गोरखामा एडिबीको भूकम्पीय सहायता आयोजना गुम्ने खतरा



लुईटेल भञ्ज्याङ–भच्चेक सडक समयमै कालोपत्रे नहुने पक्का

सन्तोष अधिकारी, गोरखा । जिल्लाको ठुलो मध्येको एक ब्यापारिक केन्द्र पुग्ने लुईँटेल भञ्ज्याङ– भच्चेक सडक खण्डको कालोपत्रे गर्ने काममा ठेकेदारको बदमासीका कारण निर्धारित समयमा कालोपत्रे नहुने पक्का भएको छ ।

भूकम्पीय आपत्कालिन सहायता आयोजना अन्तरगत निर्माणाधिन लुईँेटल भञ्ज्याङ–भच्चेक सडक खण्डको ३० दशमलब पाँच किलोमिटर सडक स्तरउन्नती र कालोपत्रे गर्न ठेकेदारले लापरबाहि गरेको जिल्ला प्राविधिक कार्यालय गोरखाले जनाएको छ ।

दुई खण्डमा स्तरोन्नती सँगै कालोपत्रे हुने सो सडक खण्डको ठेक्का पनि भिन्न दुई कम्पनीले पारेका छन् ।

सडकको ० देखि १७ दशमलब ६ सम्म अम्मर लामा जेभी कन्स्ट्रक्सन र बाँकी खण्डमा लामा कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाए पनि काममा ढिलासुस्ती भएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख होमनाथ पौडेलले जानकारी दिए ।

‘उनीहरुले २०१६ को डिसेम्बर १२ मा २०१८ को जुन महिना भित्र काम सम्पन्न गर्ने भनेर जिम्मा पाएका हुन्’ उनले भने ‘काम गर्ने स्पिड नै छैन । फिल्डमा आवश्यक निर्माण सामग्री नै झार्न सकेका छैनन् । यही हिसाबको कार्यप्रगतिले समयमा काम सम्पन्न नहुने पक्का भइसकेको छ ।’
उनले उक्त सडक खण्डमा काम २८ दशमलब ५ प्रतिशत मात्रै भएको र समय सिमा भने ७१ प्रतिशत सक्किसकेको समेत बताए । भूकम्प आपत्कालिन सह आयोजना अन्तरगत सो सडक एसियाली विकास बैंकको ६० करोड ६३ लाख रुपैँयाको लागतमा बन्न लागेको हो ।

पहिलो चरणको सडक निर्माणकम्पनीका प्रमुख भद्रबहादुर शाहीले अटेरी गर्ने गरेको प्राविधिक कार्यालयले जनाएको छ । ‘यो कम्पनीको फिल्डमा दुई वटा क्रसर पनि छ’ पौडेलले भने ‘घरहरु पर्नेठाउँको मुआब्जाको कुरा पनि टुंगिएको छैन । यति काम गर्छाैँ उति काम गर्छाैँ भनेर तार्गेट पनि दिन्छन् तर काम भने सुस्त गर्छन ।’ प्रमुख पौडेलले अन्य आयोजनाहरु मा जस्तो यसमा समा यावधि थपिने सम्भावना पनि कम रहेको छ ।

जिल्ला यातायात गुरु योजनाले प्राथमिकता दिएको सो सडकको पहिलो खण्ड भन्दा दोस्रो खण्डमा केहि कामहरु भएको छ । ‘आयोजना गुम्ने खतरा पनि छ’ उनी भन्छन् ‘भूकम्पले अति प्रभावित १४ जिल्लामा रहेको एडिबीको सहयोग अन्य जिल्लामा भन्दा गोरखामा फरक छ । अन्य जिल्लामा स्तरोन्नती मात्रै छ । गोरखामा भने स्तरोन्नती सँगै कालोपत्रे गर्ने काम पनि छ ।’

उक्त सडक तीन दशमलब ७५ मिटर चौडाई र त्यस बाहेक दायाँ र बायाँ ० दशमलब ७५ मिटर फसटपाथ समेत निर्माण हुने गरी काम भइरहेको हो । प्राविधिकहरुको अनुसार केहि ठाउँ बाहेक अधिकांश ठाउँमा चौडा गर्ने, दायाँबायाँ पर्खाल लगाउने कामहरु धमाधम भइरहेको छ । ठेकेदारले जनशक्ति थप गरे आगामी असार सम्ममा सडक पिच सम्भावना कमै रहेको प्राविधिकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्