विद्यार्थीको भविष्यमाथि खेलबाड नगर



फरक–फरक नाम दर्ता गराउँदै विद्यार्थीको भविष्यमाथि पटक–पटक खेलबाड गरिरहेको नेसनल हेल्थ फाउन्डेसनका सञ्चालक शिलाकान्त झालाई जोगाउन सीटीईभीटीको एउटा समूह सक्रिय भएको खबरले सीटीईभीटीप्रति नकारात्मक सन्देश गएको छ । डडेल्धुरा हुँदै कारबाहीमा परी काभ्रेपलाञ्चोक आएका झाले नवीकरणका लागि जिम्मेवारी लिएको संस्थाको सञ्चालक समिति नै किर्ते गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयमा फरक–फरक नाममा दर्ता गराई एउटै नाममा नक्कली संस्था खडा गरेर पुनः नुवाकोट टेक्निकल इन्स्टिच्युटका नामबाट विद्यार्थीको रजिस्ट्रेसन गराएका छन् । विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने झा र त्यसको सञ्चालकविरुद्ध कारबाहीमा आनाकानी गर्ने सरकारी अधिकारीलाई पनि तत्काल अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आवाज उठिरहेको छ ।

कलेजको बदमासीविरुद्ध छनबिन गर्न गठित टोलीले प्रतिवेदन बुझाएको लामो समय भइसक्दासमेत त्यसका बारेमा प्रक्रिया अगाडि नबढाइनु ठगी जोगाउने प्रपञ्च भएको प्रस्ट हुन्छ । कलेज सञ्चालकले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको निष्कर्षसहितको प्रतिवेदन अध्ययन समितिले बुझाइसकेको छ । बनेपामा रहेको नेपाल पोलिटेक्निक स्कुलका प्रिन्सिपल मिस्टरकान्त मैनालीको टोलीले समेत नेसनल हेल्थ फाउन्डेसनले विद्यार्थी ठगी गरेको पुष्टि गरिसकेको छ । प्रतिवेदन सीटीईभीटीमा बुझाएपछि शुरु भएको कारबाही प्रक्रिया सुस्त र झारा टार्ने प्रकृतिको छ । सदस्य सचिव पुष्परञ्जन वाग्लेले कारबाही गर्न दिएको निर्देशनसमेत स्तर निर्धारण महाशाखाले अगाडि बढाएको छैन ।

नेसनलका सञ्चालक झाले राजनीतिक संरक्षण लिई गल्ती लुकाउन लाखौं रुपियाँ खर्च गरिरहेको बताइएको छ । डडेल्धुरामा कलेज सञ्चालन गरेका शिलाकान्त झाको कलेज तीन वर्षका लागि निलम्बन गरिएको छ । उक्त कलेज निलम्बन भएपछि त्यही कलेजमा गैरकानुनीरूपमा भर्ना लिएका विद्यार्थीहरूको रजिस्ट्रेसन नेसनल हेल्थ फाउन्डेसनका नामबाट भराएका थिए । पुनः नुवाकोट टेक्निकल इन्स्टिच्युटको नामबाट विद्यार्थीको फाराम भराएपछि ८० विद्यार्थीको बिचल्ली भएको थियो । ठगी गर्ने सञ्चालकहरूले नै विद्यार्थीलाई अर्काे वर्ष परीक्षा दिने तर कतै उजुरी नगर्ने कागजमा सहीसमेत गराएको बताइन्छ । सीटीईभीटीका कर्मचारीहरूको मिलेमतोमा अनुमति पाएको भन्दा दोब्बर विद्यार्थी भर्ना लिएपछि नुवाकोट टेक्निकल इन्स्टिच्युटका नाममा नक्कली फाराम भराइएको भए पनि रजिस्टर्ड हुन नसक्दा परीक्षाबाट वञ्चित हुनुपरेको छ । वार्षिक १ लाख ५० हजारका दरले करोडभन्दा धेरै रुपियाँ संकलन गरेर फरार भएका सञ्चालकहरू राजनीतिक दलको फेर समातेर ठगीबाट उम्कने प्रयासमा छन् । नेसनल हेल्थ फाउन्डेसनले सीएमए र अनमी अध्ययनका लागि ४०÷४० जनाको अनुमति प्राप्त गरेको छ । तत्काल उक्त कलेजका सञ्चालकलाई कारबाही गर्न सीटीईभीटीले प्रक्रिया अगाडि बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्