कतै हिमपात त कतै असिनाः भूकम्प प्रभावितको जनजीवन कष्टकर



पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा सुरु भएको छ । उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा हिमपात भएको छ भने नेपालगञ्ज लगायतका अन्य जिल्लाहरुमा भारी बर्षाका साथसाथै असिना पनि परेको छ ।

गोरखाको उत्तरी भेगका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । यहाँको चुमनुब्री र धार्चेका गाउँमा हिमपात भएको छ ।

मणिकामदेवी मावि लाप्राकका प्रधानाध्यापक भवीराज गुरुङले आज बिहान ४ बजे हिउँ पर्न शुरु भएको बताउनुभयो । घर पाउने आशमा टहरोमा बसेका लाप्राकका भूकम्प प्रभावितको जनजीवन कष्टकर भएको छ ।

“हिमपातपछि विद्यालय सञ्चालनमा समस्या छ”, उहाँले भन्नुभयो, “हिउँ परिरहेको छ । एक फिट जति हिउँ जमिसक्यो ।” यो वर्ष पहिलो पटक आज हिमपात भएको हो । टहरोमा बसेका बासिन्दा हिमपातपछि चिसो बढ्ने चिन्तामा छन् भने खेती राम्रो हुने भन्दै केही भने खुशी पनि छन् ।

गुप्सीपाखामा अस्थायी टहरोमा बसेका भूकम्प प्रभावित त्यहाँ गैरआवासीय नेपाली संघले घर निर्माण शुरु गरेपछि रिनजुलुङको जंगलमा टहरो बनाएर बस्दै आएका छन् । लाप्राकीहरु अधिकांश भने पुरानै गाउँमा उनीहरुले मर्मत गरेकै घरमा बसेका छन् । पुरानो गाउँमा पनि हिमपात भएको स्थानीयवासी तुले गुरुङले बताउनुभयो ।

हिमपातपछि बारपाक–लाप्राक कच्ची सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि यो सडकमा ट्र्याक्टर, बोलेरो जिप गुड्न सक्दैन । हिउँ परेपछि खानेपानीको समस्या आइलाग्छ । केहीले हिउँ तताएर पानी पिउने गर्छन् । घाम लागेपछि मात्रै मुलको पानी बग्छ । टहरोभित्र आगो तापेर भूकम्प प्रभावितहरु बसेका छन् ।

रसुवाः बिहानैदेखि परेको पानीसँगै जिल्लाका उच्च हिमाली भागमा हिमपात शुरु भएको छ ।
चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार त्यस क्षेत्रका साथै गोसाइँकुण्ड, लाङटाङ, नाकथली लगायतका स्थानमा हिमपात भइरहको छ ।

गत वर्ष भने फागुनमा मात्र हिमपात भएको र यस वर्ष माघको दोस्रो साताबाटै हिमपात र पानी परेपछि हिउँदे बाली राम्रो हुनेमा स्थानीयवासी उत्साहित भएका छन् ।

हुम्लाः गएरातिदेखि परेको वर्षासँगै जिल्लाका उत्तरी भेगका अधिकांश गाउँमा बाक्लो हिमपात भएको छ ।

जिल्लाको सिमीकोट विमानस्थलमा हिमपात भएपछि हवाई सेवा बन्द भएको छ । हिमपातसँगै चिसो अत्यधिक बढेको छ । ज्येष्ठ नागरिक र बालबालिकाका साथै रुघाखोकी, निमोनियाँका बिरामी चिसोबाट थप मर्कामा परेका छन् ।

भारी हिमपातसँगै लिली, मुचु, फुङगाल, हेक्पा, स्याडामा खर्कमा राखिएका चौँरी, झोवालाई घर गोठमा ल्याइएको छ । जिल्लामा हिमपात भएपछि स्थानीय किसान भने हर्षित भएका छन्, अहिलेको हिमपातले स्याउ लगायतका बालीनालीलाई सकारात्मक प्रभाव पर्ने कृषिविद्हरुले जनाएका छन् ।

हिमपातका कारण सुदूर पहाडकोे जनजीवन प्रभावित

विनोद सिंह विष्ट, बैतडी।

गएरातीदेखि मौसममा आएको परिवर्तनका कारण बुधवार बिहानै बैतडी सहित प्रदेश नं ७(सुदूरपश्चिम) का अधिकांश पहाडी जिल्लाहरुमा हिमपात भएको छ । हिमपात भएसंगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको खोडपे, सतबाँझ लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै दार्चुलाको अपी ,राप्ला , घुसा, खण्डेश्वरी, छिङरु ,व्यास, टिङकर लगायतका ठाउमा हिमपात भएको प्रेम चुनाराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“दार्चुलाका उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ ”
चिसोबाटै बच्नका लागी दार्चुलाका उच्च हिमाली क्षेत्रका धेरैजसो बासिन्दा दुई महिना अघि नै सदरमुकाम खलङगा झरिसकेका छन ।

डडेल्धुराको सदमुकाम लगायत भिमदत्त राजमार्गको साहुखर्क, गैरा, हगुल्टे लगायतका स्थानमा हिमपात भएको स्थानिय आषिश मल्लले जानकारी दिनुभयो ।

बझाङको जयपृथ्वी नगरपालीका पणेश क्षेत्र,धामीलेख, पीठालेख,दौलीचौर, सुर्मा , काँडा लगायतका क्षेत्रमा पनि हिमपात सुरु भएको छ । हिजो राती देखी पानी पर्न सुरु भएको भएपनि हिमपात भने आज बिहानै भएको हो । लेकाली भेगमा भने हिमपात जारी रहेको छ । बाजुराको बडिमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका , हिमालि गाउँपालिकामा र त्रिबेणी नगरपालिकाको उच्च हिमाले क्षेत्रमा हिमपात भएको लक्ष्मीराज पाध्यायले जानकारी दिनुभयो। उहाँले भन्नुभयो“बर्षासंगै हिउ परेर चिसो बढेपनि बाली सप्रिने भन्दै किसानहरु खुसी भएका छन्”

यस्तै अछामको पनि उच्च हिमाली क्षेत्रमा पनि हिमपात भएको बताईएको छ ।

हिमपातले हिमपातका कारण चिसो बढेकोले बृद्धबृद्धा, बालबालिका, तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् ।

हिमपातले हिमपातका कारण चिसो बढेकोले बृद्धबृद्धा, बालबालिका, तथा दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग बढी प्रभावित भएका छन् ।

हिजो एक्कासि मौसम बदली भै पानी हिमपात भएपछी , यहाँका साधारण तथा स्थानीय ब्यक्तीहरु चिसोले प्रभावित बनेका हुन् ।
लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले राहत र्पुयाएको छ । लामो समयको खडेरी पछी पानी परेकोले बाली सप्रिने दोगडाकेदार ३ श्रीकोटका हेमराज गिरीले बताउनुभयो ।

मनाङमा भारी हिमपात

मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ ।

मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ ।

हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । हिजो बेलुकी मात्र जिल्ला भित्रिएका तथा चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन छन् । उद्दारकालागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ ।

असिना पनि

यसका साथसाथै मध्यपश्चिम र सुदुरपश्चिमका तराई क्षेत्रका केहि जिल्लाहरुमा भने भारी वर्षा भएको छ । भारी वर्षाका साथसाथै असिना पनि परेको खबर प्राप्त भएको छ । असिना पानीका कारणले त्यहाँको जनजिवन प्रभावित बनेको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्