जोकोभिचलाई हराउँदै चुङ क्वार्टरमा



जोकोभिचलाई स्तब्ध पारेका दक्षिण कोरियाका ह्योन चुङ उत्साहित हुँदै।

लन्डन, (एजेन्सी)
अस्ट्रेलियन ओपन टेनिसमा ६ पटकका उपाधि विजेता नोभाक जोकोभिचलाई स्तब्ध पार्दै दक्षिण कोरियाका ह्योन चुङ क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

चुङले ७–६, ७–५, ७–६ को सोझो सेटमा कुहिनाको चोटबाट गुज्रिरहेको जोकोभिचलाई पाखा लगाएका हुन्। योसँगै उनी कुनै पनि ग्रान्डस्लामको अन्तिम आठमा पुग्ने पहिलो कोरियन खेलाडीसमेत बनेका छन्। अस्ट्रेलियन ओपन टेनिसमा आ–आफ्नो खेल जितेर स्विजरल्यान्डका रोजर फेडेरर र चेक रिपब्लिकका टोमस बर्डिच पनि क्वार्टरफाइनलमा आमनेसामने हुने भएका छन्। प्रतियोगिताअन्तर्गत आइतबार भएको पुरुष एकल स्पर्धाको चौथो चरणको खेलमा डिफेन्डिङ च्याम्पियन फेडेररले हंगेरीका मार्टोन फुस्काभिक्सलाई सोझो सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेका हुन्।

१९ ग्रान्डस्लाम विजेता फेडेररले मार्टोनलाई ६–४, ७–६, ६–२ को सेटमा हराएका हुन्। यस्तै बर्डिचले पनि इटालीका फोग्निनीलाई ६–१, ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै ३६ वर्षीय फेडेररसँग भेट पक्का गरेका हुन्। यस्तै ९७औं वरीयताका अमेरिकाको सान्गड्रेनले पाँचौं वरीयताका अस्ट्रियाली डोमिनिक थिमलाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका छन्। ३ घण्टा ५५ मिनेट चलेको उक्त खेलमा थिमलाई ६–२, ४–६, ७–६, ६–७, ६–३ को सेटमा हराउँदै सान्गड्रेनले क्वार्टरफाइनलको यात्रा तय गरेका हुन्। सान्गड्रनले क्वाटरफाइनलमा ह्योन चुङको चुनौती पाउने छन्।

यस्तै महिला एकलतर्फ भने अमेरिकाकी म्याडिसन किज, जर्मनीकी एन्जेलिक केर्बर र रोमनियाकी सिमोना हालेप क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। आइतबार भएको खेलमा किजले फ्रान्सकी क्यारोलिन गार्सियालाई ६–३, ६–२ ले हराउँदा केर्बरले ताइवानकी सि सुवेईलाई ४–६, ७–५, ६–२ तथा हालेपले जापानकी नाओमी ओसाकालाई ६–३, ६–२ को सेटमा पराजित गर्दै अन्तिम आठमा स्थानमा बनाइन्।

जोकोभिचलाई स्तब्ध पारेका दक्षिण कोरियाका ह्योन चुङ उत्साहित हुँदै।

प्रतिक्रिया दिनुहोस्