यस्तो हुनुपर्छ स्मार्ट सिटी



विकसित देशमा हुने स्मार्ट सिटी भनेको सुविधा सम्पन्न र मोभिलिटी पनि सुपर फास्ट हुन्छ। तर हामी कहाँ निर्माण हुने स्मार्ट सिटी भन्नाले आधारभूत पुनर्संरचनासहितको भौतिक पूर्वाधार हुनुपर्छ। प्रत्येक घरहरू सडक सञ्जालसँग जोडिनुपर्छ। नाला र ढलको उचित व्यवस्थापन हुनुपर्छ। शुद्ध पानीको पर्याप्तता हुनुपर्छ। वातावरणीय हिसाबले मानव अनुकूल हुनुपर्छ। उच्च शिक्षा हासिल गर्ने एकेडेमिक इन्स्टिच्युट, उत्पादनमूलक उद्योगको विकाससँगै सबै नाागरिक आईटी सिस्टमले जोडिएको हुनुपर्छ। स्थानीयलाई विश्वव्यापीकरण गरिनुपर्छ।

खरिद प्रविधिको प्रयोग, स्मार्ट ट्रान्सपोटेसन, मोबिलेसन फास्ट, ग्यासको प्रयोग वातावरण उपयुक्त हुनु मात्रै हैन आमजनता पनि स्मार्ट हुनु जरुरी छ। जनताको सोच पनि स्मार्ट हुनु जरुरी छ। भौतिक सुविधा मात्रको सिटी स्मार्ट हुन सक्दैन। मानवीय सोच र चेतना पनि स्मार्ट भएमा सिटी स्मार्ट हुनसक्छ। भौतिक पूर्वाधार आवश्यक छ भने परिपूरकको रूपमा मानवीय सोच जरुरी छ। सामाजिक प्राणी मानव जबसम्म व्यावहारिकरूपमा सामाजिक बन्न सक्दैन तबसम्म स्मार्ट सिटी साँच्चीकै स्मार्ट सिटी बन्नै सक्दैन। जथाभावी फोहोर फाल्ने अनि शहर फोहोर भयो भनेर चिच्याउने सोच परिवर्तन गर्नु जरुरी छ।
अति ग्रामीण क्षेत्रलाई स्मार्ट सिटी घोषणा गर्न अन्य क्षेत्रमा भन्दा गाह्रो हुन्छ। स्मार्ट सिटी रातारात हुने कुरै हैन। आमनागरिकले बुझ्नुपर्ने कुरा स्मार्ट सिटीका लागि कार्य थालनी मुख्य कुरा हो। चुनावमा भोट बटुल्न वर्षदिनमा मुहार फेर्ने भनेझैँ रातारात केही हुँदैन। पाँच वर्षमा, १० वर्षमा, १५ वर्षसम्म मात्रै नभएर २० औं, २५ औं वर्ष लाग्न सक्छ।

पाँच वर्षमा बेसिक इन्फ्रास्टक्चरको काम गर्न सकिन्छ। १० वर्षमा हेर्नलायक हुन्छ भने १५ वर्षमा जनसंख्या र जनघनत्व पनि बढ्दै जान्छ। अहिले सरकारले शुरुवात गरेको पालुङटार क्षेत्र, तनहुँ, लमजुङ र गोर्खा क्षेत्रलाई स्मार्ट सिटीका रूपमा लैजाने र पिज गरेर लुम्बीनीलाई लैजाने काम अघि बढेको छ। यसलाई शुरुवातीको रूपमा लिन सकिन्छ। अन्य शहरमा स्मार्ट सिटीका सन्दर्भमा सम्भाव्यता अध्ययन भइरहेको छ। अम्मरगढी, दैलेखको दुल्लु, पालुङटार क्षेत्रलगायतका शहरहरूलाई स्मार्ट सिटीका रूपमा लैजान सम्भाव्यता अध्ययन भइरहेको छ। स्मार्ट सिटीको काम चाँडो सम्पन्न गर्न अध्ययनको कामसँगसँगै निर्माणको काम पनि लैजानुपर्छ र योजनाबद्धरूपमै बजेटको विनियोजन गर्नुपर्छ।

