स्मार्ट सिटीमा अटाउला अपाङ्गमैत्री पार्क ?



टीका बन्धन

नगर सानो होस् या ठूलो, उपत्यकाभित्र होस् या बाहिर मुलुकका धेरै शहरमा स्मार्ट सिटीका महत्त्वाकांक्षी योजना अघि सारिएका छन्। ठूला र महत्त्वाकांक्षी योजना अघि सार्दैमा मात्र होइन, विद्यमान संरचना र सम्भावनालाई मूर्तरूप दिइएको खण्डमा स्मार्ट सिटी बन्न सक्ने चर्चासमेत गरिन्छ। त्यसै सम्भावनाभित्र बहसको विषय बनेको छ ‘युनिर्भसल डिजाइन’ अर्थात् विश्वव्यापी संरचनाका सिद्धान्त। यही संरचनाले अपाङ्ग, जेष्ठ नागरिक, बालबालिका, गर्भवती महिलाका समस्या र विविधता समेट्छ।

अहिलेका विद्यमान पार्क, उद्यान र अन्य सार्वजनिकस्थल मात्रै पनि ‘युनिर्भसल डिजाइन’ मा बदल्ने हो भने स्मार्ट सिटीको झल्को महसुस गर्न सकिने सरोकारवालाहरू बताउँछन्। तर, अहिलेका शहरी सार्वजनिक संरचना, पार्क र उद्यान नामै मात्रका अपाङ्ग मैत्री छन्। उपत्यकाका सार्वजनिक उद्यानमध्ये केशरमहलस्थित गार्डेन अफ ड्रिम्स अन्यत्रको तुलना केही हदसम्म अपाङ्गमैत्री रहेको बताइन्छ। सो गार्डेनको मुख्य प्रवेशद्वार ह्विलचेयरमैत्री नभए पनि भित्री संरचना नियालेपछि त्यो कठिनाइ केही समयालाई भए पनि बिर्साउन सक्ने अपाङ्गता भएका व्यक्तिहरूको अनुभव छ।

‘त्यहाँको ‘मेन इन्ट्रान्स’ को संरचनालाई पनि थोरै मात्र बदल्ने हो सो गार्डेन हामीहरू जस्ता व्यक्तिका लागि ‘ए वान जोन’ बन्न सक्छ’ –एक ह्विलचेयर प्रयोगकर्ताले नेपाल समाचारपत्रसँग भने। शिक्षा मन्त्रालय मातहतमा सञ्चालनमा रहेको सो गार्डेनमा अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई प्रवेश शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। प्रवेशद्वारको व्यवहारिक कठिनाइबारे जिज्ञासा राख्दा पार्कका कार्यकारी निर्देशक ध्रुवराज रेग्मीले आगामी वर्षदेखि अपाङ्गमैत्री अर्को द्वार खोल्ने पहल अघि बढाइएको बताए।

‘यो कुरा लामो समयदेखि खट्किएको हो, त्यसैले यस्तो पहल अघि बढाइएको छ, सम्भवतः अर्को वर्षदेखि त्यस्तो कठिनाइ हट्नेछ, भित्री संरचना पनि केही हेरफेर हुनेछ’ –उनले भने। मुलुककै पहिलो महानगर काठमाडौंले धेरै फराकिलो ठाउँ ओगटे पनि महानगर मातहत पर्याप्त खुला क्षेत्र र सार्वजनिक उद्यान र पार्क नभएको पटक–पटक चर्चामा आउने गर्छ। महानगर मातहत हाल रत्नपार्क, बालाजुपार्क, धुम्बाराहीको शंखपार्क सञ्चालनमा छन्। त्यसै गरी विष्णुमती लिंकरोडसँग जोडिएका १८ र २० वडाका खुला उद्यानसहित २१ वडाभित्रको लगनपार्क पनि महानगर मातहत नै छन्।

नक्सालको नारायण चौरको पार्क, बालुवाटारको खुला उद्यानसहित उपत्यकाका स–साना खुला उद्यानको व्यवस्थापन समुदाय र क्लबले सम्हाल्ने गरेका छन्। विभिन्न प्रकारका उद्यानका योजना अघि सार्ने गरिएको तीनकुने अझै व्यवस्थित बन्न सकेको छैन। ‘एक वडा एक पार्क’ का योजना निर्वाचनका बेला छारो हाल्ने चुनावी एजेन्डाका रूपमा दोहोर्याउने गरिन्छ। उपत्यकाकै पुरानोमध्येको एक शहीद (त्रिभुवन) पार्कको भौगोलिक बनावट अपाङ्गमैत्री नरहेको बताइन्छ। ४÷५ वर्षअघिसम्म अव्यस्थित बनेको र डम्पिङ साइटझैं देखिने नारायणचौर स्थानीय समुदायको पहलमा मर्मत सम्भार भएपछि पुनर्जीवन पाएको छ। इच्छाशक्ति भएपछि सम्भव छ भन्ने नमुना त्यहाँ देख्न सकिन्छ, पछिल्लो समयमा निकै आकर्षक बनेको छ।
ह्विलचेयर गुडाउन मिल्ने भित्री बाहिरी संरचना भएकाले अपाङ्गता भएका व्यक्तिहरू सो स्थानको नाम लिन छुटाउँदैनन्। उपत्यकाकै मध्यभेग, केन्द्रबिन्दुको परिचय दिने रत्नपार्क २ वर्षअघि मर्मत सम्भारपछि पुनः सञ्चालनमा आएपछि पार्क भन्न लायक बनेको टिप्पणीसमेत भएको थियो। पार्क प्रवेश शुल्क, वाइफाई सुविधा, शौचालय र अन्य पूर्वाधार थपेपछि उपत्यकाबासी र उपत्यका बाहिरका बुटवा र आगन्तुकको पायक पर्ने बिसौनी बनेको छ। अपाङ्गता भएका र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। पार्कभित्र ह्विलचेयर गुडाउने गरीको संरचना भए पनि त्यो पूर्ण संरचना भने नरहेको सरोकारवालाहरूको गुनासो छ।

