डीएसपीको अद्भूत सिर्जना



नेपाल समाचारपत्र
काठमाडौं
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक पोखरेल प्रहरी संगठनभित्र असल र इमानदार प्रहरी अधिकृतको रूपमा मात्र नभई अनौठो र अद्भूत कला सिर्जनाका लागि समेत परिचित हुनुहुन्छ।

कानुनका विद्यार्थी डीएसपी पोखरेलले कलाकारिताको ‘क’ पनि सिक्नु भएको छैन तर, उहाँले सिर्जना गरेको कला एक निपूर्ण कलाकारको कलाभन्दा कम छैन। विशेष गरी ‘कवाडी’ सामानहरूलाई संकलन गरी कला सिर्जना गर्ने अनौठो प्रतिभा उहाँमा छ। दाउरा बाल्न फालिएको काठ, जरा, लौरी र मुढाहरूबाट विभिन्न आकृतिका वस्तु निर्माण गर्नुका साथै घर–कार्यालयमा सजाउन लायक कला निर्माण गर्नुहुन्छ। ताप्लेजुङ जिल्लामा प्रहरी प्रमुख हुँदा आन्दोलनकारीबाट बरामद गरेका बाँसका भाटाले घेरवार गरी ठूलो उद्यान निर्माण गर्नु भएको छ।

त्यस्तै स्थानीय बजारबाट बरामद अवैध मदिराका जर्किनमाथि गमला, मसाल जुलुसमा प्रयोग भएका बाँसको लौरी संकलन गरी फूल बगैंचाको सजाउ तथा सुरक्षा घेरबार, सर्वसाधारणले आगो बाल्न फालेका काठका टुक्रा जोडेर कुर्ची, टेबल, बोर्डहरू र रूखको जरामा विभिन्न किसिमका जनावरको मुखाकृति बनाउनुहुन्छ। डीएसपी पोखरेल भन्नुहुन्छ– ‘संकलन गरी राखे कवाडी सामानबाट पनि कमालको आर्ट बन्दोरहेछ। उहाँले जुन आर्ट तयार पार्नुहुन्छ त्यसमा प्रयोग भएको सामान कहिले र कसरी प्राप्त भयो उक्त कुरासमेत उल्लेख गरिदिँदै आउनुभएको छ। फालिएका वस्तु कला कुँदेर पुनः प्रयोगमा ल्याउँदा आकर्षणमात्र नभई टिकाउसमेत हुने गरेको दाबी उहाँको छ। कागजका टुक्राटुक्रीबाट कार्यालयको भित्तामा आकर्षक डिजाइन तयार पार्ने, प्रहरीकै तोडफोड भएका तथा प्रयोगविहीन वस्तुलाई समेत कला सिर्जना गरी सजावट सामग्रीको रूपमा पुनः प्रयोगमा ल्याउन सकिने भनाइ उहाँको छ।

आफू कार्यालय प्रमुख रहेको प्रहरी कार्यालयमा उहाँले यस्तै किसिमको आर्ट सिर्जना गरी बिदाइ हुने गर्नुभएको छ। ‘म कुनै पनि वस्तुमा कला देख्छु, उहाँले थप्नुभयो– ‘त्यसैले त फालिएको वस्तु पुनः आकर्षक शैलीमा प्रयोग गर्न सक्ने बनाउँछु।’

प्रतिक्रिया दिनुहोस्