कामना फिल्म अवार्डस्–२०७४, के भन्छन् मनोनयमा परेका कलाकार?



विधाः हास्य कलाकार


रवीन्द्र झाले पाउनुहुन्छ
केदार घिमिरे
मनोनयनः हास्य कलाकार र संवाद (छक्का पञ्जा)
मेरो विचारमा यस वर्षको कामना फिल्म अवार्डमा हास्य अभिनेताको अवार्ड जुरीले जसलाई दिन्छ उसले पाउँछ। हा..हा..हा..। यस्तो हो नेमिनेसनमा त सबै राम्रो कलाकार पर्नुभएको छ र यस कारण पनि भन्न सजिलो छैन। तर, पनि मेरो विचारमा यसपटक जात्राबाट रवीन्द्र झाले यो अवार्ड पाउनुहुन्छ। किनभने उहाँले निकै राम्रो अभिनय गर्नुभएको छ।

 

मैले पाउँछु भन्ने लाग्दैन

बुद्धि तामाङ

फिल्मः छक्का पञ्जा
मलाई आफूले अवार्ड पाउँछु भनेर ९९ प्रतिशत पनि लाग्दैन। कुनै–कुनै कुराको कारण हँुदैन, त्यस्तै मलाई किन आफूले अवार्ड पाउँदिन जस्तो लागेको भन्ने कुराको पनि कारण छैन। म यो प्रश्नप्रति नै भावुक छु। हाम्रो अवार्डहरुको मापदण्ड पनि क्लियर नभएका कारण म यसै भन्न सक्दिनँ। तर, अवार्ड जसले पाए पनि कामको हिसाबले मूल्यांकन गरेर दिने कुरामा म ढुक्क छु। अवार्ड जसले पाए पनि खुसी छु।

बुद्धिजीले पाउनुहोला
रवीन्द्र झा
फिल्मः जात्रा
मैले मसँग हास्य कलाकारको नोमिनेसनमा पर्ने सबैको फिल्म हेरेको छैन। त्यस कारण पनि अवार्ड कसले पाउँछ भन्न गाह्रो कुरा हो। मैले हेरेको फिल्ममध्येबाट भन्नुपर्दा बुद्धि तामाङजीले अवार्ड पाउनुहोला जस्तो लाग्छ। उहाँले क्यारेक्टर चेन्ज गर्दै सबैमा राम्रो एक्टिङ गर्नुभएको छ। आफू नोमिनेसनमा भएपछि अवार्डको आशा कसलाई हुदैन र? मैले पनि आशा त राखेको छु। किनभने अवार्ड भनेको सानो कुरा होइन, कलाकारका लागि यसले अझ राम्रो काम गर्ने ऊर्जा प्रदान गर्छ।

सबै खतरा छन्
सलोन बस्नेत
फिल्मः गाजलु
हास्य कलाकारको नोमिनेसनमा पर्ने सबै राम्रो कलाकार हुनुहुन्छ। केदार काका पनि बबाल हुनुहुन्छ, उता दया दाइ पनि खतरा हसाउनुहुन्छ। अब नोमिनेसनमा भएपछि त म आफैंले जिते हुन्थ्यो जस्तो लाग्छ। सबै जनाको एक्टिङ राम्रो र दर्शकले मन पराएको कलाकार भएकोे पनि गेस गर्न गाह्रो कुरा हो।

 

विधाः खलपात्र


दीपकराज गिरीले जित्नुहुन्छ
कामेश्वर चौरासिया
फिल्मः पलाँस
मेरो विचारमा दीपकराज गिरीले उत्कृष्ट खलपात्रको अवार्ड जित्नुहुन्छ। अन्य अवार्ड समारोहमा पनि उहाँले पाइराख्नुभएको छ। छक्का पञ्जा फिल्म कमर्सियल्ली सफल भयो। त्यस कारण पनि उहाँ अवार्डका लागि डिजर्भिङ हुनुहुन्छ। मेरो हकमा कुरा गर्दा अवार्ड मैले पाउनुपर्छ भन्ने मलाई लाग्दैन। नोमिनेसनमा अर्पण थापाहरु जस्ता राम्रा कलाकार पनि पर्नुभएको छ। मेरो अवार्ड लिने बेला भएको छैन। म नोमिनेसनमा पर्नु नै ठूलो कुरा हो।

अर्पण वा दीपकराजले पाउनुहुन्छ
ध्रुव कोइराला
फिल्मः बाजिगर
मेरो विचारमा यो अवार्ड वीरविक्रमबाट अर्पण थापा अथवा छक्का पञ्जाबाट दीपकराज गिरीले पाउनुहुन्छ। किनभने उहाँहरु निकै राम्रो कलाकार हुनुहुन्छ र धेरै राम्रो एक्टिङ पनि गर्नुभएको छ। मैले आफ्नो हकमा अवार्ड पाउँछु कि पाउँदिन भन्ने कुरा आफैंले भन्ने होइन। मेरो काम त दर्शक र जर्जले मूल्याङ्कन गर्ने कुरा हो।

 

खलपात्र मैले पाउँदिन, पटकथा उत्कृष्ट छ
दीपकराज गिरी
मनोनयनः फिल्म, खलपात्र, कथा, पटकथा र संवाद (छक्का पञ्जा)
खलपात्रको नोमिनेसनमा पर्नु खुसीको कुरा हो। यसमा पर्नेबाहेक सबै ट्यालेन्ट नै हुनुहुन्छ। अझ ध्रुव कोइराला, कामेश्वर चौरासिया जस्ता व्यक्तिहरु त वर्षौंदेखि खलपात्रको रूपमा परिचित नाम हो। यो क्षेत्रमा मेरोभन्दा बढी योगदान उहाँहरुको नै छ। त्यसैले मैले खलपात्रको अवार्ड पाउँछु जस्तो लाग्दैन। कथाको कुरा गर्दा यसमा डाइङ क्यानडल जस्तो कथा, पटकथा र संवादमा जसले अवार्ड जिते पनि मलाई राम्रो लाग्छ। हुन त हाल म अवार्ड कार्यक्रमप्रति चासो राख्दिनँ र म अवार्डको आकांक्षी पनि होइन। पटकथाको हिसाबले हेर्दा छक्का पञ्जा उत्कृष्ट छ, यो पटकथाकै फिल्म पनि हो। पटकथामा आशा राख्ने ठाउँ छ।

जुरीको कुरा
कमलमणि नेपाल
फिल्मः जात्रा
जसले डिजर्भ गर्छ, उसले नै अवार्ड पाउँछ। सबैको काम हेरेको छैन, कसले जित्छ भन्ने कुरा भन्नका लागि त पहिले फिल्म हेर्नुपर्यो। हामीले भन्दा पनि जुरीले डिसाइड गर्ने कुरा हो।

 

 

दीपकराज गिरीले पाउनुहोला
अर्पण थापा
फिल्मः वीरविक्रम
अवार्डमा कसरी जजमेन्ट हुन्छ, त्यहीअनुसार अवार्ड विजेता हुन्छन्। अवार्ड त पर्फमेन्सवाइज गर्नुपर्ने हो, तर हेरौं कसरी हुन्छ। चर्चा र फिल्म चलेको आधारमा हो भने दीपकराज गिरीले पाउनुहोला जस्तो लाग्छ। पपुलारिटीको आधारमा पनि दीपकराज गिरीले
पाउनुहुन्छ होला जस्तो लाग्छ।

प्रतिक्रिया दिनुहोस्