ह्विलचेयर गुडाउन सहयोगी चाहिने र गुडाउने संरचना साँघुरो हुँदा दोबाटोमा सहजै घुमाउन नसकिने प्रयोगकर्ता बताउँछन्। ह्विलचेयर  प्रयोगकर्ताको यस्तै गुनासो बढ्दै गएपछि विद्यमान संरचना सुधार्न महानगरपालिकाले गम्भीर चासो लिएको महानगरका वातावरण महाशाखा प्रमुख हरि कँुवरले बताए। ‘संरचना व्यवहारिक भएन भन्ने गुनासो आएको छ, हामीहरू अपाङ्ग महासंघ र ह्विलचेयर प्रयोगकर्ताहरूसँग पर्याप्त सर–सल्लाह गरेर सुधार्ने तयारीमा जुटेका छौं।’ –उनले भने।

महानगर मातहतका अन्य पार्क अपाङ्गमैत्री नभएको स्वीकार्दै कुँवरले बालाजु र शंखपार्क पुनःसंरचनाका लागि गुरुयोजना बनाउने काम अघि बढेको जानकारी दिए। उनले थपे– ‘सार्वजनिक पार्क थोरै छन् भएकामध्ये केही पार्कलाई अपाङ्ग, बालबालिका र वृद्धवृद्धामैत्री बनाउने गरी गुरुयोजना तयार भइरहेको छ।’ पुनर्निर्माणका क्रममा निकै चर्चा बटुलेको र पटक–पकट विवादमा समेत तानिएको रानीपोखरी परिसर पनि अपाङ्गमैत्री बनाउने योजना अघि सारिएको छ।

ललितपुर महानगरभित्र पर्याप्त पार्क नभए पनि बाग्मती करिडोर र आसपासका यूएन, राजतीर्थ, शहीद, बीपी, मनमोहनलगायतका पार्क क्षेत्र तोकिएको छ। यूएनलगायतका पार्क बनाउन शुरु भएको वर्षांैसम्म पनि सबै पार्क व्यवस्थित भने भइसकेका छैनन्। ज्वागल आसपासको यूएन पार्कको भित्री संरचना केही हदसम्म अपाङ्गमैत्री बनाइए पनि सबैतिर त्यस्तो देखिँदैन। महानगरभित्रका सरकारी स्वामित्वका खुला ठाउँलाई व्यवस्थित गर्दै अपाङ्गमैत्री बनाउने योजना अघि सारिएको एक अधिकारीले बताए।

भक्तपुरमा आम सर्वसाधारणलाई लक्षित पार्क र उद्यानहरू पर्याप्त र व्यवस्थित छैनन्। पार्क बनाउने योजना योजनामा सीमित हुँदा महत्त्वाकांक्षी परियोजना त्यसै थन्किएका छन्। मध्यपुर थिमीको कमेरोटार आसपासमा सार्क स्तरीय पार्क र दधिकोटमा नेपाल–भारतमैत्री पार्क बनाउने योजना अघि सारिएको वर्षांै भयो, तर निर्माणकार्य लामो समयदेखि अलपत्र परेको छ।
त्यहाँका नगरभित्र घुमफिर गर्ने सार्वजनिक स्थलमध्ये पोखरी पनि हुन्, पोखरीको संख्या धेरै भए पनि सबै व्यवस्थितचाहिँ छैनन्। दूधपाटी क्षेत्रका सिद्धपोखरी, भाजुपोखरी, भक्तपुर प्रवेशद्वारसँगैको गुहेपोखरी, कमल विनायकको कमलपोखरी, सैनिक विद्यालय परिसरभित्रको रानीपोखरी त्यहाँका प्राचीन गहना हुन्। यी सार्वजनिकस्थल परिसरमा ‘युनिर्भसल डिजाइन’ संरचना नभएको र त्यस्तो बनाउन राष्ट्रिय अपाङ्ग महासंघले त्यहाँका नगरपालिकाको ध्यानाकर्षण गराएको जनाएको छ। सिद्धपोखरी परिसरमा अपाङ्गमैत्री संरचना बनाउन भक्तपुर नगरपालिकाले चासो लिएको र महासंघ पनि सो कार्यका लागि हातेमालो गर्न इच्छुक रहेको महासंघका एक पदाधिकारीले बताए।

यसैबीच सो महासंघले उपत्यकाका उद्यान, सार्वजनिकस्थल, सार्वजनिक सेवा प्रदायक निकायलगायतका स्थानको संरचना अपाङ्गमैत्री भए÷नभएको परीक्षण गरिरहेको छ। ३ वटा जिल्लाका १ सय ५० भन्दा बढी स्थलको पहुँच परीक्षण भइरहेको र अध्ययनले विद्यमान पक्ष केलाउँदै सुधार्न सकिने पक्षलाई समेटेर निष्कर्षसमेत निकालिने महासंघ अध्यक्ष सुदर्शन सुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस्