले जानकारी दिनुभयो।

योजनाले विष्फोटक पदार्थ उपलब्ध गराउन नेपाली सेनालाई बारम्बार ताकेता गरे पनि पाउन नसकेपछि सडक विभागसँग सहकार्य गरी छिट्टै प्रक्रियाबाट खरिद गर्ने कि सेनाबाटै खरिद गर्ने भन्ने विषयमा विभागसँग छलफल भइरहेको योजनाका इन्जिनियर भट्टले बताउनुभयो। योजना कार्यालयले सडकको चौडाइ ३–५ मिटर रहेको र त्यसलाई साढे ८ मिटर चौडा गर्ने लक्ष्यअनुरूप योजनाले सडक चौडा गरिरहेको छ।

यस कार्यका लागि योजनाले बहुवर्षीय ठेक्का प्रणालीमार्फत कन्टेक प्रालि, एससीसी मोतिदान जेभी, महालक्ष्मी एण्ड ब्रदर्स जेभी, कञ्चनजंगा गोल्डेन ग्रुप, हनुमान कन्स्ट्रक्सनलाई ठेक्का दिइसकेको छ। तर निर्माण कम्पनीले पर्याप्त काम गर्न सकेको छैन।

लोकमार्ग सञ्चालनमा आएपछि ललितपुरको सातदोबाटो (चापागाउँ दोबाटो) हुँदै सुनाकोठी, चापागाउँ, टीकाभैरव, तिनपाने भन्ज्याङ, झाँक्रीडाँडा, छपेली, काल्चे, बाग्मती नदी, बगुवा, ठिंगन, मकवानपुरको आलेभन्ज्याङ, बुद्धचोकसम्म (९० किमी) ३ घण्टामा पुग्ने योजनाको दाबी छ।

कान्ति लोकपथ बनिसकेपछि ललितपुरका दुर्गम दक्षिणी–पूर्वी भेग र मकवानपुरका उत्तरी भेगका बासीको जीवनशैली परिवर्तन गर्ने विश्वास गरिएको छ। कृषि र पर्यटकीय क्षेत्रको विकास भई आर्थिक गतिविधिमा पनि यसले योगदान पुग्ने अनुमान छ।

प्रतिक्रिया दिनुहोस्