आजदेखि १६औं आहा रारा कप



धन बस्नेत, पोखरा

आजदेखि आहा रारा गोल्डकपको १६औं सस्करण पोखरा रंगशालामा हुँदै छ। आज हुने उद्घाटन खेलमा सहारा क्लबले सुदूरपश्चिम स्पोर्टिङ क्लब–११ सँग खेल्नेछ। खप्तड गोल्डकपमा सशस्त्र प्रहरी बलसित टाइब्रेकरमा पराजित हँुदै फर्किएको सहाराले घरेलु मैदानमा सुदूरपश्चिमलाई न्यानो आतिथ्यता गर्नेछ। मोफसलका टोली, धरान फुटबल क्लब, झापा–११ र ए डिभिजनको संकटा क्लब गरी १२ टोलीले पोखराको मैदानमा ७ लाख नगद पुरस्कारका लागि भिड्नेछन्।

सिजनको चौथो उपाधि उचालेको नेपाल आर्मी अर्को उपाधिका लागि पोखरा आउनेछ। आर्मीसँगै पोखरामा उच्च छवि बनाएको टोलीद्वय मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबको उपस्थितिले गोल्डकपको रौनक बढाउनेछ। अर्को विभागीय टोली सशस्त्र प्रहरीसँगै रुस्लान थ्रीस्टार पनि मोसफलको प्रतियोगितामा फेरि छाउने सम्भावना छ। दुई विदेशी टोली बरिन्धरा बंगलादेश र भारतको सिक्किम युनाइटेड पनि उपाधि जित्ने रणनीतिसँगै पोखरा आउँदै छन्।

अस्थायी प्यारापिट
यो वर्ष दर्शक भने खाली चौरमा बस्नुपर्ने भएको छ। दुई पूर्वाधारका रुपमा रहेका ३५ वर्षअघिका दर्शक र भीआईपी प्यारापिट भत्काइएको छ। प्यारापिट भत्काइएकाले दर्शकलाई चौरमा बसेर गोल्डकपको मनोरञ्जन लिनुपर्ने बाध्यता थपिएको हो। यद्यपि अस्थायी प्यारापिट निर्माणले भने केही सहज हुनेछ। सहारा क्लबले ५ सय क्षमताका प्यारापिट निर्माण गरेर दर्शकलाई राहत दिने योजना बनाएको छ।

दर्शकलाई स्कुटर र टिभी
आहा राराको यो संस्करणमा खाली चौरमा मात्रै बसेर फुटबल हेर्ने दर्शकको भाग्य भने जाँचिनेछ। भाग्यमानी दर्शकले विगतमा टिभी उपहार पाएका थिए। यो वर्ष टिभी मात्रै नभई स्कुटरसमेत पाउनेछन्। टिकट काटेर उपस्थित हुने दर्शकले हिरो ड्यास स्कुटर पाउनेछन्। जसलाई सहारा हङकङले प्रायोजन गरेको छ। अर्को भाग्यमानी दर्शकलाई एलजीको टिभी प्रदान गरिनेछ। टिभीको प्रायोजन भने चौधरी ग्रुपले गरेको हो।

खेलाडीलाई सम्मान
विगतमा जस्तै यो वर्ष पनि खेलाडीलाई सम्मान गरिनेछ। गत संस्करणमा पुराना खेलाडीलाई सम्मान गरिँदै आएको थियो। तर यो वर्ष भने सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७४ बाट सम्मान गरिनेछ। त्यसका लागि आवश्यक छनोट प्रक्रिया र छनोट समितिले गरेको सिफारिस आधारमा हुनेछ। २०७३ सालमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई दिइने पुरस्कारको राशी नगद ३५ हजार, दोसल्ला र प्रमाणपत्र रहेको छ। पुरस्कारको प्रायोजन भने क्लबका मानार्थ सदस्य एवम् पश्चिमाञ्चल क्षेत्रीय फुटबल संघका अध्यक्ष खेमबहादुर गुरुङले गर्ने भएका हुन्।

प्रायोजन र नगद पुरस्कार

आहा रारा गोल्डकपलाई हिमश्री फुड्सले निरन्तर प्रायोजन गर्दै आएको छ। यस प्रायोजनले आगामी चार वर्ष निरन्तरता पाउनेछ। हिमश्री फुड्ससँगै अन्य थुप्रै संस्थाले पनि यस प्रतियोगितालाई उप–प्रायोजन गरेको छ। विजेता क्लबले ७ लाख १ हजार नगद पुरस्कार पाउनेछ। उपविजेताले ३ लाख ५१ हजार पाउने छ। त्यसैगरी बेस्ट अफ फाइभलाई नगद १५ हजारसहित ट्रफी प्रदान गरिनेछ। त्यसैगरी प्रत्येक खेल वापत प्रिक्र्वाटर फाइनल विजेतालाई नगद २० हजार, पराजित टिमलाई १० हजार, क्र्वाटरफाइनल ३० हजार, हार्नेले २० हजार अतिरिक्त रकम पाउनेछ। त्यस्तै दुई सेमिफाइनल टोलीलाई नगद ५० हजार दिइनेछ।
प्रतिटिकट १ रुपियाँ खेलकुदलाई
सहारा क्लबले यो वर्षदेखि प्रतिटिकट १ रुपियाँ जिल्ला खेलकुद विकास समितिलाई दिनेछ। खेलकुदको विकासमा सहकार्य गर्ने लक्ष्य र उद्देश्यसहित १ रुपियाँ प्रदान गर्ने निर्णय गरिएको सहारा क्लबका अध्यक्ष केशव थापाले बताए।

प्रतिक्रिया दिनुहोस्