‘बिन लादेन अफ इन्डिया’ पक्राउ



नयाँदिल्ली, (एजेन्सी)
भारतको राजधानी नयाँ दिल्लीको प्रहरीले सोमबार विगत एक दशकभित्र भारतभरि शृंखलाबद्ध बम आक्रमणको तानावाना बुनेको अभियोग लगाइएका तथा भारतको बिन लादेनको उपनामले कुख्यात एक व्यक्तिलाई गिरफ्तार गरेको दाबी गरेको छ।

भारत सरकारले अब्दुल सुभान कुरेसी नामक ती व्यक्तिले सन् २००८ मा पश्चिमी राज्य गुजरातमा ५६ जना मानिसको ज्यान जाने गरी शृंखलाबद्ध बम विस्फोट गराएको जनाएको छ।

उनले इन्डियन मुजाहिद्धिन नामक लडाकू समूह पनि स्थापना गरेको आशंका गरिएको छ। उनको सन् २०१४ मा बैंग्लोरमा, सन् २०१० मा दिल्लीमा र सन् २००६ मा मुम्बईमा भएका बम विस्फोटनमा पनि हात रहेको हुनुपर्ने बताइएको छ।

अब्दुल सुभान कुरेसी नक्कली कागजात बनाएर नेपालमा बस्दै आएका थिए। दिल्ली प्रहरी प्रमुख कुशुवाहले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा इन्डियन मुजाहिद्धिनलाई पुनः संगठित गर्ने उद्देश्यले उनी भारत फर्केको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्