देहिमाण्डौं उपाधी नजिक, थालिगाडा ४ विकेटले पराजित



विनोद सिंह विष्ट, बैतडी । रिषिकेश बोहराको अलराउन्डर प्रदर्शनले दशरथचन्द नगरपालिका –२ देहिमाण्डौं ,बैतडीमा जारी प्रथम मेयरकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताकोे उपाधी नजिक पुगेको छ । मंगलवार सम्पन्न पहिलो सेमिफाईनल खेलमा दशरथचन्द नगरपालिका ६ थालिगाडालाई ४ विकेटले पराजित गर्दै उपाधी नजिक पुगेको हो ।

बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामो टस जितेर व्याटिङ गरेको थालिगाडाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १३५ रन बनायो । चन्दन रावलले ३४ तथा किशोर चन्दले २० रन जोडे । १३६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको देहिमाण्डौंले १९ दशमलव १ ओभरमा लक्ष्य भेट्टायो । दिपक बोहराले ३७ रनको योगदान गरे । थालिगाडाका दिपेन्द्र रावलले २ विकेट हात पारे । अलराउन्डर प्रदर्शन गरेर व्यक्तिगत २२ रन नटआउट तथा २ विकेट हात पारेका देहिमाण्डौंका रिषिकेश बोहरा म्यान अफ द म्याच घोषित भएका नगर क्रिकेट समितिका अध्यक्ष अशोक बहादुर चन्दले जानकारी दिनुभयो । पराजित भएसंगै थालिगाडा प्रतियोगिताबाटै बाहिरिएको छ ।

यस्तै बिच दोस्रो सेमिफाईनलमा अहिले दशरथचन्द नगरपालिका ४ खलंगा र वडा नम्वर ९ ग्वाल्लेक प्रतिस्प्रर्धा गरिरहेका छन् । खलंगाले टस जितेर ब्याटिङ थालेको छ । प्रतियोगिताको उपाधी विजेताले ५० हजार, उपविजेताले ३० हजार र म्यान अफ द सिरीज १ जनाले ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने नगर क्रिकेट समितिका अध्यक्ष अशोक बहादुर चन्दले जानकारी दिनुभयो । शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भईरहेको हो ।

माघ ३ गतेदेखि सुरु भएको मेयरकप क्रिकेट प्रतियोगितामा ११ टोली सहभागी रहेका थिए । प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्