राष्ट्रियसभा निर्वाचन मनोनयन १७ निर्विरोध



सुनील महर्जन, काठमाडौं

राष्ट्रियसभा निर्वाचनका लागि बुधबार ८३ जनाको उम्मेदवारी परेको छ। ५६ सदस्यका लागि सो उम्मेदवारी परेको हो। सातवटै प्रदेशको उच्च अदालत रहेको जिल्लामा उम्मेदवारी दर्ता गरिएको थियो।

सबैभन्दा कम उम्मेदवारी परेको प्रदेश २ मा ३ महिलासहित १ दलित र १ अपांग÷अल्पसंख्यक निर्विरोध भएका छन्। प्रदेश नं २ र ३ मा खुलातर्फका ३ सिटका लागि ४ जनाको उम्मेदवारी परेको छ। सातवटै प्रदेशमा ९ पार्टीले उम्मेदवारी दिएका छन्। प्रदेश ६ र ७ मा भने कांग्रेस, एमाले र माओवादी केन्द्रले मात्र उम्मेदवारी दिएको आयोगले जनाएको छ।

आयोगले उच्च अदालत रहेका जिल्ला मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीको सदरमुकाममा उम्मेदवार मनोनयन दर्ता गराउने प्रबन्ध मिलाएको थियो। उम्मेदवार दर्तासँगै माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनका कार्यक्रम शुरू भएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेश नम्बर १ मा १२ जनाको मनोनयन परेकामा एमालेका तर्फबाट ६, कांग्रेसका तर्फबाट ४, माओवादीका तर्फबाट १ र राप्रपाका तर्फबाट १ जनाले दर्ता गराएका हुन्।

यसैगरी प्रदेश नं २ मा ९ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ। कांग्रेसबाट २ जना, एमाले र माओवादी केन्द्रबाट एक÷एक जना, संघीय समाजवादी फोरम र राजपाबाट दुई÷दुई जना र नेपाल संघीय समाजवादी पार्टीबाट १ जनाले उम्मेदवारी दिएका हुन्।

प्रदेश नं ३ बाट १७ जनाको उम्मेदवारी परेको छ। वाम गठबन्धनका तर्फबाट एमालेले ६ तथा माओवादी केन्द्रले २, कांग्रेसले ४, नेपाल मजदुर किसान पार्टीले ४ र राप्रपाका १ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

यसैगरी प्रदेश नम्बर ४ बाट १२ जनाको उम्मेदवारी परेको छ। वाम गठबन्धनबाट ६ जना, कांग्रेसबाट ४ जना र राष्ट्रिय जनमोर्चाबाट २ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

प्रदेश नं ५ मा ११ जनाको उम्मेदवारी दर्ता भएको छ। घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा एमालेका ४, कांग्रेसका ४, माओवादी केन्द्रका २ र राष्ट्रिय जनमोर्चाका १ जनाले मनोनयन दर्ता गराएका छन्।

यस्तै प्रदेश नं ६ बाट १२ जनाको उम्मेदवारी परेको छ। वाम गठबन्धनका तर्फबाट एमालेले ५ तथा माओवादी केन्द्रले ३ जना र कांग्रेसले ४ जना उम्मेदवारको मनोनयन दर्ता गरेका छन्। प्रदेश ७ मा १० जनाले मनोनयन दर्ता गरेका छन्।

प्रदेश नं. ७ मा कांग्रेसबाट ४, एमालेबाट ४, माओवादी केन्द्रबाट २ गरी १० जनाले मनोनयन दर्ता गराएका छन्। प्रत्येक प्रदेशबाट कम्तिमा ३ जना महिला, १ जना दलित र १ जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित ८ जना निर्वार्चित हुनेछन्।

यसैबीच ३ नम्बर प्रदेशबाट उम्मेदवारी दर्ता गर्न गएका एमालेका उम्मेदवारहरू जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम समावेश भएको मतदाता नामावलीको उतार नलिइकन गएकाले फर्किनुपरेको थियो। उक्त उतार लिएर नाम दर्ताका लागि तोकिएको मानभवनस्थित जिल्ला समन्वय समितिको भवनमा पुनः गई मनोनयन दर्ता गरेका थिए। एमालेकी दिलकुमारी थापा रावलले भने शुरुमै उम्मेदवारी गराउनुभयो।

