समय ओली र वलीको



राष्ट्रिय सभा सदस्य उम्मेरदवारका लागि ‘सर्टलिस्ट’ मा परेकाहरूको नामावली अन्तिम टुङ्गो लगाउन दलहरूलाई ठूलै सकस परेको छ। केही दलले यो विषय टुंग्याए भने केही दल आज बुधबार पनि अन्तिम कसरतमा जुट्दै छन्। टिकट पाउनेहरू दंग⁄मख्ख छन्।

अन्तिम सूचीमा सामेल हुनेमध्ये झनै दंग⁄मख्ख छिन् एमाले ‘नेतृ’ कोमल वली। एमाले स्थायी समिति बैठकले उनलाई प्रदेश ५ बाट राष्ट्रिय सभामा महिला सदस्यमा उम्मेदवार बनाउने निधो गरेको हो। प्रदेश र केन्द्रको निर्वाचन अघि मात्रै एमाले प्रवेश गरेकी यी नेतृले अब धेरैलाई राजनीतिक दौडमा पछि पार्ने हुन् कि भन्ने शंका धेरैलाई छ।

प्रदीप नेपाल, युवराज ज्ञवाली, ठाकुर गैरेजस्ता नेतासहित रामेश, मञ्जुल जस्ता दर्जनौं नेता र स्रष्टाहरू दौडमा असफल भएको ‘जबजकै जग’ मा अडिएको स्थायी समितिले निकाल्या निष्कर्ष त होला नि ? तर पनि एमालेले गलत निर्णय गर्यो, निर्णय सच्याउनुपर्छ भन्ने आलोचना र आवाज सर्वत्र फैलिरहेको छ। यही बेला नेतृ वलीले भने पार्टीले आफ्नो काम र योग्यताको सही मूल्यांकन गरेको जनाउँदै निर्णयको विरोध कसैले गर्न नहुने बताएकी छिन्।

राष्ट्रिय सभामा राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुर्याएका प्रबुद्ध व्यक्तिहरूको समूह रहने भनिएको छ, त्यस्तो समूह निर्वाचित हुनेमा अब कुनै शंका छैन। आखिर समय ओली र वली कै छ, धरहराले यही बुझ्या छ।

प्रतिक्रिया दिनुहोस्