हेर्नै छ बाँकी



चीन हुँदै तेस्रो मुलुकसँगको व्यापारिक नाका खुलाउने, पेट्रोलियम पदार्थसहित अन्य व्यापारिक कारोबार चीनबाट पनि गर्ने लिखित सहमति भएपछि ओली–मोदीबीचको सम्बन्ध निकै चिसिएको थियो। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम नजिकबाट नियालेका मोदी चिसिएको सम्बन्ध सुधार्न निकै आतुर देखिएका छन्।

‘वेटिङ प्राइमिनिस्टर’का रूपमा हेरिएका ओलीलाई उनका भारतीय पूर्वसमकक्षी मोदीले एक महिनाको अन्तरमा दुई पटक टेलिफोन संवाद गरेका छन्। आइतबारको टेलिफोन संवादमा दुवै नेताहरूबीच अंग्रेजी नयाँ वर्षको शुभकामना मात्रै आदान–प्रदान भएन, मोदीले प्रधानमन्त्री पदको अग्रिम शुभकामनासमेत दिन भ्याएको धरहराले नियाल्ने मौका पायो।

साथै ओलीले प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेपछि आफू भारतमा स्वागत गर्न प्रतीक्षारत रहेको बताएका छन्। ओली पनि के कम? दिए मोदीलाई नेपाल भ्रमणसहित यहाँका धार्मिक स्थल भ्रमणको निम्तो। त्यति मात्र होइन, नेपालमाथि लागेको नाकाबन्दीको घाउ चटक्कै टेलिफोन संवादले ओझेल पारेको छ। आफ्ना पूर्वसहकर्मी चीनतर्फ ढल्किन्छन् कि भन्ने ठूलो शंकामा रहेका मोदीले विगत कोट्याउने कुरा पनि भएन होला।

प्रधानमन्त्री बन्न रोक्ने वाम गठबन्धनमा कुनै माइकेलाल नदेखिएपछि ओली स्वतः त्यो पदको दाबेदार देखिएका छन्। प्रधानमन्त्रीको कुर्ची सिंहदरबारमा भए पनि त्यसका नट बल्टु ‘उतैतिर’ भए पनि काम्रेडले पनि विगतका घटनाक्रम सम्झेर भयो र भन्या। हेरौं, अहिले सुध्रिएको सम्बन्धले आगामी दिनमा कस्तो बाटो समात्ने हो।

प्रतिक्रिया दिनुहोस्