एमालेको तर्फबाट ३ नम्बर प्रदेशबाट उम्मेदवारी दिनेमा बलराम बास्कोटा, वेदुराम भुसाल, सिंहबहादुर विक, उदय शर्मा र रामचन्द्र राई हुनुहुन्छ। माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’ र गंगा पराजुलीले उम्मेदवारी दर्ता गराउनुभएको छ।

अन्य कोटाबाट उम्मेदवारी दर्ता गराउन गएका माओवादी उम्मेदवार नरेन्द्र शाहले १५ मिनेट ढिलो भएकोले उम्मेदवारी दर्ता गराउन पाउनुभएन। मनोनयन दर्ताका लागि ४ बजेसम्मको अवधि तोकिए पनि उहाँ ४ः १५ मा राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो। उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन जाँदा उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसँगै कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको उतार गर्नुपर्ने आयोगले जनाएको छ। कांग्रेसबाट राधेश्याम अधिकारी, धना खतिवडा, मदनकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको थियो।

उम्मेदवारको सूचीमाथि दाबी विरोधका लागि आयोगले माघ ११ र १२ गते तोकेको छ। उम्मेदवारको मनोनयन पत्र र उजुरी निवेदनमाथि जाँचबुझ गर्दै निर्णय माघ १३ गते गरिनेछ। माघ १४ गते मनोनयका लागि उम्मेदवारी दिएका उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ भने माघ १५ गतेको समय नाम फिर्ताका लागि छुट्याइएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण माघ १५ गते नै गरिनेछ।

प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख राष्ट्रिय सभाका मतदाता हुन्। निर्वाचनमा कूल २ हजार ५६ मतदाता रहनेछन्। निर्वाचक मण्डलमा प्रदेशसभा र स्थानीय तहको मतभार फरक–फरक रहेको छ। प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ। संविधानको धारा ८६ मा राष्ट्रियसभा गठनसम्बन्धी व्यवस्था छ। यसमा ५९ जना सदस्य रहनेछन्। राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित ३ जना सदस्य हुनेछन्। राष्ट्रियसभा ६ वर्षको स्थायी सदन हुनेछ।

यसैबीच राष्ट्रियसभाको निर्वाचनका लागि बुधबार भएको मनोनयनमा १२ जना महिला निर्विरोध भएका छन्। प्रदेश नं १, २, ५ र ७ बाट ३ जनाका दरले सो संख्यामा महिला निर्विरोध निवार्चित भएका हुन्।

यद्यपि औपचारिक रूपमा अन्तिम नामावली प्रकाशनका बेला मात्र निर्विरोध घोषणा गरिनेछ। प्रदेश ३, ४ र ५ मा भन ३ भन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन हुनेछ। प्रदेश नंम्बर १ बाट निर्विरोध हुनेमा एमालेका नैनकला ओझा, माओवादीका विना पोखरेल र कांग्रेसका सरिता प्रसाईं, प्रदेश २ मा माओवादीका शशीकला दाहाल, कांग्रेसका मुक्ताकुमारी यादव र फोरमका प्रमिला कुमारी हुनुहुन्छ। प्रदेश ५ मा एमालेबाट कोमल वली, मीना बुढा र कांग्रेसबाट अनिता देवकोटा, प्रदेश–७ मा कांग्रेसबाट बद्री पाण्डे, तारादेवी जोशी, एमालेबाट शेरबहादुर कुवँर, कमला ओली र इन्दु कडरिया निर्विरोध निर्वाचित हुनुभएको हो।

यस्तै २ नं प्रदेशमा दलित कोटाबाट संघीय समाजवादी फोरमका रामप्रित पासवान र अल्पसंख्यकबाट राजपाका वृषेशचन्द्र लाल निर्विरोध निर्वाचित हुनुभयो। आयोगले माघ १५ गते औपचारिक रूपमा निर्विरोध भएको घोषणा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्