वास्तवमा स्मार्ट सिटी भनेको त्यस्तो शहर हो, जहाँको भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार अत्याधुनिक हुन्छ। यसलाई पूर्ण व्यवस्थित शहरको रूपमा परिभाषित गरिन्छ। आधुनिक शहरमा आवश्यक पर्ने कुनै पनि विषय नछुटेको शहरलाई स्मार्ट सिटी भनिन्छ। यस्तो शहरमा सूचना प्रविधिलाई प्राथमिक पूर्वाधारको रूपमा राखिएको हुन्छ। शहर ठूलो भएपछि सबैभन्दा ठूलो समस्या सवारी व्यवस्थापनमा हुने भएकाले स्मार्ट सिटीमा अटोमेटिक ट्राफिक संकेत हुनुपर्छ। हरेक काम छिटोछरितो हुनुपर्छ। शहरका हरेक कुनामा सीसी क्यामेरा जडान, कन्ट्रोल रुममा बसेर शहरको गतिविधि निगरानी, विभिन्न स्थानमा डाटा सेन्टर हुनु जरुरी छ। अपराधीको पहिचान गर्न ‘फेस आइडेन्टिफिकेसन सिस्टम’ हुनुपर्छ। कुनचाहिँ पार्किङ स्थलमा ठाउँ छ भन्ने जानकारी गाडीमै पाइने व्यवस्था स्मार्ट सिटीमा हुनु जरुरी छ। टेली उपचारको प्रयोग व्यापक हुनुपर्छ। सडकमा साँझ, राति र बिहानमा आवश्यकता अनुसार फरक–फरक चमक हुने विशेष खाले बत्तीको व्यवस्था हुनुपर्छ।
हरेक घरमा पानी र बिजुलीको खपत कति भैरहेको छ भन्ने कार्यालयबाटै हेर्न सकिने व्यवस्था हुनुपर्छ। अत्याधुनिक फोहोर व्यवस्थापन हुनुपर्छ। शहरको कुन ठाउँमा फोहोर थुप्रिएको छ भनेर कार्यालयमै बसेर हेर्न सकिने र व्यवस्थापन गर्न सकिने हुनुपर्छ। स्मार्टफोन एप्लिकेसनबाट सबैभन्दा नजिक रहेको ट्याक्सीलाई घरसम्मै बोलाउन सकिने मात्रै हैन पानी, पार्क र हरियालीले सुन्दर र आकर्षक र पूर्ण वातावरण मैत्री हुनु पनि जरुरी हुन्छ। जनता, सरकार, अर्थतन्त्र, आवागमन, वातावरण र जीवनस्तरलाई स्मार्ट बनाए मात्र सिंगो शहर स्मार्ट बन्न सक्छ।

संसारमा न्यूयोर्क, फ्रेन्च सिटी, लन्डन, बार्सिलोना, सिंगापुर, पेरिस, बर्लिन, टोकियो, कोपनहेगनलगायतका शहरहरू स्मार्ट सिटीको रूपमा विकास भइसकेका छन्। ती शहरबाट पनि हामी धेरै कुरा सिक्न सक्छौं। नेपाल प्रकृतिले निकै धनी देश हो। यहाँ वातावरण अनुकूल स्मार्ट सिटी निर्माण गर्न त्यति समस्या पर्दैन। स्थानीय तह निर्वाचन मात्रै नभएर प्रदेश र संघको निर्वाचनमा पनि ‘स्मार्ट सिटी’ बारे नछुटाई बोले तर कसरी स्मार्ट सिटी बनाउने भन्ने खाका कोहीसँग आउन सकेन। निर्वाचनमा विजयपछि पनि ‘फ्री वाइफाइ जोन’का कुरा कतिले गरे भने कतिपयले त रेललाई स्मार्ट सिटीको मानक पनि माने।

‘स्मार्ट सिटी’को प्रमुख आधार सूचना, सञ्चार र प्रविधि नै हो। यसमा दुईमत छैन। यी तीन प्रमुख तत्वको उचित प्रयोग गरेर शहरलाई सुविधासम्पन्न बनाउनु ‘स्मार्ट सिटी’को प्रमुख अवधारणा हो। सूचना, सञ्चार र प्रविधिको अधिकतम प्रयोग गरेर शहरको अर्थव्यवस्था, वातावरण, यातायात र प्रशासन चुस्त–दुरुस्त नबनाइँदासम्म कुनै शहर ‘स्मार्ट’ बन्नै सक्दैन।
– सूचना केसी, भक्तपुर

प्रतिक्रिया दिनुहोस्