आईपीओको आवेदन घरबाटै



नेपाल समाचारपत्र
काठमाडौं
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले मंगलबारदेखि केन्द्रिकृत आस्बा प्रणालीमार्फत् प्राथमिक निस्काशनको आवेदन घरबाटै गर्न सकिने व्यवस्था मिलाएको छ। सीडीएससीले सूचना प्रकाशित गर्दै आईपीओ, हकप्रद शेयर र एफपीओमा अनलाइनबाटै आवेदन दिने व्यवस्था मिलाएसँगै वित्तीय संस्था वा मर्चेन्ट बैंक धाउन नपर्ने भएको हो।
हालसम्म २५ वटा बैंक तथा वित्तीय संस्थाले मात्रै सिआस्बाको सदस्यता लिएको सीडीएस एन्ड क्लियरिङ जनाएको छ। सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई दर्ता गराएर मेरो शेयर नामक सेवामार्फत् घरबाटै शेयरमा आवेदन दिने व्यवस्था मिलाउने सीडीएससीको सुचनामा उल्लेख छ।

नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर निष्कासनलाई सहज बनाउन आस्बा प्रणाली लागू गरेको थियो। आस्बा प्रणाली सञ्चालन गर्न धितोपत्रको सार्वजनिक निस्काशनको केन्द्रिकृत विद्युतीय सेवासम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०७४ तयार गरिएको र उक्त निर्देशिका नेपाल धितोपत्र बोर्डबाट स्वीकृत गरी कार्यान्वयनका लागि निर्देशन दिइएकोमा सीडीएससीको सञ्चालक समितिको निर्णयले मंगलबारबाट सि आस्बा पूर्ण रुपमा लागू गराएको हो।

आस्बा प्रणालीलाई थप व्यवस्थित गर्न केन्द्रीय निक्षेप प्रणालीले आस्बा सफ्टवेयरलाई परिमार्जन गर्दै सिआस्बामा स्तरोन्नती गरेको हो। सिआस्बा प्रणालीको प्रयोगले धितोपत्रको खरिद आवेदकको हितग्राही खाता आवेदन पूर्व नै रुजु हुने हुँदा कुनै पनि आवेदक हितग्राही खाता नमिलेको कारणले बाँडफाँडबाट बन्चित हुनु नपर्ने सीडीएससीले जनाएको छ।
नयाँ व्यवस्थासँगै अब आस्बा सेवा प्रदायक सबै बैंक तथा वित्तीय संस्थाले सिआस्बा प्रणालीमा सेवा स्तरोन्नती हुनुपर्ने हुन्छ। यसभन्दा पहिला आस्बा प्रणालीमा शेयरमा आवेदन दिने व्यक्ति स्वयम् उपस्थिति हुने नपर्ने र अब शेयरमा आवेदन दिँदा फर्ममा भरिएको तथ्यांकसमेत गल्ती नहुने भएको हो।
सिआस्बा प्रणालीमा अब एउटा युनिक कोड नम्बर सीडीएससीमार्फत् उपलब्ध गराइन्छ त्यो नम्बर मेरो शेयरमा लगअन गरी उक्त नम्बर इन्ट्री गरेपछि शेयरमा आवदेन दिँदा पुर्याउनुपर्ने सम्पूर्ण विधि पुग्दछ।

हालसम्म १ लाख ५० हजार जना मेरो शेयर सेवाका युजर रहेका छन्।
यसैबीच सिआस्बा सेवा पूर्णरूपमा कार्यान्यनमा आएसँगै बाँडफाँडमा सहज हुने भएको छ। आवेदन सम्बन्धी विवरण निष्काशन तथा बिक्री प्रबन्धकलाई सफ्टवेयरमार्फत् सोझै प्राप्त हुने हँुदा निस्काशन बन्द भएको ७ दिनमै बाँडफाँड प्रक्रिया सञ्चालन गर्न सकिने भएको हो।

प्राथमिक शेयर र एफपीओमा आवेदन दिएपछि लगानीकर्ताले कम्तिमा ३० दिनपछि शेयर र रकम फिर्ता पाउने अवस्थाको अन्त्य भै शेयर आवेदनमा नयाँ अध्ययको शुरूवात हुने भएको हो।

नेप्से १३ सयभन्दा कम
काठमाडौं, (नेस)
साताको तेस्रो दिन मंगलबार शेयर बजार ९ दशमलव शून्य ५ अंकले ओरालो लगोको छ। कारोबार शुरू भएको १५ मिनेटपछि एक घण्टासम्म भएको तीव्र गिरावटका कारण नेप्से करिब १ महिनापछि १ हजार ३ सय अंकमुनि झरेको हो।

नेपाल धितोपत्र बोर्डले शेयर ग्राहकको पहिचानमा कडाइ गरेको दोस्रो दिन मंगलबार १ हजार ४ सय २ दशमलव शून्य ९ अंकबाट शुरू भएको नेप्से ओरालो लागेको हो। यसक्रममा बजार १ हजार ३ सय ९३ दशमलव शून्य ४ को बिन्दुमा पुगेर रोकिएको हो।

यससँगै नेप्सेमा निरन्तर ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको हो। नेप्से घट्दा मंगलबार शेयर बजारको कारोबार रकम पनि घटेको छ। यस दिन बजारमा ३२ करोड २६ लाख ७३ हजार ३ सय ५८ रुपियाँको कारोबार भयो। यसक्रममा बजारमा १ सय ५५ कम्पनीका ८ लाख २८ हजार ७ सय ७ कित्ता शेयर किनबेच भए। बजारमा मंगलबार ३ हजार ८ सय ६२ कारोबार हुँदा कारोबार रकम अघिल्लो दिनभन्दा ३ करोड ४८ लाख रुपियाँ कम रहेको हो।
लाभांश प्राप्त गर्ने अवधि सकिनु, बैंक तथा वित्तीय संस्थामा पुँजी अभाव हुनु तथा बजारमा शेयर आपूर्ति बढ्नुलगायतले बजार बढ्न नसकेको जानकारहरूले बताएका छन्। यसले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको जानकारहरू बताउँछन्।

नेप्से परिसूचक घट्दा मंगलबार ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २ दशमलव शून्य २ अंकले घटेर २ शय ९३ दशमलव ९८ अंकमा सीमित भएको छ।

मंगलबार नेप्से र सेन्सेटिभ दुवै ओरालो लाग्दा कारोबारमा आएका १० मध्ये ९ समूहका परिसूचकमा गिरावट आए। यसदिन उत्पादनमुलक समूह स्थिर रहँदा बीमा समुहमा सबैभन्दा धेरै ८७ दशमलव ६५ अंकले घटेको छ। घट्नेमा होटल र जुलविद्युत् समूह पनि क्रमशः ३७ दशमलव २९ र २९ दशमलव ४८ अंकले घटेका छन्।

त्यसैगरी लघुवित्त, बैंकिङ र वित्त समूह पनि क्रमशः ९ दशमलव २१, ६ दशमलव ६७ र ३ दशमलव ८३ अंकले घटे।

प्रतिक्रिया दिनुहोस्